बुधबार, अशोज ६, २०७८
न्यायकर्ता तथा दण्डाधिकारी कालभैरव

न्यायकर्ता तथा दण्डाधिकारी कालभैरव


  • स्वदेश नेपाल
  • बुधबार, अशोज ६, २०७८

– महेश्वर श्रेष्ठ

महादेव र गणेशको अलावा नेवारहरुले नामको पहिलो अक्षर ‘भ’ हुने ४ देवदेवीलाई निक्कै मान्ने गर्छन् । ती ४ देवदेवी हुन् – भैरव, भगवती, भीमसेन र भगवान गौतम बुद्ध । नेपाल भरी नेवारहरुको जुनसुकै पुरानो वस्तीमा यी ६ देवदेवीको मूर्ति, मन्दीर, चैत्य वा स्तुप सानो ठुलो कुनै न कुनै रुप र आकारमा देख्न सकिन्छ । नेवारहरुले मान्ने भैरव पनि धेरै थरीका छन् ।

काठमाडौं महानगर भित्र ५ मुख्य भैरव छन् –इन्द्रचोकको आकाशभैरव, वटुटोलको बाकाभैरव, हनुमानढोका दरबार अगाडीको कालभैरव, हनुमानढोका दरबारसंगै जोडिएको स्वेतभैरव र टेकुदोभान नजिक पचली स्थित पचलीभैरव । यस आलेखमा कालभैरव र पौराणिक कालमा निजबाट भएको एउटा विशेष न्याय सम्पादन तथा दण्ड विधान बारे चर्चा गर्ने प्रयास गरिन्छ ।

भैरवलाई महादेवको रौद्ररुप मानिन्छ । महादेवको रौद्ररुप मध्ये महारौद्ररुप कालभैरव हो जसको नाम मात्र लिनाले पनि गलत पात्रको काललाई अर्थात मृत्यलाई निम्त्याउंछ भन्ने संकेत गर्दछ । नेपालको पुरानो राजदरबार हनुमानढोका दरबार क्षेत्रको पश्चिमोत्तर खुला ठाउंमा अवस्थित कालभैरवको विशाल कालो मूर्तिलाई काठमाडौं उपत्यकामा वसोवास गर्ने र काठमाडौ आएका देशी विदेशी धेरैले देखेको हुनु पर्छ । महादेवलाई संहारकर्ता माने जस्तै उनको महारौद्ररुप कालभैरवलाई दण्डाधिकारीको रुपमा मान्ने गरिन्छ । आज भन्दा सय वर्ष अघिसम्म सहज रुपमा गल्ती स्वीकार नगर्ने, अपराध कबुल नगर्ने ज्याद्रो प्रकृतिको अभियुक्तलाई कालभैरव अगाडी बयान दिन लगाइन्थ्यो र उसले झुठो बयान दिएमा तत्काल रगत छादेर त्यहीं मर्छ भन्ने विश्वास गरिन्थ्यो ।

कालभैरवको ६ वटा हात मध्ये बीचको बायाँ हातले चतुर्मुख ब्रम्हाको काटिएको टाउकोलाई जगल्टा समाएर उठाइराखेको देखाइएको छ । सृष्टिकर्ता चतुर्मुख ब्रम्हाको काटिएको टाउको भनेको पढ्दा धेरैलाई आश्चर्य लाग्न सक्छ र हिन्दु धर्म विरोधी बकबास कुरा गरेको भनेर बेपत्ता रिस उठ्न पनि सक्छ । तर सत्य त्यही नै हो – कालभैरवको बिचको बाँया हातमा भएको चारमुखे टाउको सृष्टिकर्ता चतुर्मुख ब्रम्हाको काटिएको टाउको नै हो । भारतमा पहिले ब्रम्हाको पांच वटा टाउको थियो, हाडनाता करणी गरेको अपराधमा महादेवले उनको एउटा टाउको काटेर सजाए दिएकोले पछि चार वटा टाउको मात्र बाकी रहेको भन्ने मान्यता राख्छन् । तर नेपालीहरु ब्रम्हाको शुरुदेखि नै चार वटा मात्र टाउको थियो र कालभैरवले उनको चार वटै टाउको काटेर मृत्यदण्ड दिएको विश्वास गर्दछन् ।

ब्रम्हालाई मृत्युदण्ड दिइएको कथाको सार यस्तो छ । ब्रम्हाण्डको सृष्टिकर्ता मानिने ब्रम्हाले सृष्टि गरेको आफ्नै छोरी सरस्वतीको मनमोहक र चित्ताकर्षक सौन्दर्य देखेर उनमा असिम यौनेच्छा जागेछ र सरस्वतीसंग समागम गर्न थाले छन् । उमेर पुगेको चराचर प्राणीमायौनेच्छा जाग्नु प्रकृतिको नियम नै हो । अन्यथा सृष्टि रोकिन्छ । जवान सरस्वतीमा पनि यौनेच्छा जागेकै थियो । त्यसलाई आफ्नै बाबुले पूर्ति गरिदिएकोमा उनी पनि खुसी नै थिइन् र त बाबुछोरी बिचको यौन सम्बन्धलाई हाडनाता करणी भनेर जान्दा जान्दै पनि नाईंनास्ती गरिनन् । त्यस बेला अहिले जस्तो गर्भ निरोधक परिवार नियोजनको साधन थिएन । गर्भ तुहाउने जडिबुटी र प्रविधिक ज्ञानको पनि विकास भइसकेको थिएन । त्यसैले सरस्वतीले बाबुको भुंडी बोकिन् समय क्रममा एउटा बालकलाई जन्म दिइन् ।

सरस्वतीले एक बालकलाई जन्म दिएको खबर पाए पछि देवताहरु धमाधम आउंदै आशिर्वाद दिंदै न्वारानको तयारीमा जुटे । न्वारान गर्ने दिन देवताहरुको पुरोहित वृहस्पतिले बालकको नामकरण गर्न बाबुको नाम सोध्दा सरस्वतीले केहि नबोली निहुरेर मात्र बसिरहिन् । जति सोध्दा पनि सरस्वतीले जवाफ नदिएकोले बच्चाको बाबुको नाम सरस्वतीका पिता ब्रम्हालाई पक्कै थाहा होला भनेर सोध्दा उनी पनि केहि नबोली घोसे मुन्टो लाएर बसिरहे ।पछि देवताहरुले निकै केरकार गर्दा सरस्वतीले चोर औंलाले बाबु ब्रम्हा तर्फ संकेत गरिन् ।क्रसचेकका लागि ब्रम्हालाई सोध्दा उनी अझै पनि केहि नबोली झन बढी शीर झुकाएर बसिरहे । बाबुछोरी बिच हाडनाता करणी भई बच्चा समेत जन्मेको अवस्थामा उपस्थित देवताहरुले महादेवलाई उनीहरु विरुद्ध कारवाही गर्ने जिम्मा दिए ।

देवाधिदेव महादेवलाई पहिलेदेखि नै यौन कुकर्मी ब्रम्हासित सहिनसक्नु रिस उठिरहेको थियो । देवताहरुको सभाबाट इन्साफ गर्ने अधिकार पाउना साथ उनले कालभैरवको रुप धारण गरी “आफ्नै छोरीसंग अवैध यौन सम्बन्ध राख्ने, हाडनाता करणीबाट बच्चा समेत जन्माउने, तेरीमा पातकी बुढा, तेरो पाप कर्मको लागि सजाय यही हो” भनेर खड्गको एकै प्रहारमा ब्रम्हाको चार वटै टाउको गिंड्याइ दिएछन् र “अब आइन्दा कहिं कतै कसैले पातकी ब्रम्हाको पूजा गर्ने छैन, मन्दिर मूर्ति बनाउने छैन ।” भनेर स्थायी आदेश पनि जारी गरेछन् । उनको त्यस आदेशको अहिलेसम्म पनि यति कठोरता साथ पालना भइरहेको छ कि अपवादको रुपमा भारत राजस्थानको पुष्कर भन्ने ठाउंमा चौधौं शताब्दीमा निर्मित एउटा बाहेक संसारमा कहिं पनि ब्रम्हाको मूर्ति र मन्दिर बनेको छैन र पूजापाठ पनि हुंदैन । मरिसकेको अपराधी देवताको पूजापाठ गरी हिंड्ने कुरा पनि भएन ।

त्यस घटनामा सृष्टिकर्ता ब्रम्हालाई समेत मृत्यदण्ड दिएकोले त्यस दिनदेखि महादेवलाई संहारकर्ता पनि भन्न थालिएको हो । यस घटनाबाट बिरक्तिएर सरस्वतीले आजीवन एकल वैराग्य जीवन बिताउने घोषणा गरिन् र हिंडी पनि हालिन् । उनले “यौनेच्छा जाग्यो भन्दैमा जोसंग पनि यौन सम्बन्ध राख्नु हुदैन । मैले जस्तै अपमानित र तिरस्कृत जीवन जिउनु पर्नेछ” भनेर दुनियाँलाई आफ्नै अनुभवसिद्ध ज्ञानगुनका कुरा सुनाउँदै हिंडेकीले उनलाई विद्याकी देवी भन्न थालिएको हो । बाबु ब्रम्हाले मृत्युदण्ड पाएर मारिइसकेको, आमा सरस्वती वैराग्य जीवन बिताउने भनेर हिंडिसकेको अवस्थामा उनीहरुबाट जन्मेको बालकको जिम्मा कसले लिने भन्ने प्रश्न उठ्दा निज बालकलाई “नारद” नामाकरण गरेर उसको पालनपोषण शिक्षादीक्षा स्वास्थ्य सेवाको जिम्मा विष्णुले लिने घोषणा गरे ।

त्यसैले त्यस दिनदेखि विष्णुलाई पालनहार भन्न थालिएको हो । पातकी भए पनि त्यो बच्चाको बाबु त आखिर ब्रम्हा नै थिए । बाबुछोरा बिचको जैविक नातालाई ब्रम्हाण्डको कुनै ताकतले तोड्न सक्दैन । त्यसैले उनलाई सृष्किर्ता भन्ने गरिएको हो । ठूलो भएर आफनो जायजन्म बारे थाहा पाए पछि त्यस बालक नारदले पनि बिरक्तिंदै आजन्म ब्रम्हचर्यमा बस्ने र धर्मपिता विष्णुको नाम जपेर जीवन बिताउने प्रतिज्ञा गरेछन् । त्यसैले उनले जेकुरा भन्नु पर्दा पनि सबभन्दा पहिले “नारायण, नारायण” शब्द उच्चारण गर्ने गरेका हुन् । अस्तु !!

लेखकका निजि विचार हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट