मङ्लबार, कार्तिक २, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशन : नेतृत्व रुपान्तरणको सकस र बीपीले देखाएको बाटो

नेपाली कांग्रेसको १४औं महाधिवेशन : नेतृत्व रुपान्तरणको सकस र बीपीले देखाएको बाटो


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक २, २०७८

लोकेन्द्र कार्की – राज्यको मूल नीति नै ‘राजनीति’ हो र यहि नीतिका आधारमा अन्य सम्पूर्ण नीतिहरु बन्ने गर्दछन्र राजनीति लगायत विकास–सम्वृद्धि, राजनीतिक दलका नीति–सिद्धान्त र त्यस अनुशारको कार्यशैलीमा निर्भर रहने गर्दछ्र नेपालका राजनैतिक दलहरुको जुन कार्यकौशलता देखिन्छ, यसै बाट ‘आर्थिक सम्वृद्धि हँसिल’ गर्न सकिएला त? यो प्रश्न मुखरित भइरहेको छ । दलीय शासन ब्यबस्थामा राजनीतिक दलहरुका बैचारिक र शैद्धान्तिक बहस गर्ने थलो महाधिबेशन हो । यसले तय गर्ने कार्यदिशा कै आधारमा पार्टीका सरकार चल्ने र देश–जनतामा त्यसको प्रत्यक्ष प्रभाव रहने गर्दछ । अहिले कोभिड–१९ को विश्व–महाब्याधि र यसले उत्पन्न गर्ने भोक र शोकको त्रासदीपूर्ण पृष्ठभूमिमा नेपाली कांग्रेसको १४औ महाधिबेशन पटक–पटकको कार्यतालिका संशोधन हुदै वि.सं.२०७८ मंगसिर महिनाको ९ गते देखि १३ गतेका सम्मका लागि तय भएको छ । पटक–पटक शासन सत्ता सम्हालेको दलको महाधिवेशन नीति, विधि, पद्दति सुधारको अवसर भन्दा संबैधानिक बाध्यताको रुममा महाधिवेशनको चटारो कांग्रेस भित्र चलिरहेको आभास हुन्छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजबादको सैदान्तिक धरातलबाट नागरिकहरुको मौलिक हक तथा अधिकारलाई स्थापित गर्ने पद्दतिको परिकल्पना समेत वीपीले गरे । गरिबको छाप्रो हाँसेपछि मात्र सिंहदरबार उज्यालो हुन्छ भन्ने उनको बुझाई आर्थिक क्षेत्र संग सम्बन्धित देखिन्छ भने वाकस्वतन्त्रतामाथि अंकुश लगाउने अधिकार दैवीशक्ति बाहेक अन्य शक्तिलाई नहुने उनको तर्कमा राजनीतिक दार्शनिक आधार भेटिन्छ । नेपाली कांग्रेसको सैद्धान्तिक आधारको मुख्य लक्ष्य समाजबादले प्रतिक्रियाबादी, फासिस्ट तानाशाही र सबै प्रकारका अतिबाद बिरुद्धको आवाजलाई बुलन्द गर्दछ । यो आदर्शको मात्र नभएर, जीवन–मरणको सवाल पनि हो । नेपालको वर्तमान संबिधानले समेत यिनै विषयलाई समेट्दै समाजबाद उन्मूख समतामूलक स्वतन्त्र समाजको परिकल्पना गरेको छ।

नेपालजस्तो मुलुकले राष्ट्रियता जोगाएर जनताको अधिकार सुरक्षित गर्दै विकासका लागि समाजवादको बाटो अवलम्बन गर्नुपर्छ भन्दै बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गरेका हुन् । देश विकासका योजना निर्माण गर्दा हलो जोत्ने किसानको तस्बिर हेरेर बनाउनुपर्छ भन्ने वीपीको धारणा थियो। हरेक नेपालीसँग एउटा घर, एउटा दुहुनो गाई, एक हल गोरु भएको सपना देखे । एक गाँस खानै नपाएर, औषधि उपचार नपाएर कोही मर्न नपरोस् भन्ने समाजवादी चिन्तनबाट नेपाली समाजलाई रूपान्तरण गर्न प्रजातान्त्रिक समाजवादको माटो सुहाउँदो व्याख्या गरे । बीपीको प्रजातान्त्रिक समाजवाद गान्धीवाद, मार्क्सवाद र यथार्थवादको समिश्रण हो। यही प्रजातान्त्रिक समाजवादलाई २०१२ सालमा नेपाली कांग्रेसको महाधिवेशनले मूल आदर्शका रूपमा पारित गर्यो  ।

लोकतन्त्रका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट समाजवादी समाजको निर्माण; सामाजिक न्यायका आधारमा आर्थिक समृद्धिका लागि भूमिसुधार र औद्योगिकीकरण; धार्मिक, जातीय, वर्गीय र लैंगिक निरपेक्षताका आधारमा प्रजातान्त्रिक समाजवादको स्थापना; सामाजिक रूपान्तरणका लागि विकेन्द्रीकरण कार्यक्रम; यथाशीघ्र संविधानसभाको निर्वाचन; र समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समितिको निर्माण जस्ता नीति तथा कार्यक्रमहरु नेपाली कांग्रेसको छैटौं महाधिवेशनले अबलम्बन गरेका समाजवादका कार्यदिशा थिए ।

राजनीतिक दलको जीवनमा महाधिवेशन नीति, सिद्धान्त, विचार, कार्यक्रम र त्यसको आधारमा नेतृत्व क्षमताको विकास एवं स्वच्छ प्रतिष्पर्धाको माध्यमबाट नेतृत्व छनौटको आवसरको रुपमा प्रयोग हुनु पर्नेमा स्थानीय अधिबेशनलाई नियाल्दै गर्दा गुटको आधारमा पद हडप्ने मौकाको रुपमा उपयोग भएको स्पस्ट देखिन्थ्यो भने केन्द्रिय तहमा पनि विगतलाई नियाल्दा यो भन्दा फरक हुने अपेक्षा गर्न गार्हो छ । स्थानीय स्तरका कार्यसमितिहरु तोकिएको पूर्णसंख्यामा गठन हुन नसक्नुले स्थानीय स्तरमा बसेर संगठन निर्माण गर्ने चाहाना न यूवा, न प्रौढ कसैमा पनि देखिदैन तर प्रतिनिधि भएर नेताका वरिपरी घुम्ने रहर पूरा गर्ने चाहनाले तँछाड–मछाडको अवस्था भने राम्रै संग देखिन्छ । विगतको तुलनामा युवा नेतृत्व अगाडी बढेको देखिएको छ यद्यपी ती यूवाहरु पनि ‘दाई’ कांग्रेसको आशीर्वादबाटै हुर्किनु पर्ने बाध्यताले केन्द्रीय नेतृत्व परिवर्तनमा कति अहम भूमिका खेल्न सक्छन, त्यो भने हेर्न बाँकि नै छ ।

नेपाली कांग्रेसमा देखिएको अनुशासन हिनता, बिधि–पद्दति बिहीनता र हुकुम प्रमांगीको अभ्यासले इमान्दार र निष्ठावान कार्यकर्ताहरु निष्क्रिय हुनु र बाहिरिनु स्वभाविक बनेको छ । आवधिक निर्वाचनको टिकट वितरण देखि शासन संचालन सम्म गैरराजनीतिक चरित्र र कुशासन ब्याप्त छ । नेता कार्यकर्ताहरुले पार्टी संगठनलाई व्यक्तिगत स्वार्थका लागि प्रोयोग गर्दा आमजनता संगको सम्बन्ध टुट्दै गएको छ । राजनीतिमा अवसरबादीहरुको प्रभूत्व बढ्दै गएको स्पष्ट देख्न सकिन्छ । नेताहरुले राजनीतिक शक्तिको स्रोत सार्बभौम जनता भन्दा विदेशी शक्तिकेन्द्रलाइ बनाउने गरेका छन । विपी कोइरालाको मान्यता थियो कि मानिस ‘ब्रेडले होइन, ब्रेनले चल्दछ’, यसरी हेर्दा बर्तमानको ब्रेडमुखी राजनीति, राजनीतिक विचलनको प्रमाण हो । किशुनजीको भनाइमा नेपालका अहिलेका शासकमा न बुद्धि छ, न शक्ति । यिनीहरू कल्पनाशील पनि छैनन् र यिनीहरूको चरित्र पनि छैन । यिनीहरू लोभ र अहंकारको पकडमा जकडिएका छन् । यस्ता मानिसको समूह अरू जे भए पनि देशभक्त हुन सक्दैन । नेतृत्व कै कारण अन्तराष्ट्रिय स्तरमा नेपालको छवी दिनप्रतिदिन धुमिल हुदै जानुबाट यो भनाइको सार्थकता झन् बढ्दो छ ।

कुनै समयमा नेपालको प्रजातान्त्रिक आन्दोलनको सिंगो पर्यायको रुपमा रहेको नेपाली कांग्रेस पछिल्लो दशकमा आफू राम्रो भएका कारण होइन, खासगरी सत्तामा लामो समय बस्ने मौका पाएका कम्युनिष्टहरुले राम्रो नगरेका कारण ठूलो दल हुने अवसर जुरिरहेको छ। यद्यपि केन्द्रीय नेतृत्वमा दर्जनौ नेताहरुले दावी गर्दै गर्दा युवा पुस्ताका नेताको पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा यस पटक सार्थक हस्तक्षेप हुने दाबी कांग्रेसवृत्तमा भइरहेको छ।

यसपटक नेतृत्व परिवर्तनको औपचारिकता मात्रै पूरा गर्ने छैन, बाटो बिराउँदै गएको आरोप खेपिरहेको कांग्रेसमाथि संकटग्रस्त बन्दै गइरहेको पछिल्लो राजनीतिलाई समेत सम्हाल्नुपर्ने अभिभारा आइलागेको छ। आधुनिक राजनीतिको बाटो नै ‘समाजवाद’ तिर मोडिएको यो क्षण नेपाली कांग्रेस ‘समाजवाद’ को नेतृत्वकर्ता पनि हुनुपर्नेछ । त्यसैले यो महाधिवेशन विगतको भन्दा महत्वपूर्ण मात्रै होइन, अर्थपूर्ण पनि छ। महाधिवेशनबाट नीतिगत परिवर्तन र त्यसको व्यावहारिक कार्यान्वयन गर्ने नेतृत्व आउँछ कि आउँदैन? कांग्रेस वर्तमानमा के कारणले बैचारिक, साँगठनिक र संख्यात्मक रुममा कमजोर भएको छ? अबको कांग्रेस कस्तो बन्ला? यस्तै प्रश्नहरुकोे गहन विश्लेषण आजको ज्वलन्त आवस्यकता हो ।

पार्टीहरु प्रजातन्त्रका अपरिहार्य संस्था हुन् । पार्टीहरुको संस्थागत विकास भएमा मात्र लोकतन्त्रले प्रतिफल दिन्छ । उनीहरुको क्षयीकरण भएमा प्रजातन्त्र नै कमजोर हुन्छ । विश्वप्रसिद्ध राजनीतिक चिन्तक फ्रान्सिस फुकियामाले आफ्नो ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके’ नामक पुस्तकमा राजनीतिक संस्थाहरुको उत्पत्ति, विकास र क्षयीकरणबारे विस्तृतमा उल्लेख गरेका छन् । संक्षेपमा भन्दा कानूनी शासनको प्रत्याभूति गराउने स्वतन्त्र र अन्य प्रजातान्त्रिक संस्थाहरुको विकास हुन सकेन भने उदार प्रजातान्त्रिक प्रणालीले राम्रोसँग काम गर्न सक्दैन भन्ने तर्क उनले गरेका छन् ।
यसै गरि नेतृत्वकै सन्दर्भमा Eric Hoffer को भनाइ छ, ‘The leader has to be practical and a realist, yet must talk the language of the visionary and the idealist.’

राज्यका संस्थाहरु स्वायत्त र बलियो भएमा मात्र प्रजातन्त्रको आधार बलियो हुन्छ । त्यसैले नेपाली कांग्रेसले राज्यका मुख्य संस्थाहरुलाई स्थानीय स्तर देखि केन्द्र सम्म स्वायत्त र पारदर्शी बनाउने विषयमा समेत भिजन अगाडि सार्नुपर्छ । विश्व राजनीतिक परिदृश्यलाइ आंकलन गर्न सक्ने दुरदर्शी, नैतिकवान, निष्ठावान र इमान्दार नेतृत्व आजको आवस्यकता हो तर यतिबेला कांग्रेस आफैं दिशाहीन र अस्पष्ट छ । राजनीतिक दलहरुप्रति नै जनताको तीव्र वितृष्णा बढिरहेको समयमा यी सबै विषयलाई सही दिशामा ल्याउनुपर्ने खाँचो छ, त्यसका लागि नेपाली कांग्रेस आफैं स्पष्ट भिजन, मिसन सहितकोे एक सशक्त संस्थाको रुपमा विकसित हुन आवश्यक छ ।

पार्टीमा स्पष्ट भिजनको अभाव हुँदा शक्ति राष्ट्रहरुको कुनै पनि नीति कति विवादित बन्छ भन्ने उदाहरण अमेरिकाले प्रदान गर्न लागेको एमसीसी र चीनको बीआरआई हो । तदर्थबादी नेतृत्वले आधुनिक समाज र देशको नेतृत्व गरी पार्टी प्रति यूवाहरुको आकर्षण बढाउन कदापी सक्दैन । इतिहासको कमाइको ब्याजको आधारमा मात्र अब पार्टी धेरै अगाडि जान सक्दैन ।

अतः प्राप्त गणतन्त्रलाई जोगाएर संविधानले परिकल्पना गरेको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणका लागि स्पष्ट खाकाका साथै सन्तुलित अन्तराष्ट्रिय सम्बन्ध, स्वतन्त्रता, स्वाभिमान, रास्ट्रियता जस्ता विषयमा अबको नेतृत्व संग स्पष्ट दृष्टिकोण हुन आवस्यक छ र सत्तामा पुगेपछि त्यसलाई आफ्नो व्यक्तिगत दायरा भन्दा बाहिर आएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको माग देश र जनताले गरिरहेकोछ । यसका लागि यूवा नेतृत्व राजनैतिक रुपमा तयार भए पनि ब्यबहारिक रुमपा तयार हुन कठिन देखिन्छ तथापी यसको जबर्जस्त प्रयोगको विकल्प पनि देखिदैन, सोही बमोजिम नेतृत्व छनौट गर्न सक्ने चेत कार्यर्कर्तामा खुलोस्, महाधिवेशनको सफलताको हार्दिक शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट