नियात्राकार राजेन्द्रमान डङ्गोलको दोस्रो नियात्राकृति ‘पैतालामा हिउँ,आँखामा हिमाल’ भोलि शनिबार ,मध्याह्न १२:०० बजे, नेपाल टुरिजम् बोर्ड,भृकुटीमण्डपमा विमोचन हुने भएको छ ।
हेलम्बुमा हेलिँदा, बादलमाथिको मन्दिर, इन्द्रदहमा पाँगा कल्पिँदा, पोखरा पल्तिर, सिराइचुलीमा चुलिँदा, नारपाभूमिको आतिथ्य, यात्राबीचको यात्रा, काठमाडौँको काँठतिर, पिके पिकको झलक, रूबी भ्याली: स्मृतिका कोसेली र टुरिजम फ्याम ट्रिप-२०२१ मूल शीर्षकमा एकतीस वटा नियात्रा समेटिएको नियात्राकार राजेन्द्रमान डङ्गोलले जनाएका छन् ।
नियात्राले पाठकलाई पृथक् स्वादमात्र नपस्की आन्तरिक पर्यटन प्रवर्द्धनलाई समेत उल्लेख्य टेवा पुर्याउने उनको दाबी छ । नियात्रामा डङ्गोलले तत् तत् स्थान विशेषको नालीबेलीका साथै भाषा, कला-संस्कृति, जनजीवन समेट्नुका साथै इतिहास उत्खनन गर्ने सार्थक प्रयत्न गरेको जिकिर गरेका छन्।
उनको पहिलो कृति ‘यात्राका पाइला’ले पनि पाठकमाझ निकै वाहवाही कमाएको त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोले बताएका छन् ।