सोमवार, अशोज २५, २०७८
नेपाल बुझे दशैँ बुझिन्छ !

नेपाल बुझे दशैँ बुझिन्छ !


  • स्वदेश नेपाल
  • सोमवार, अशोज २५, २०७८

अनुप अधिकारी – अलिकति पूर्वीय सभ्यताको मूललाई छिचोल्ने प्रयास गरौँ। गहिराईबाट हेर्ने हो भने पूर्वीय सभ्यता ध्यानमा, आध्यात्ममा, वेदमा, तन्त्रमा र मन्त्रमा अडिएको छ। र यी सबैको उद्गम भएको, प्रादुर्भाव भएको, अनुसन्धान भएको, निर्माण गरिएको, लेखन गरिएको एवं मानव जिवनमा प्रयोगात्मक अनुसरण र अनुशीलन गरिएको भूमि हो नेपाल।

नेपाललाई यत्तिकै हरेक युगमा त्यसै अनुरुपको नामाकरण दिइएको छैन। यही भूमिको नाम कहिले सत्यवती रहेको थियो जहाँ परमसत्यको साक्षात्कार हुने गर्थ्यो, कहिले तपोभूमि जहाँ तपस्याको लागि माञ्छेहरूको ओइरो लाग्ने गर्थ्यो, कहिले मुक्तिसोपान, मुक्ति, निर्वाण, मोक्ष प्राप्त गर्नको लागि एकमात्र केन्द्र नेपाल रहने गर्थ्यो। ती सबै नामाकरण यत्तिकै कोरा कल्पनामा सिमित होइनन्। आध्यात्म, उर्जा, ध्यानको गहिराई बुझ्ने क्षमता राख्ने माञ्छेले नेपालका शक्तिपीठहरूमा गएर ध्यान, अनुष्ठान गरेमा यसको अनुभुति अहिले पनि लिन सक्छन्। त्यसै तिब्बती लामा शामार्पा स्प्रुल्खुले नेपालमा नै प्राण त्याग्न चहाञ्छु भनेका थिएनन्।

राष्ट्र गुरु योगी नरहरिनाथका अनुसार नेपालबाट नै मानवबाट परम सिद्ध व्यक्तित्व बनाउने संस्कार र संस्कृतिहरू निर्माण भए। यो भूमि देखि जापान, मंगोलिया, रसिया सम्म कम्बोडिया हुँदै इण्डोनेसियासम्म एवं इरान हुँदै इराकसम्म सभ्यताको विकास भए।

हाल संसार भरि खोजि अनुसन्धान भएका सामान्य प्रकृतिपूजक र ध्यान विधि अंगालेका लामा पद्धति(सामानिज्म) अपनाएकाहरूको पनि मूल भूमि नेपाल हो भन्दा अत्युक्ति नहोला। किनकि यी सबैको मूल हो शैव र शक्ता परम्परा र त्यसको उद्भव स्थान नेपालको गौरीशंकर हिमाल देखि कैलाश मानसरोवर हुन्। रुद्र रुपे, रुद्र मुर्ते भन्ने शब्द देवीको शप्तसति पाठ एवं गुप्त तन्त्रको मन्त्रहरुमा दोहोरिञ्छ। रुद्र भन्ने शब्द वेदको ऋचामा पनि गुञ्जिञ्छ तेस्रो आँखा, ध्यान परम्पराको प्रतिक हो रुद्र। रुद्र रुप भनेको त्यहि तेश्रो आँखा भएको भनिएको हो। ध्यान गर्ने, मन्त्र विज्ञान मान्ने, फलाक्ने सबै यहि भूमिको शैव र शक्ता परम्पराको विधि, निधि पद्दति हुन्। यसमा पनि नेपाल तनहुँको दमौलीमा कृष्ण द्वैपायन व्यासद्वारा लेखिएको ४ वेद १८ पुराण सबै ध्यान, मन्त्र, तन्त्र, आगम निगमका प्रलेखिकरण हुन्।

ब्रह्माण्ड पुराणमा उल्लेखित अगस्त्य ऋषि र हयग्रीव आवतर बिचको संवाद अनुसार साधारणको नाम भन्दा विष्णुको नाम उत्तम हुञ्छ, विष्णुको नामभन्दा शिवको झन् उत्तम हुञ्छ र शिवको भन्दापनि सर्वोत्तम देवीको नाम हुञ्छ। मातृशक्तिको सम्मान नेपाल भुमिको हरेक संस्कार संस्कृतिमा झल्किञ्छ। यो नेपालको अद्वितीय गुण हो। पञ्चकन्या पुज्ने, छोरिको खुट्टा ढोग्ने, कुमारीलाई जीवित देवीको रुपमा पुजा गर्ने, छोरी जन्मिदा लक्ष्मी देवीको जन्म भएको विश्वास गरेर हर्षोउल्लासको साथमा भोज भतेर गर्ने यी र यस्ता संस्कृतिहरू नेपालमा रहनुको कारण त्यहि मातृ शक्तिको सम्मानको प्रकटीकरण हो। र दशैँ मातृ शक्तिको उपासना, अनुष्ठान र पूजा हो। महिषासुरको कथाअनुसार अन्याय र अत्याचार विरुद्ध नारिले पनि हतियार सहित प्रतिकार गर्न पर्छ भन्ने नारि सशक्तिकरणको संदेश गुञ्जिञ्छ। नारीले कहिलेपनि अत्याचार सहनु हुँदैन, नारीलाई कमजोर सोच्नुहुँदैन,र नारीले पनि परिआएको खण्डमा हात हतियार उठाउनु सक्छन् र न्याय को लागि लड्न पनि सक्छन्।

दशैँका आयामहरु

नेपाल परापूर्व कालदेखि योद्धाहरूको पनि भूमि हो। यो देश ध्यानी, तपस्वी, विदेह देखि योद्धाहरुको भूमि रही आएको कुरा, महाभारत, रामायणका प्रसङ्गले पनि पुष्टि गर्छन्। र यी सबैका इष्ट देव भनेको महादेव, आदियोगी, रुद्र एवं काल-भैरव जो शिवकै रुप हुन्। हर हर महादेवको गुञ्जनले आफुमा उर्जा भरेर युद्ध गर्ने, सत्ययुग देखि आधुनिक नेपाल एकीकरणमा हरेक योद्धाले सोहि गुञ्जनमा गोरखनाथ र गोरखकाली नाम सहित उर्जा भरेर यो देश बचाएको र हाल पनि नेपाली सेनाको चिन्ह त्रिशूल डमरुले नेपाल शैव,शक्ता, ध्यानी र योद्धाको भूमि हो भन्ने हाम्रो वाक्यलाई सत्य सावित गर्छ। किरातेश्वर महादेव यसको साक्षी हो। संसारको सर्वश्रेष्ठ योद्धा मानिने अर्जुनलाई हराएको नेपाली किराँतले नै हो। दशैँ भनेको योद्धाहरूको पनि ठूलो चाड हो।

शक्ता पन्थ पनि उही योद्धाहरुकै पन्थ हो। हातहतियारहरुको पूजा गर्ने, कोटमा बलि चढाउने, योद्धा पृष्ठभूमिका मन्दिरका मूल पूजारीहरुले रगतमा मुछेको अक्षता चढाउने, लगाउने यो सबै योद्धाहरूको अनुष्ठान हो। योद्धा चरित्र आफूमा नभएका माञ्छेहरु रगत देख्दा तर्सिञ्छन्, तर योद्दाहरू नभएमा देशको सुरक्षा कसले गरिदिने ? अराजक तत्त्व, दुश्मनहरुलाई कसले प्रतिकार गर्ने ? यो समस्या नरहोस् भनेर गाउँ गाउँमा बलि चढाउने र हरेक ठाउँमा देशले माग्दा योद्धाको रूपमा जनजन जाग्न सक्ने अन्तर्निहित साहस, वीरताको प्रतिक पनि हाम्रो दशैँ हो। अंग्रेज इसाई फिरंगीबाट यो देशको मूल धर्म, संस्कार बचाउन पिठ्युमा बच्चा बोकेर पनि आमाहरु युद्धमा होमिने प्रेरणा दिने शक्ति यहि दशैँ हो। नेपाल एकीकरणको बेलामापनि यहि संस्कार-संस्कृति-परम्पराले नै हरेक नेपालीमा ऊर्जा थप्ने र आत्मविश्वास प्रदान गर्ने काम गरेको हो।

तुलनात्मक रूपमा बहुगुणा शक्तिशाली मानिएका र हातहतियारले सुसज्जित इसाई अंग्रेजहरुलाई पनि रोक्न सक्ने आधार यही देवीको कृपा थियो। जितगढीमा अंग्रेजलाई हराए पश्चात कमान्डर उजिर सिंह थापाले पाल्पामा रहेको देवीको मन्दिरलाई सबै श्रेय दिएका थिए। सो मन्दिरको नाम हाल रण उजेश्वरी भगवती मन्दिर छ। जय महाकाली आयो गोर्खाली(गोरख् काली) ले पनि सबै कुरा पुष्टि गरिदिञ्छ।

यस ब्रह्माण्डमा रहेका सबै ज्ञानविज्ञानका स्रोत देवीलाई मानिञ्छ। त्यसैले दशैँ भनेको दस महाविद्या अर्थात् देवीहरूको पूजन पनि हो। शक्ति भन्ने शब्द नै देवीबाट उत्पति भएको हो। विद्याले नै माञ्छे शक्तिशाली बञ्छ र शक्तिशाली बनाउने विद्याको स्रोत देवी नै हो। जुन आध्यात्म अर्थात तेश्रो आँखामा निर्भर हुञ्छ। त्यसैले देवीको पनि त्रिनेत्र हुञ्छ शिवको पनि। गहिराईबाट बुझ्ने क्षमताको आधार तेश्रो आँखा नै मानिञ्छ। योग,ध्यान, तप, पुजा देखि रक्षा, युद्ध सबै किसिमको विद्याले निपूर्ण नै शक्तिशाली हुञ्छ। यसको आधार हो दशैँ।

दशैँमा ग्रहण गरिने अक्षताको प्रतिक तेश्रो आँखा नै हो। अक्ष अर्थात आँखा। “त्याँहा पनि आँखा छ, त्यसबाट देख्नु” भन्ने संदेश पनि दशैँमा लुकेको छ। ज्ञान चक्षुको महत्त्व कुण्डलिनी जागरण र आध्यात्म बुझेका माञ्छेहरूले बुझेका हुञ्छन्। संगसंगै आधुनिक विज्ञानबाट हेर्ने हो भने पिनियल ग्रन्थि बारेमा पनि धेरै खोज आएका छन्। आध्यात्मिक तेश्रो-आँखा चक्रको भौतिक प्रकटीकरण नै यो ग्रन्थि हो। दुबैको स्थान एकै छन्। पिनियल ग्रन्थिको महत्त्व बारे कुनै अर्को लेखमा आउने छौँ। अहिले आजकै विषय बारे अघि बढौँ।

निधारमा लगाइने यस टिकाले तेश्रो आँखा बाहिर समात्छ र त्यस क्षेत्रमा मिहिन कम्पन सृजना गर्छ जसले पिनियल ग्रन्थिको सक्रियता पनि बढाउँछ र तेश्रो आँखामा गुञ्जन उत्पन्न गर्छ। बाहुन क्षेत्री मात्र होइन नेपालका शक्तिपीठहरुमा मगर पुजारी, गुरुङ आदि समुदायका मूल पुजारी रहने र सबै समुदायमा पनि सेतो अक्षता वा अन्य कुनै रूपमा निधारमा टिका लगाउने प्रचलन यहि तेश्रो आँखाको आध्यात्मिक संस्कृतिको प्रतिक हो। दही, चामल, अविर, रातो रङ वा सेता फूल मिचेर निकाल्ने सेतो रङ्ग आदि जुनसुकै शैलीमा पनि आफूभित्र रहेको त्यो शक्तिको ऊर्जा तेस्रो आँखालाई हरेक संस्कृतिहरुले अपनाएको देख्न सकिञ्छ।

आदिमकालबाट नेपाल कृषिको भुमि रहिआएको छ। वेदव्यासका बुवा ऋषि पराशरले नै पहिलोपटक कृषिविज्ञान प्रलेखिकरण गरेका थिए। कृषि पराशर भन्ने ग्रन्थमा कुन मौसममा के कस्तो विधिले के कस्ता अन्न बाली खेति गर्ने भन्ने ज्ञानको सङ्कलन छ। किराँत कालिन नेपालमा पनि कृषिका औजारहरु र खेति किसानीमा आधारित समाज विकास भएको मान्न सकिञ्छ। दशैँले किसान जीवन शैली पनि बोकेको छ। हाम्रो संस्कारमा अन्नको राजा जौँलाई मानिञ्छ। यसको पनि वैज्ञानिक आधार छन्। सबै भन्दा धेरै अक्सिजनयुक्त अन्न जौँ हो। जौँको सेवनले शरीरमा उर्जा संचार गर्ने देखि धेरै रोगलाई जितिने अनुसन्धान आइ सकेका छन्। ओट्मिल, मुस्ली आदिले हाल संसारभरी प्राथमिकता पाउने त्यहि जौँको आधार हो।

हाम्रो संस्कृतिमा चामलको पनि उत्तिकै महत्व छ। धानको रोपाइँ गर्ने प्रचलन पनि नेपालबाट नै उत्पत्ति भएको विश्वास गर्न सकिने धेरै आधारहरु छन्। तर बिडम्वना! नेपालका रैथाने धानहरु सबै गायब पारियो र अन्य देशहरुले पेटेण्ट दर्ता गराइसकेका छन् र यसको आधारले अहिले यस दावीलाई मिथ्या बनाउन सकिञ्छ।

तर पनि चामलको उपयोग र परिकारमाथि दृष्टि डुलाए यो कुरा पुष्टि पनि हुञ्छ ! हाल संसारभरी प्याकेट गरेर आउने सबै खानामा हालिने मैदा वा रोटि, बर्गर वा पिज्जा देखि नेपालका रैथाने सेल रोटि, फिनी आदि सबै परिकारको आधार गहुँ हो। मकै पनि बहु उपयोगी हुञ्छ। तील पनि औषधीय गुणले भरपुर हुञ्छ। हजारौँ वर्ष देखि तिलको उपयोग र उपभोग मुटु, नसा, हड्डी र रगत सम्बन्धि समस्या हलको निम्ति गरिएको तथ्यहरु छन्। धान, गहुँ, जौँ, मकै र तिल लगायतका अन्नबालीहरुको संरक्षण हरेक घरले गरोस्, सबै आत्मनिर्भर रहोस् भन्ने कृषिमा आत्मनिर्भर रहन पर्ने स्वाभिमानी नेपाली संस्कार जमराको अपरिहार्यताले यस चाडले पनि आफुमा धारण गरेको छ। नाकावन्दी जस्ता इण्डियन ज्यादतीले कोहि नेपाली डगमगाउन नपर्ने यो संदेश हामीले मनन गर्न आवश्यक छ।

निष्कर्ष

यी सबैबाट यो निष्कर्ष निकाल्न सकिञ्छ। दशैँ बहिस्कार गरौँ भन्नेहरु नेपालको अद्वितीय गुण, अद्वितीय पहिचान मेटाउन उद्दत छन्। नेपालका योद्धाहरुमा काँतरपन भरेर नेपाललाई पराधिन गराउन उत्सुक छन्। हालसम्म विदेशीले नेपालको आध्यात्मिक ज्ञान-विज्ञानलाई क्षिर्ण पार्न, नेपालको संस्कृतिहरुलाई नामेट पार्न र कृषिलाई अन्त्य गर्न जेजति पनि षड्यन्त्रहरू गरे, दशैँ बहिस्कार भन्नेहरु उनीहरुकै प्यादा हुन्। यलम्बरका शत्रु हुन्, मगरहरू मूल पुजारी रहिआएका शक्तिपीठहरूका अनुष्ठानमा वाधा अड्चन गराउने प्रयास गर्ने मगरहरूका पनि शत्रु हुन्। गुरुङ समुदायको प्राचीनग्रन्थ (प्ये) अनुसार दशैँको टिका लगाउने, आशिष लिने, पिङ्ग खेल्ने र हर्ष उल्लासको साथ् दशैँ मनाउने कुरा उल्लेख छन्। यस आधारमा दशैँ बहिष्कार भन्ने तत्त्वहरु गुरुङका पनि शत्रु हुन्। सेतो टिका लगाउने प्रचलन भएका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूका पनि शत्रु हुन्। शैव र शक्ता परम्पराका पनि शत्रु हुन्। दशैँ बहिस्कार गर्नु भनेको आफ्नो पुर्खालाई थुक्नु सरह हो।

छर-छिमेक, इष्ट-मित्र जो जँहा भए पनि आफ्नो बुढौली, पुर्खौली घरमा जम्मा भएर टिका ग्रहण गर्दै सबै वातावरण नै उल्लासमय बनाउने यस चाडले विदेशीको नेपालमा एकलकाटे समाज बनाउने उद्देश्य रोकेको छ। त्यसैले पनि यस चाड नामेट पारेमा नेपाली जन; समाज, परिवारबाट अलग्गिन थाल्ने रणनीति पनि बुझ्न पर्ने हुञ्छ। हाम्रो सामाजिक मुल्य मान्यता विस्थापन गरेर राष्ट्र विसर्जनको माहोल बनाउने विदेशीको जुठो/पुरो खाएर पुर्खाको विरासत विरुद्ध बोल्ने सबै कुलङ्घार हुन्।

यस दशैँमा सबै राक्षसी प्रवृत्तिहरूको अन्त्य गर्ने शंखघोष गरौँ। आफ्नो कुल परम्परा अनुसार मानि आएको दशैँलाई निरन्तरता दिऔँ। नेपालमाथि हावी हुने प्रयासमा तल्लिन कुतत्त्वको अन्त्य गरौँ। बडा दशैँ २०७८को सबैलाई हार्दिक शुभकामना।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट