आइतवार, अशोज ३१, २०७८
माधवकुमार नेपालको पार्टीको ‘हरेक वडामा १०० संगठित सदस्य अभियान’ कति सम्भव ?

माधवकुमार नेपालको पार्टीको ‘हरेक वडामा १०० संगठित सदस्य अभियान’ कति सम्भव ?


  • स्वदेश नेपाल
  • आइतवार, अशोज ३१, २०७८

काठमाडौं –

नेकपा एकीकृत समाजवादीले एक वडा एक सय संगठित सदस्य अभियान चलाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा एक वडा एक सय संगठित सदस्य बनाउने उल्लेख गरिएको छ ।

र, एक हजार वार्टी सदस्य निर्माण गर्न अभियान चलाउने निर्देशनमा उल्लेख छ । साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने उल्लेख छ ।

पालिका तहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउन भनिएको छ । हरेक प्रदेश र जिल्ला कमिटीलाई संगठन, प्रचार, पार्टी स्कुल र आर्थिक विभाग गठन गर्न समेत अन्तरपार्टी निर्देशनमा भनिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका पनि देशभरका सबै वडामा एक सय संगठित सदस्य छैन । यद्यपि, कांग्रेस, माओवादी र एमालेका अधिकांश वडामा एक सयभन्दा बढी संगठित सदस्य छन् ।

भर्खरै दर्ता भएको र एमालेको जनाधारबाटै संगठित सदस्य तान्नुपर्ने बाध्यतामा रहेको नेकपा एकीकृत समाजवादीले ‘हरेक वडामा १०० संगठित सदस्य’ बनाउने अभियान कति प्रभावकारी होला त ?

‘हामीले पार्टीमा छलफल गरेर नै यो निर्णय लिइएको हो, एमाले मात्रै होइन अन्य पार्टीमा राम्रो जिम्मेवारी नपाएका इमान्दार कार्यकर्ता र बुद्धिजीवीहरू पनि हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ, आउने भनिरहनु भएको छ, त्यसैले यो अभियान सफल हुन्छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य यदुवंश झाले भने ।

यद्यपि, केपी शर्मा ओली नेतृत्वको एमालेका कार्यकर्ता र पार्टी विभाजनताका साथ नदिएका एमाले उपाध्यक्ष भीम रावलसहित १० नेतालाई पनि एकीकृत समाजवादीमा तान्ने प्रयासमा अध्यक्ष नेपाल लागिरहेको स्रोतले बताएको छ ।

एमाले विभाजन लगत्तै अध्यक्ष नेपाललाई साथ दिने घोषणा गरेका एमाले नेता वामदेव गौतम पनि नेकपा एकीकृत समाजवादीमा आउने अपेक्षा गरिएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट