सोमवार, अशोज २५, २०७८
सुजाता कोइराला भन्छिन्, ‘रामचन्द्र पौडेल नेतृत्व लिन सक्ने मान्छे होइन, उहाँ सभापति बन्नै सक्नुहुन्न’

सुजाता कोइराला भन्छिन्, ‘रामचन्द्र पौडेल नेतृत्व लिन सक्ने मान्छे होइन, उहाँ सभापति बन्नै सक्नुहुन्न’


  • स्वदेश नेपाल
  • सोमवार, अशोज २५, २०७८

काठमाडौं – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला कांग्रेस सभापति बन्न नसक्ने बताएकी छिन् ।

कांग्रेस केन्द्रीय सदस्य कोइरालाले वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाको कार्यशैलीका कारण दुवै नेता पार्टीको सभापति बन्न नसक्ने धारणा राखेकी हुन् । एक टेलिभिजन कार्यक्रमसँगको अन्तरवार्तामा नेतृ कोइरालाले कांग्रेस पार्टी हाँक्न सक्ने ताकत महामन्त्री र वरिष्ठ नेतामा नरहेको बताएका हुन् ।

वरिष्ठ नेता पौडेल नेतृत्व लिन सक्ने अवस्थामा नरहेको नेतृ सुजाता कोइरालाको तर्क छ । ‘म स्पष्ट कुरा राख्छु, रामचन्द्र पौडेल नेतृत्व लिन सक्ने मान्छे पनि होइन, उहाँ सभापति बन्नै सक्नुहुन्न, उहाँको यति सानो मुटु, यति सानो सोच, र उहाँ अहिले सात सालकै राजनीतिमा हुनुहुन्छ,’ कोइरालाले भनिन् ।

पौडेलले विचार दिन नसक्ने र युवालाई आकर्षण गर्ने खुबी पनि नरहेको नेतृ कोइरालाको धारणा छ । ‘कुनै प्रडक्टिभ कुरा नगर्ने, कुनै विचार नदिने,’ कोइरालाले भनिन्, ‘नेतृत्वले त एउटा विचार दिन्छ, पार्टीमा कसरी सबैलाई मिलाएर जाउँ र आफू बलियो बनौँ भन्ने हुन्छ, सबैलाई लखेटेपछि त्यो मान्छे कसरी बलियो हुन्छ ?’

महामन्त्री शशांक कोइरालाको कार्यशैलीका बारेमा पनि नेतृ कोइरालाको प्रष्ट धारणा आएको छ । ‘शशांकजीको कुरा गर्ने हो भने– उहाँ केही गर्दै गर्नुहुन्न, उहाँ महामन्त्री बन्नुभयो, सबैलाई छलंग छ नि उहाँले कति काम गर्नु भयो, कहिले पनि केही काम गर्नु भएन, यसलाई जिम्मा लगाइदिनु हुन्छ, उसलाई जिम्मा लगाइदिनु हुन्छ, आफू केही गर्नु हुन्न,’ नेतृ कोइरालाले भनिन् ।

महामन्त्रीको जिम्मेवारी र गर्नुपर्ने काममा पनि शंशाक चुकेको नेतृ कोइरालाको भनाई छ । ‘रियल वर्क, हार्ड वर्क हुन्छ, जुन एउटा महामन्त्रीले गर्नुपर्छ, जुन एउटा रेस्पोन्सिबिलिटी हुन्छ महामन्त्रीको उहाँमा पनि त्यो चाँहि देखिएन, नदेखिएको कारणले म वीपीको छोरा भनेर अहंकार गरेर उहाँ सभापति बन्न सक्नु हुन्न, यहाँ धेरै जना छन्, छोरा–छोरी, जसका आमाबुवाले यो पार्टीका लागि, त्यसैले त्यो अहंकार उहाँले छोडे हुन्छ, उहाँले काम गर्नुपर्‍यो सभापति बन्ने हो भने, जनताको काम गर्नुपर्‍यो, पार्टीको कार्यकर्ताको काम गर्नुपर्‍यो, उनीहरूलाई दुःख–सुखमा साथ दिनुपर्‍यो,’ नेतृ कोइरालाले भनिन् ।

महामन्त्री शशांक कोइरालाको ‘लाइफ स्टाइल’माथि पनि नेतृ कोइरालाले प्रश्न गरिन् । ‘राति हेर्नुहोस्, बिहान हेर्नुहोस्, बेलुका हेर्नुहोस्, उहाँको लाइफ स्टाइल हेर्नुहोस्, जीवनशैली हेर्नुहोस्, उहाँ सभापति बन्न लायकको मान्छे नै होइन, योग्य मान्छे नै होइन, उहाँको लाइफ स्टाइलले नै त्यो देखाउँछ,’ कोइरालाले भनिन् ।

प्रभावशाली नेतृ कोइरालाले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई एउटा कोटा र महामन्त्री शशांक कोइरालालाई एक मन्त्रीको कोटा लिएको बताइन् ।

शशांक कोइराला र शेखर कोइरालाले तपाईको नाम किन सिफारिस गर्नु भएन ? भन्ने प्रश्नमा नेतृ कोइरालाले भनिन्, ‘शेखर त उस (पदाधिकारी) मा हुनुहुन्न, महामन्त्री होइन, शशांकलाई एउटा कोटा दिएको थियो, अर्को कोटा रामचन्द्रजीलाई भनेको थियो दिनको लागि, तर उहाँहरूले कस्तो षडयन्त्र गर्नु भएछ भने कोटामा नगएर एउटै नाम जानुपर्छ भनेर रामचन्द्रजीले चलाखी गर्न खोज्नु भो,’ कोइरालाले भनिन् ।

वरिष्ठ नेता पौडेलले आफ्नो नाम हटाएर नेता मिनेन्द्र रिजालको नाम सिफारिस गरेको कोइरालाको भनाई छ । ‘मेरो नाम नआओस् भन्ने रामचन्द्रजीको प्रयत्न भो, मिनेन्द्रकै नाम उहाँको पक्षबाट पनि समर्थन भयो, र शशांकले पनि मिनेन्द्रकै नाम लिएको हो, दुई जना मिलेर मिनेन्द्रजीको नाम प्रस्ताव गर्नुभयो, अनि शेरबहादुरजीले नियुक्त गर्नु भयो,’ कोइरालाले भनिन् ।

‘राजनीति गर्ने मान्छेमा ईर्श्या, घमण्ड, स्वार्थहरू रह्यो भने त्यो मान्छे कहिले पनि माथि जान सक्दैन, आफूमाथि कन्फिडेन्स भएन भने अरुलाई… रामचन्द्रजीको त तपाई इतिहास नै हेर्नुहोस्, उहाँले कसलाई सहयोग गर्नु भएको छ ? गिरिजाबाबुलाई त्यतिकै दुःख दिनुभयो, त्यसपछि गोविन्दराज जोशीजी, एकजना पार्टीको… मन परे पनि नपरे पनि, सबै जना सबैलाई मन पर्दैन, तर सबैलाई समाप्त पार्नु त भएन नि,’ कोइरालाले भनिन् ।

‘गिरिजाबाबुलाई पनि जहिले पनि, कोइरालाहरूलाई जहिले पनि… तँ कोइरालाको मान्छे होस्, तँ कसको मान्छे होस् भनेर मान्छेहरू आएको बेलामा पनि सोध्ने,’ कोइरालाले भनिन्, ‘त्यो कुरा मलाई पनि आउँथ्यो ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट