मङ्लबार, अशोज २६, २०७८
भ्रष्टहरूविरुद्ध ‘महासंग्राम’मा रमेश खरेल, देउवा–प्रचण्डहरूसँगै चुनाव लड्ने उद्घोष

भ्रष्टहरूविरुद्ध ‘महासंग्राम’मा रमेश खरेल, देउवा–प्रचण्डहरूसँगै चुनाव लड्ने उद्घोष


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज २६, २०७८

काठमाडौं –

नेपाल सुशासन अभियानको केन्द्रीय संयोजक, सामाजिक अभियन्ता एवं पूर्वप्रहरी रमेशप्रसाद खरेल नेपाल देश र ३ करोड नेपालीका लागि नौलो नाम होइन । अझ ‘रमेश खरेल’ भनेर सम्बोधन गर्दै–गर्दा नेपाल प्रहरीमा उनले गरेको योगदानको कदर र सम्मानले जो–कसैले पनि सद्भाव र श्रद्धा व्यक्त गर्छन् ।

खरेल प्रहरी सेवामा २९ वर्ष रहँदा उनी केवल प्रहरी मात्रै थिएनन् । जनताको साथी, सेवक र सहयात्री थिए । तर, समाजमा विकृत भित्र्याउनेहरूका लागि चाहिँ उनी आँखाको कसिंगरसरह थिए ।

दशैंको पूर्वसन्ध्यामा सामाजिक अभियन्ता खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । उनले रत्नपार्कस्थित शान्तिबाटिमा पत्रकार सम्मेलन पार्टीको घोषणा गरेका हुन् ।

नेपाल सुशासन अभियानका रुपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन् । भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरुद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले बताए ।

खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताए । त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताए ।

उनले यो अवसरमा भने, ‘देशभरि नेपाल आमाको रगत खानेहरूलाई हामी कानुनी दायरामा ल्याउँछौं ।’ उनले यो रहरले नभएर बाध्यताले गर्दा पार्टी स्थापनामा जुटेको बताए ।

‘देशमा कुशासन व्याप्त छ । सिंहदरबारका राजनीतिक व्यवसायीले बारम्बार शोषण गरे,’ खरेलले भने, ‘जनतालाई कसरी शोषण गर्न सकिन्छ र भ्रष्टाचार कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले भागबण्डा हुन्छ ।’

यस्ता राजनीतिक बेइमानी र भागबण्डा, भ्रष्टाचारलाई जनताले कहिले पनि समर्थन नगरेको उनले बताए । ‘घुस नदिए कुनै अड्डामा काम हुँदैन । आम जनताले बुझ्नुपर्ने कुरा के छ भने सिंहदरबारदेखि तल गाउँसम्म भ्रष्ट प्रवृत्ति । सिंहदरबारले कमिसन र भ्रष्टाचार गर्न सिकाएको छ,’ उनले भने ।

यस्तो अवस्थालाई कति सहेर बस्ने? कति टुलुटुलु हेरेर बस्ने? भनेर प्रश्न गर्दै खरेलले भ्रष्टाचारीहरूविरुद्ध सहकार्य गर्न जनतालाई अपिल गरेका छन् ।

‘हामी राम्रा मान्छे एक हौं, देशलाई माया गर्ने जनता एक ठाउँमा संगठित हौं,’ खरेलले भने, ‘नाराम्रा मान्छे संगठित छन्। अपराधी, भ्रष्टाचारी र गुण्डा संगठित छन् ।’

खरेलले राम्रा मान्छे एकजुट हुने हो भने पाँच वर्षमा देश कायापलट हुने बताए । उनले यस्ता कुशासनविरूद्ध आफू सधैं संविधानले दिएको अधिकार अनुसार शान्तिपूर्वक लाग्ने बताए ।

‘बेइमानहरूलाई समर्थन नगरीदिनुहोला । सिंहदरबार भ्रष्टाचारीको अखडा हो । प्रदेश, स्थानीय तहका मानिस रातारात करोडपति भएका छन् । यी दलालहरूले देशलाई बन्धक बनाएर रातारात अर्बपति भएका छन्,’ खरेलले भने ।

यसैबीच, केही पत्रकारसँगको कुराकानीमा खरेलले प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वा जुनसुकै शीर्षनेतासँग चुनाव लड्ने बताएका छन्। ‘मेरो फाइट भ्रष्टहरूविरुद्ध हो, म जो–सुकैसँग चुनाव लड्न सक्छु,’ संयोजक खरेलले भने ।

खरेल २९ वर्ष नेपाल प्रहरीमा थिए । सर्वेन्द्र खनाललाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उनले डिआइजी पदबाट राजीनामा दिएका थिए ।

उनी भ्रष्टाचारविरुद्ध आक्रामक थिए । उनी प्रहरी संगठनभित्र सेलेब्रिटी छवि बनाएका अधिकारी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट