बुधबार, कार्तिक ३, २०७८
बाढीपहिरो निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने

बाढीपहिरो निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेश सुदूरपश्चिम जाने भएका छन्। लगातारको वर्षापछि आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि उनी सुदूरपश्चिम जाने भएका हुन्।

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने जानकारी दिए। उ​नले सुदूरपश्चिममा पुगेको क्षतिका बारेमा जानकारी लिन आफूलाई प्रधानमन्त्रीले बोलाएको र कुराकानीका क्रममा सुदूरपश्चिम निरीक्षणका लागि जाने इच्छा व्यक्त गरेको बताए।

‘क्याबिनेट अगाडि मलाई बोलाउनुभएको थियो। मैले सुदूरपश्चिमको बाढीपहिरोपछिको वस्तुस्थिति, क्षतिबारेमा ब्रिफ गरेँ,’ नेता लेखकले भने, ‘प्रधानमन्त्री साह्रै गम्भीर देखिनुहुन्छ। सुदूरपश्चिम निरीक्षणमा जाने सोची रहनुभएको छ।’

उनले प्रधानमन्त्री देउवा गृहप्रदेश जाने मिति भने तय भइनसकेको पनि बताए। नेता लेखकले भेटका क्रममा आफूले प्रधानमन्त्री देउवालाई बाढीपहिरो पीडितलाई उद्धार, राहतको व्यवस्था गर्न, मृतकका परिवारलाई तत्कालका लागि क्षतिपूर्ति दिन, घाइतेको उपचार गर्न र किसानका लागि दीर्घकालीन राहतका प्याकेज ल्याउन आग्रह गरेको पनि बताए।

‘बाढीपहिरोमा परेकाहरुलाई सबैभन्दा पहिले त उद्धार गर्नुपर्‍याे। राहत दिनुपर्‍याे। मृतकका परिवारलाई तत्कालका लागि राहत, घाइतेको उपचार गर्नुपर्‍याे भनेको छु,’ लेखकले भने, ‘बाढीले किसानको धानबाली बगाएको छ। किसानका लागि दीर्घकालीन राहतका प्याकेज ल्याउनुपर्‍याे भनेको छु। यसबारे आज क्याविनेटले निर्णय गर्ला।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट