बुधबार, अशोज २७, २०७८
मोहनी नखःको आठौँ दिन ‘कूलछि भ्वय’ खाएर महाअष्टमी मनाउँदै नेवा: समुदाय, यसरी बनाईन्छ ‘कूलछि भ्वय’

मोहनी नखःको आठौँ दिन ‘कूलछि भ्वय’ खाएर महाअष्टमी मनाउँदै नेवा: समुदाय, यसरी बनाईन्छ ‘कूलछि भ्वय’

कुछिभ्वय खाने सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ ।


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २७, २०७८

आज नेवा: समुदायको मोहनी नख: (बडादशैं) को आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेपाल भाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवा: समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ ।

कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौला, भटमास लगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ । नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय भएको तर पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ ।

‘कूलछि भ्वय’बारे आफ्नो फेसबुकमा यसरी प्रष्ट पार्छन पुरानो फोटो संग्रहमा ख्याती कमाएका सुनिल उल्लक

कुछि भ्वय

नेवा: परम्परा अनुसार मोहनी नखःको अष्टमीको दिन कूलका सबै परिवार एकै ठाउँमा जम्मा भएर कूलछि भ्वय खाने गरिन्छ । कूलछि भ्वयलाई बोलिचालिमा कूछिभ्वय भन्ने गरिन्छ ।

बजि (च्यूरा)

खासगरी नेवा:हरुको मोहनी नखःको शुरुवात सप्तमीको बिहान राँगोको मासु भित्राए पछि शुरु हुन्छ । यस दिन गुठीमा काटिएको राँगोको भाग गुठीयारहरुमा बाडिन्छ । यो मासु घरमा भित्राउने बेलामा मूल ढोकामा पुगेपछि एकैछिन बिसाउनु पर्दछ । यहि मूलढोकामा बसेर मासुको सानो सानो तीन टुक्रामा एक टुक्रा दाँया तर्फ देवतालाई चढाउनु पर्दछ । बाँया तर्फ पितृलाई चढाउनु पर्दछ । अर्को एक टुक्रा शिर नघाएर पछाडी चढाइन्छ । यो टुक्रा पिखालखुको लागि चढाउने गरिन्छ । यसरी मासु भित्राए पछि बिहान समयवजी खाने गरिन्छ । यस दिन खासै भोज खाने चलन हुदैन ।

तखा ला (जमाएको मासु)

सप्तमीको दिन भित्राइएको मासुको परिकार बनाएर अष्टमीको दिन भोज खाने चलन छ । अष्टमीको बिहान समयवजी खाने गरिन्छ । समयवजीको भाग मूलढोका अगाडि रहेको पिखालखुमा पनि चढाउने गरिन्छ । अष्टमीको राती हरेक नेवा:हरुको घरमा “कुछिभ्वय” खाने गरिन्छ । कुलको सबै सदस्यहरु मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा “कूलछिभ्वय” भनिएको हो । तर पछि अप्रभंश भइ “कुछिभ्वय” भन्न थालियो । यो भोज नेवार परम्परामा बिशेष महत्व राख्ने गर्दछ । यस भोजमा कूलका कुनै सदस्य उपस्थित हुन सकेन भने पनि उसको स्थानमा ब्व (भाग) राख्नुपर्छ ।

लैँचा क्वा (मुलाको तरकारी)

साथै बिबाहित दिदीबहिनीहरुको ब्व राखेर भोलीपल्ट उनिहरुको घरमा छोड्न जानुपर्ने परम्परा छ । तर अचेल खासै त्यस्तो गरेको देखिदैन । साथै अर्को महत्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुदैन भन्दै परिवारको सदस्यको मृत्यु भइ मोहनी नख नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानपर्छ भन्ने परम्परा छ । यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्य भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रुपमा तथा मासको व:को ठाँउमा केराउको व: बनाएर भोज खाने गरिन्छ ।

भुट (भुटुन)

कुछिभ्वयको ब्व लगाउँदा सबैभन्दा पहिले द्यब्व (देवताको भाग) लगाउनु पर्छ । घौब्व तथा आगँब्व (आगनमा पिखालखको भाग) लगाइसकेपछि परिवारको संख्या बराबर ब्व लगाउनुपर्छ । कुछिभ्वको भाग लगाउँदा केराको पात(म्वाय् लप्ते)मा राखिन्छ । भागको बिचमा च्यूरा (कतै कतै दुइमाना भनिन्छ) राखिन्छ । त्यसपछि बिभिन्न खानेकुरा राखेर सजाइन्छ ।

परिवारका सबै सदस्यहरु जेष्ठता क्रमको आधारले लहरै बसेपछि प्रत्येकको अगाडि केराको पात(म्वाय् लप्ते)मा राखिन्छ । क्रमश सबै भागमा सबैभन्दा पहिले च्यूरा राखिन्छ । कतै कतै कुछि भ्वयलाई दुइमाना च्यूरा खानुपर्छ भन्दै कुरुवाले च्यूरा भरेर भाग लगाउने पनि गरिन्छ ।

मेँ ला (राँगोको मासु)

च्यूरा पछि एउटा कुनै अचार र दयके लाँ (झोल भएको पकाएको राँगोको मासु) राखिन्छ । यसको साथै मासको व: (माय् व:), तारेको हाँसको अण्डा, फलफुलको टुक्रा, सुकाएको माछा, पकाएको फर्सी, भुतेको बोडी, केराउ, हरियो साग, मासुको परिकार, थ्वं (जाँड) , आदी सबै खानेकुरा राखेपछि कुछिभ्वे तैयार हुन्छ । भनिन्छ खानेकुराहरु कम्तिमा १२ प्रकारको हुनुपर्छ । साथै भागमा राखिने छ्वयलाको संख्या पनि १२ नै हुनुपर्छ ।

ग्वलभ्यारा क्वा (गोलभेडाको तरकारी)

नेवा:हरुको वास्तविक कुछिभ्वयमा भने सबै खाने सामग्री एकसाथ राखिदैन । क्रमश राख्ने गरिन्छ । शुरुमा च्यूरा, झोल भएको मासु र अचार राखिन्छ । यो खाँदै गर्दा बिचमा च्यूरा थप्न आँउछ । च्यूरा थपिए पछि झोल भएको अन्य तरकारीहरु राखिन्छ । यसमा आलुको तरकारी, सिमी, बोडी, तथा फर्सीको तरकारीहरु हुने गर्दछ ।

वाउँ चा (हरियो साग)

यो मासु नखानेहरुको लागि बिशेष रुपले बनाएको पनि हुन्छ । यस पछि भने त:कू ला राखिन्छ । शुरुमा झोल भएको मासुको तरकारीमा मासुको सानो सानो टुक्रा बनाइएको हुन्छ । जसले गर्दा सो शुरुको मासुलाई चिकु ला भनिन्छ तर पछि राखिने मासुमा भने ठूलो ठूलो टुक्रा बनाइएको हुँदा यसलाई त:कू ला भनिन्छ । यो मासु बिशेष प्रकारले बनाइएको हुन्छ । झोल नहुने तथा दहि राखेर धेरै बेरसम्म पकाएर बनाइन्छ । त:कू ला भने परिवारको हैसियत अनुसार दुइ प्रकारको पनि बनाइन्छ । एउटा राँगोको अर्को बोकाको । यो संगै भुटुवा, छ्वयला, नलु, हिघासा, क्वेँ जस्ता मासुका अन्य परिकारहरु पनि आउने गर्दछ ।

क्यगुया सनां (केराउको अचार)

नेवा:हरुको हरेक भोजमा रक्सी तथा जाँड खाने प्रचलन परापूर्वकाल देखि नै रहेको छ । तसर्थ मासुको साथमा रक्सी पनि दिने गरिन्छ । पुरुष सदस्यलाई रक्सी (ऐला) र महिला सदस्यहरुको लागि जाँड(थोँ) दिने गरिन्छ । रक्सी र जाँड बिशेष प्रकारको सलीमा दिने गरिन्छ । रक्सी सानो सलीमा राखिन्छ भने जाँड केही ठूलो सलीमा राखिन्छ । सली माटो वा ढलोटको हुने गर्दछ । मुख फराकिलो हुने भाँडोलाई सली भनिन्छ ।

त:कू ला पछि राखिने परिकार भने वाउँ चा ल्याउने गरिन्छ । वाउँ चा भनेको हरियो सागसब्जी हो । वाउँ चा आउनु अगाडि कुनै पनि परिकार थप्दै खाने सकिन्छ । तर वाउँ चा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ । वाउँ चा पछि भने कुनै पनि परिकार थप्नको लागि अनुरोध गर्न पाइदैन । हरियो साग पछि पाउँ क्वा वा मी क्वा आउँछ । लब्सीबाट बनाइने पाउँ क्वा तातो तातो वा चिसो दुइ प्रकारको हुने गर्दछ । यहि लब्सीको झोलमा मेथी झानियो भने त्यसलाई मी क्वा भनिन्छ । खासमा यो अमिलो खानेकुरा पचाउनको लागि महत्वपूर्ण हुने हुँदा भोजको करिव करिव अन्तिममा दिने गरिन्छ । यो अमिलोले रक्सिको नशालाई पनि कम गराउन गर्दछ । अचेल भने सबै परिकार एकैसाथ राखिदिने तथा थाहा नपाइकन सबै मिसाएर एकसाथ खाने गरिएको पाउँछौ ।

सलिचा ले ऐला (सलीचामा रक्सी)

यसपछि दही दिने गरिन्छ । दही बाँड्न आँउदा भने इच्छा अनुसारको च्यूरा पनि राखिने गरिन्छ । तर दहीसंग इच्छा नलागेकोले दही मात्र पनि खान सकिन्छ । दही राख्ने बेलामा पनि जेष्ठता क्रममा नै राख्ने गरिन्छ । दही शुभमंगलको पनि प्रतिक भएको हुँदा शुरुमा खाने ब्यक्ति भाग्यमानी हुने हुँदा कहिले काँही परिवारको कुनै एक सदस्यलाई सबैभन्दा पहिले दही दिएर पनि उसले चाहेको पुरा होस भनेर शुरुमा दिने पनि चलन यदाकदा भेटिन्छ । दही पछि सिसाफुसा ल्याइनछ । सिसाफुसा भनेको फलफूल काटेर टुक्रा टुक्रा बनाइएको हो । तर फलफूलको साथमा भिजाइएको केराउ र काटेको मुला पनि हुने गर्दछ । सिसाफुसासंग अन्तिम पटक रक्सी तथा जाँड पनि राख्ने गरिन्छ । यसपछि बल्ल कुछिभ्वय समाप्त हुन्छ ।

कुछिभ्वय खाने सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । बिचमा उठ्नु पर्दा सबैभन्दा पहिले जेष्ठ सदस्यसंग अनुमति लिनु पर्छ । त्यसपछि आफ्नो दाँयाबाँया बसेकोसंग अनुमति लिए पछि मात्र उठ्न पाइन्छ । यसरी कुछिभ्वय समाप्त हुन्छ ।

कुछिभ्वयको भोलिपल्ट ‘स्याक्वत्याक्व’ भनिन्छ । यस दिन काटमारको काम हुन्छ । यस दिन सवारी साधनको पूजा तथा बलि दिने गरिन्छ । यस दिन पूजा गर्ने हुँदा विश्वकर्मा पूजाको दिन सवारी साधनको पूजा गर्ने गर्दैनन् । तर अचेल भारतीय देखासिखी गर्दै नेपालमा पनि विश्वकर्मा पूजाको दिन सवारी साधन तथा ज्यावलहरु पूजा गर्ने चलनको शुरुवात भएको पाउँछौ ।

धौ (दही)

“स्याक्वत्याक्व’ शव्द भने सयेकुक्व त्यात शव्दबाट अप्रभंश भइ भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शव्द अचेल काटमार गर्ने दिनको रुपमा बुझ्ने गरिन्छ । घरमा काटिएको जनावर (कुखुरा वा खसी)को टाउकोको भागलाई “सिका:भू” लिने गरिन्छ । परिवारको ठूला देखी साना सम्मको पुरुष सदस्यको भागमा नाक, कान, आँखा, बङ्गरा आदी बाँडिन्छ । नवमीको रात मोहनीको मूख्य टिका मोहनी सिन्ह बनाउने गरिन्छ । यहि मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो ।

ऐला (रक्सी)

बलिरहेको दियोमा माथीबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वासोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टिकालाई पहिले तान्त्रिक बिधीबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धी प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ ।

दशमीको दिनलाई नेवारहरु चालं भन्ने गर्दछन् र अन्य जातिले मनाउने दशैमा झै नेवारहरुमा पनि घटस्थापनाको दिन रोपिएको नल स्वा: निकालेर मोहनी सिन्ह लगाइदिने र नल स्वा: पनि दिने गरिन्छ । साथै नेवारहरुमा रातो वा सेतो रङको “क्वखा” अर्थात कपडाको धजा पनि लगाइदिने गरिन्छ ।

दशमीको भोलिपल्ट चालं क्वकायेगु भनिन्छ । यो दिन अष्टमीमा पूजा गरिएको औजारहरु तथा पुस्तकहरुलाई निकालिन्छ । यसरी निकालिँदा परिवारको सदस्यलाई ल:ल्हाये (दिने) गरिन्छ । टिका भने पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफ्ना फुकी (दाजुभाइ) तथा आफन्तहरु सबैकोमा टिका थाप्न जानुपर्छ ।

-फोटो साभार सुनिल उल्लकको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट