बुधबार, अशोज २७, २०७८
आज देशभर महागौरीको पूजाअर्चना गर्दै महाअष्टमी पर्व मनाइँदै

आज देशभर महागौरीको पूजाअर्चना गर्दै महाअष्टमी पर्व मनाइँदै


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २७, २०७८

बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको अर्को स्वरूप महागौरीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ।

देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

विशेषगरि आजका बोका, रागाँ, परेवा, हाँस र भेंडाको बली अर्थात् पञ्चबलि दिने प्रचलन छ। पशुबली नदिनेहरुले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्छन्।

दशैंघर तथा जमरा राखिएको कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ। साथै, फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ।

आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ।

काठमाडौं उपत्यका वरिपरिका शक्तिपीठहरू जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आरधना गरी बलि चढाउनेहरूको घुइँचो लाग्ने गर्छ ।

त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर,धरानको दन्तकाली, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरूमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।

हनुमानढोकाको दसैं घरमा आज मध्यरातमा शक्ति रुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ रांगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट