सोमवार, कार्तिक १, २०७८
केपी ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै रामकुमारी झाँक्रीले गरिन् यस्तो उद्घोष

केपी ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै रामकुमारी झाँक्रीले गरिन् यस्तो उद्घोष


  • स्वदेश नेपाल
  • सोमवार, कार्तिक १, २०७८

पाल्पा – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएकी छिन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने उद्घोष गरेकी छिन् ।

वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको भनाइ थियो । अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाएकी छिन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी मन्त्री झाँक्रीले युवाहरूको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिएकी छिन् । उनले अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने बताएकी छिन् ।

आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदासमेत ओलीले सुशासनभन्दा कुशासन दिने काम गरेको मन्त्री झाँक्रीले आरोप लगाएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट