बुधबार, भदौ ३०, २०७८
भीम रावलको प्रशंसा गर्दै विप्लवले जनार्दन शर्मामाथि गरे यस्तो व्यङ्ग्य! (भिडियो)

भीम रावलको प्रशंसा गर्दै विप्लवले जनार्दन शर्मामाथि गरे यस्तो व्यङ्ग्य! (भिडियो)


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद्मा दौडिएको विषयलाई सार्वजनिक मञ्चमै आलोचना गरेका छन्।

नेकपाले एमसीसीको विरोधमा काठमाडौंमा आयोजना गरेको प्रदर्शन र जनसभालाई सम्बोधन गर्दै विप्लवले शर्मामाथि व्यङ्ग्य गरेका हुन्।

‘जनयुद्ध लडेका कमाण्डरहरू अहिले संसद्मा हुनुहुन्छ, पैसाको ठूलो चाँड छ, लडाइँ छ, अनि हाम्रो अर्थमन्त्रीजी बंकर कब्जा गर्न दौडेर गएजस्तो बजेट लिएर जानुहुन्छ, हालत यस्तो छ, अर्को पार्टी पुलिसको काँधका चढेर छेक्दैछ,’ विप्लवले भने।

महासचिव विप्लवले अमेरिकी सहायता परियोजना एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको बताएका छन्।

‘एमसीसी सम्झौता जबरजस्ती लादिँदै छ, हामीमाथि प्रतिवन्ध लागेकै बेला हामीले त्यो सम्झौता पुरै पढ्यौं । एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता, सर्वभौमिकताको विरुद्धमा छ,’ विप्लवले भने।

सम्झौतामा एमसीसी नेपालको कानूनसँग बाँझिएमा एमसीसीमा लागू हुने उल्लेख भएको दावी गर्दै उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो लागिने लागेको बताए।

‘यो सम्झौता कसको हितमा गरिँदै छ?, अमेरिकाको राष्ट्रिय सुरक्षाका निम्ति यो लागू गरिदै छ । अमेरिकाको राष्ट्रिय सुरक्षा चुनौतीको संरक्षणका लागि एमसीसी अघि सारिएको हो,’ विप्लवले भने।

विप्लवले सम्झौतामा लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन एमसीसीको सुरक्षामा रहनेलगायत थुप्रै राष्ट्रघाती प्रावधान रहेको बताएका छन्।

उनले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीविरुद्ध बोलेको उल्लेख गर्दै प्रशंसा गरे। विप्लवले एमसीसी सम्झौताविरुद्ध बोल्ने रावलसहितका नेताको प्रशंसा गरे।

‘मुटुमा रगत भएको मान्छे लड्नुपर्छ । कायरहरू मात्रै हो डराउने, भीम रावललाई भन्यौं । एमाले, माओवादीका कमरेडलाई भन्यौं । राष्ट्रवादी कमरेडलाई भन्यौं,’ उनले भने।

विप्लवले पैसाले देश समृद्ध नहुने पनि बताएका छन् । ‘पैसाले समृद्धि हुन्छ? अमेरिकाले दिएको ५० अर्ब दिएर कायापलट हुन्छ? अमेरिकाले सित्तैमा पैसा दिँदैछ विरोध गर्नेहरू दुष्ट हुन् भने एकजनाले, तिनीहरू दलाल हुन्, आज पैसा–पैसा भन्ने कांग्रेसका साथीहरू पैसाले समृद्धि रोकिएको हो? के पैसाले विकास हुन्छ? पैसामात्रै भए हुन्छ? पैसाले कहिल्यै पुग्दैन, अधिकार, स्वतन्त्रता र देश स्वाधीन हुनुपर्छ, विकास र समृद्धिको बाधक पैसा होइन, सत्ता हो, जनताको हातमा सत्ता भयो भने जनता मालिक भयो भने पहाड बन्छ, नदी बन्छ, देश हराभरा बन्छ,’ विप्लवले भने।

हेर्नुहोस् विप्लवको सभामा कसले के भने ?

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट