सोमवार, कार्तिक १, २०७८
ब्राह्मणको जन्मजात टिको लगाउने हामी कोही पनि आज ब्राह्मण होइनौं, प्रकारान्तरले सुद्र नै हौँ !

ब्राह्मणको जन्मजात टिको लगाउने हामी कोही पनि आज ब्राह्मण होइनौं, प्रकारान्तरले सुद्र नै हौँ !

को ब्राह्मण, को सुद्र ? स्कन्द पुराणले अझ कलियुयमा ब्राह्मण जन्मिदैनन् , सुद्र मात्र जन्मिन्छन् भनेर ठोकुवा नै गर्दछ ।


  • स्वदेश नेपाल
  • सोमवार, कार्तिक १, २०७८

-बाबुलाल भण्डारी

छान्दोग्य उपनिषदमा एउटा रोचक प्रसङ्ग आउँछ—सत्यकाम जवालाको । उनी १२ वर्षको पुगेपछि एकदिन आफ्नी आमालाई सोधे— माते, मलाई पनि गौतम ऋषिको आश्रममा ब्रह्मचर्यमा रहेर अरू ब्राह्मण र क्षत्रिय कुमारहरु सरह आत्म अनुसन्धान र परमज्ञान हासिल गर्ने धोको छ । मलाई भन्नुहोस्, मेरो बुबा को हुन् ? उनको जात, गोत्र के हो र हामी कुन वंशका हौं ? ऋषिले मलाई आफ्नो शिष्य रुपमा अपनाउनु अघि यी प्रश्नको उत्तर चाहेका छन् ।

नावालक छोरोमा ब्रह्मविद्या र तत्ववोधको यस्तो तीव्र लालसाले मातृ हृदय पुलकित भयो तर सङ्गसङ्गै यस्को जवाफ दिन उनलाई औधी मुस्किल पनि भयो ।

तैपनि साहस बटुलेर उनले भनिन् – बाबु ! चरम गरिबीको कारण युवावस्थामा म धेरै मानिसहरुको सेवामा रहेँ । विधिवत् विवाह पनि हुन पाएन । तिमी गर्भमा हुँदाका बखत पनि म धेरै मानिसहरुको संसर्गमा थिएँ । म आफैलाई पनि थाह छैन, तिम्रो बुबा को हुन् । यत्ति सम्झनु कि तिम्रो नाम सत्यकाम ; मेरो नाम जवाला, त्यसैले तिम्रो नाम सत्यकाम जवाला भयो । यही भन्नु ऋषिवरलाई ।

ऋषि गौतम वैदिक युगका अत्यन्त ठूला तपश्वी, तत्वदर्शी एउटा ऋषि थिए । वटुकहरुको भावी व्यावसायिक जीवनको तयारी अनुरूपको शिक्षा छनौटको लागि पनि उनीहरुको जाति, रुचि र प्रवृत्तिहरुको पूर्व जानकारी आवश्यक हुन्थ्यो ।

ऋषिले सोधे – अव बताऊ पुत्र, तिम्रो नाम के हो ? तिम्रो पिताको नाम र जाति के हो ? बच्चाले निर्भिक हुँदै आफ्नो आमाले बताएको सत्य-तथ्य फरक नपारी ऋषि समक्ष बेलीबिस्तार गर्यो र भन्यो – त्यसैले मेरो नाम सत्यकाम जवाला हो । गुरूवर, कृपया मलाई आफ्नो शिष्यको रुपमा स्विकार गर्नुहोस् । यो सुनेर आश्रमका सबै बालकहरु हाँस्न थाले ।

आफ्नो मानापमानको वास्ता नगरी सत्य बोल्ने र यथेष्ट रुपबाट बोल्ने उक्त बालकको सच्चाइ, साहस, उत्कण्ठा र इमानदारीताको ऋषि गौतममा अत्यन्त अनुकूल प्रभाव पर्‍यो र उनले आफ्नो आसनबाट उठेर बालकलाई अङ्कमाल गर्दै भने – बाबु, तिम्रो बुबा को हुन् यस्ले ठूलो फरक पर्दैन । मुख्य कुरा सत्यको अनुशीलन हो र यही नै सर्वोत्तम मानवीय गुण र धर्म पनि हो । यत्ति नै पर्याप्त छ । जन्मले होइन सँस्कार, चरीत्र र कर्मले व्यक्तिलाई ब्राह्मण (द्विज) बनाउँछ । सच्चा ब्राह्मणको प्रवृत्ति र निवृत्ति नहुने कसैले तिमीले जस्तो सत्यबोल्ने आँट र हिम्मत जुटाउँदैन । यही नै तिमी ब्राह्मण हुनुको यथेष्ट प्रमाण हो । फेरि तिम्रो नाम पनि सत्यकाम अर्थात् सत्यको कामना गर्ने भन्ने जो रहेछ ।

अनि ऋषिले उत्निखेरै यज्ञोपवित र मन्त्रदीक्षाको विधान गरी सत्यकामलाई सहर्ष आफ्नो आश्रमको जीवनमा प्रवृत्त गराइहाले ।
वैदिक र पौराणिक युगका व्यास, वाल्मिकी, परासर, नारद, एत्तरेय, मातङ्ग र वशिष्ठ जस्ता धेरै पुज्य ऋषि-महर्षि कोही पनि जन्मले ब्राह्मण थिएनन् । तर सनातन वैदिक धर्ममा उनीहरु सधैं उच्च प्राधिकार र स्तम्भ बनिरहेका छन् । स्वयम् वशिष्ठ जस्ता महर्षिकी आमा एउटा नगरवधू थिइन् भने ऋषि परासर चाण्डाल कुलमा पैेदा भएका थिए । निर्विवाद तथ्य यही हो कि रहस्यदर्शीहरुको अन्तिम लक्ष्य ब्रह्मवोध र आत्म प्रकाशको निम्ति ज्ञान र प्रज्ञाको बाटोमा जात, वंश वा कुल कहिल्यै वाधक रहेन, भएन ।

तर “सर्वंखलु इदं ब्रह्म वा व्रह्मैवेदम् सर्वम्” भन्दै चराचर जगतका समस्त कीट-पतङ्ग समेतलाइ ब्रह्म स्वरुप ठान्ने सबैभन्दा समृद्ध र जेठो हिन्दू चिन्तन परम्परामा पौराणिक कालमा आएर जातीय पहिचानलाई केवल जन्म वा वंश परंपरामा सिमित गरियो । यो पौराणिक कालको निन्दनीय धार्मिक-साँस्कृतिक एउटा विचलन थियो । जातिगत उचनीच, अस्पृष्यता, वा त्यस नाममा हुने कुनै पनि स्वरूपका भेदभाव हिन्दू धर्मको मूल्य, मर्म, मर्यादा र आदर्श अनुरूप थिएन र कुनै पनि कोणबाट त्यस्को औचित्य पुष्टि हुँदैन पनि । वर्ण व्यवस्थामा जाति भेदको यो कलंक स्वयं हिन्दू धर्मको कारणले नभई मनु देखि लिएर आज पर्यन्तका यसका प्रवक्ता बनेका सन्त, महन्त, पण्डित, पुरोहित र कर्मकाण्डी विद्वानहरुको संयोजनबाट आएको हो । भगवान बुद्ध हुँदै पछिल्लो चरणमा दयानन्द सरस्वती सम्म धेरैले जाति प्रथा र धार्मिक पाखण्डको बिरोधमा सामाजिक- धार्मिक आन्दोलन सुरु गरे र पण्डितहरुको चर्को विरोध पनि खेपे ।

बरोबर पढ्न पाइन्छ, वैदिक वाङ्मयमा कहीँ कतै सुद्र वा स्त्रीलाई वेदाध्यायन र सत्यको उद्वोधनमा बन्देज थिएन । ऋग्वेदले त स्पष्ट बोलेकै छ —“जन्मना जायते सुद्र, कर्मणा द्विज उज्यते” जन्मदा हरकोही व्यक्ति सुद्र हो, सँस्कार र आचरणले मात्र पछि उसलाई ब्राह्मणको रुपमा स्थापित गर्छ । जन्मकै आधारमा कोही ब्राह्मण वा सुद्र हुँदैन । सारा हिन्दू दर्शनको निचोडको रुपमा आएको भगवद् गीतामा योगेश्वर कृष्णको “गुणकर्म विभागश:” भन्ने वचनले समेत वर्णव्यवस्थाको आधार जन्म र पैत्रिकता नभई व्यक्तिको गुण र कर्मलाई मानेको छ । महाभारत बन पर्वमा युधिष्ठिर-यक्ष संवादमा “न भि सूद्रो भवेच्छुद्रो, ब्राह्मणो न च ब्राह्मण:” भन्ने शब्द परेका छन् र आशय यहि हो कि जन्म मात्र जातीय पहिचानको आधार हुन सक्तैन । स्कन्द पुराणले अझ कलियुयमा ब्राह्मण जन्मिदैनन् , सुद्र मात्र जन्मिन्छन् “कलौ सुद्र सम्भव:” भनेर ठोकुवा नै गर्दछ ।

ब्राह्मण कहलाइन गीताले निर्दिष्ट गरेको शम(शान्ति), दम(संयम) तप, शौच(पवित्रता), क्षान्ति (सहनशिलता), आर्जव(ईमान), ज्ञान, विज्ञान र आस्तिक्य जस्ता सदगुण विकास र १६ सँस्कारका पूर्वशर्त परिपालना हुनुपर्दछ ।

यसलाई मान्ने हो भने ब्राह्मणको जन्मजात टिको लगाउने हामी कोही पनि आज ब्राह्मण होइनौं, प्रकारान्तरले सुद्र नै हौँ भन्नु पर्ने हुन्छ । यसरी सबै सुद्र हुन् भने एउटालाई सवर्ण र अर्कोलाई सुद्र कसरी भन्ने र एउटा सुद्रलाई अर्को सुद्रबाट उच-नीच कसरी मान्ने ?

भनाइमा उचनीच भए माफी पाऊँ ! एस धम्मो सनन्तनो !!

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट