सोमवार, भदौ २८, २०७८
अमानव उत्पादनमा केन्द्रित नेपालको शिक्षा नीति

अमानव उत्पादनमा केन्द्रित नेपालको शिक्षा नीति


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २८, २०७८

-अनुप अधिकारी

शिक्षा के हो ? यो विषय नबुझी धेरै शिक्षित भनौँदाले देह त्यागी सके, धेरै आर्यघाटमा अग्रसर छन् र अझै धेरै ‘म शिक्षित हो’, भन्ने भ्रममा नै रोमलिएका छन् । आजको लेखमा शिक्षा केलाई भन्ने ? शिक्षित कसलाई मान्ने? नेपालको शिक्षाको शुक्ष्म देखि वृहद आयामलाई केलाउने प्रयास गरिएको छ।

शिक्षा शब्दको अर्थ केलाएर हेरौँ। साधारणतय, शिक्षाको अर्थ केहि सिक्ने, केहि सुचना लिने, केहि जानकारी प्राप्त गर्ने प्रक्रिया हुञ्छ। तर त्यो सुचनालाई व्यवहारमा अवलम्बन गरेर जीवनमा उपयोग गर्न मिल्ने पाटो हो विद्या। जब भित्रै बाट बोध हुञ्छ तब त्यो शिक्षा, विद्या बञ्छ। शिक्षा पूर्ण तब मात्र हुञ्छ जब सिकाइएको कुरा सिक्न आएकाले बोध गर्छन्। बोध अर्थात, सिकेको कुरा आफ्नो जीवनमा सकारात्मक परिवर्तनको लागि प्रयोग गर्ने सामर्थ्यको विकास हुने। पुस्तकका शब्द देखि विचार हुँदै व्यवहारमा उत्रने।

के सिकाउने, कसरी सिकाउने र कसरी जिवनोपयोगि बनाउने ? तर विडम्बना, अघि उल्लेख गरिएको कोणबाट नसोची पाठ घोकाउने, रटाउनेलाई नेपालमा शिक्षा भनिञ्छ। र यहि शिक्षाको उपज हो हालको नेपाली समाज र समग्र देशको परिवेस। नेपालमा गलत शब्द प्रयोग गरेर व्यापार चलेको छ। ‘विद्यालय र विद्यार्थी’, जे जसलाई भनिएको छ ती यथार्थ होइनन्। ‘व्यापारी र ग्राहक’ अझ सोझो र सत्य संज्ञा हुञ्छ ‘ठग्ने र ठगिने’ तप्का। केहि कतै एकाध, नगन्य बाहेक माथि भनिएको कुरा नेपालको परिपेक्षमा धुर्व-सत्य हो। र कसैलाई हामीले झुटो बोले जस्तो लागे कृपया आफ्नो तर्क राख्दिनु होला।

जब शिक्षा दिलाएर शिक्षित भनौँदाहरुको व्यवहार अशिक्षितको भन्दा तुच्छ, गिरेको र घिनलाग्दो छ भने त्यसलाई शिक्षित गरायौँ भनेर मोटो शुल्क असुल्नेलाई ठग नभनेर के भन्ने ? अनि त्यो शुल्क तिर्नेले शिक्षा भन्ने कुरा नै पाएको छैन तर पनि शुल्क तिर्न वाध्य हुञ्छ भने, त्यो ठगियो नभनेर के भन्ने ? कम्तिमा पनि हामीले जानेको नेपाली शब्दकोषमा यहि शब्दले नै त्यो कुरा बुझाउँछ। अन्य जानकारले यो अवस्थालाई अर्को कुनै शब्दले दर्शाउन सकिञ्छ भन्ने सुझाव छ भने राख्दिनु होला।

केहि दृष्टांत हेरौँ र मूल्याङ्कन गरौँ।

जथाभाबी फोहोर फाल्न हुँदैन भनेर नसिकेको, नजानेको र नबुजेको को होला? तरपनि त्यहि शिक्षितले बसको झ्यालबाट या आफ्नो निजि गाडीको झ्यालबाट, जंगल, खोला या मैदान या बाटो; हरेक ठाउँमा फोहोर फाल्दै हिँड्छ! कारण, उसलाई बोध भएको छैन । प्रसङ्ग चल्दा अझै एउटा कठोर तितो यथार्थलाई उदारहणको रूपमा प्रस्तुत गरौँ : अहिले लोकसेवामा नाम निकालेर सरकारी काम गर्ने देखि लिएर प्रशासनको उच्च ओहोदाको कुर्सीमा बस्ने प्राय: सबै उच्चशिक्षा हासिल गरेका कर्मचारी छन् तर सबै भन्दा धेरै भ्रष्टाचार हुने ठाउँ पनि
त्यहि बनेको छ ।

आफ्नो आमा बाबालाई वृद्धाश्रम लगेर राख्ने पनि पढे-लेखेको मानिसले नै गर्दै छ, सामाजिक दायित्व, पारिवारिक मर्यादा नबुजेको जैविक रोबटको रूपमा परिवर्तन हुँदै छन् अहिलेको पिडि । उनीहरुलाई डाक्टर, इन्जिनियर, सी. ए. आदि त बनाउन सफल भएको छ अहिलेको शिक्षा प्रणाली तर एउटा जिम्मेवारी बोध भएको नागरिक र भावना देखि मानवता जीवित रहेको प्राणि भने किन दिन सकेको छैन होला? यँहा आएर के साबित हुञ्छ भने हाम्रो शिक्षण संस्थाहरु आफैँमा “फेल” भएका छन् । एउटा बालकलाई १५ देखि २० बर्षसम्म आफ्नो संस्थामा सिकाएर कथित शिक्षित बनाएर समाजमा छोड्दछन् तर त्यो मानिस समाजको लागि हानिकारक तत्व बनेको त छैन ? भन्ने तिर हाम्रो शिक्षण संस्थालाई चाँसो छैन । केवल महिनाबारी फिस र मार्कसिटमा धेरै अङ्क; त्यो मात्र अहिलेको शिक्षण संस्थाहरुको प्रमुख चाँसोको बिषय बनेको छ ।

हरेक बैसाखमा गत बर्ष धेरै अङ्कको साथमा उत्तीर्ण भएको बिद्यार्थीको तस्बीर सहित प्रचार गरिञ्छ, हाम्रो बिद्यालयबाट पढेकाले ठुलो पदमा जागिर खाएको छन् आदि सुनाइञ्छ। तर हाम्रो बिद्यालयबाट अगाडी आएका बिद्यार्थीहरु इमान्दार, नैतिकवान, देशप्रेमी छन् भन्न सक्ने सायद बिरलै संस्था होलान्। यस तर्फ सोँच नगए सम्म शिक्षाको जुन उद्देस्य हो, त्यो कहिल्यै पनि प्राप्त हुने छैन।

शिक्षा प्रणाली

समग्र देशभरिमा एकै किसिमको नै शिक्षा लागु गरिने प्रचलन छ। यो ठिक पनि हो। यसले देशमा कस्तो विचार, कस्तो चिन्तन राख्ने मानिस हुने भन्ने कुराको निर्धारण गर्छ। देश कुन दिशामा अग्रसर हुने ? भन्ने पनि त्यस देशको शिक्षा प्रणालीले नै निर्णय राख्छ। कुनै देशलाई भ्रष्टको संज्ञा दिइएको छ भने, खासमा के चिज भ्रष्ट भएर देश भ्रष्ट कहलिएको होला ? यदि पढेलेखे भनाउँदाको र अनपढ गँवार वा अन्य कुनै गुण्डा फटाहाको मानसिकतामा दुरुस्तै (ठगि, घूस जस्ता नकारात्मक) सोँच चल्छ भने त्यो शिक्षाले के दिलायो ? त्यस्तो शिक्षाले देशलाई कता तर्फ डोराउँदै छ, देशको बर्तमान कति अन्धकारमय भएको छ ? यहि तरिकाको शिक्षा नीति रही राख्यो भने देश कँहा पुग्ला? के यो देशमा कुनै त्यस्तो शैक्षिक संस्थाहरु छन् जसले एउटा जिम्मेवारी बोध भएको असल नागरिक बन्न पनि सिकाउँछ ? सँधै अङ्क थुपार्ने कुरामा केन्द्रित भएर अगाडी बढ्दा कस्तो अवस्थामा आइ सकियो? त्यति आँखा खुलेको छ होला कि त्यो आँखा पनि नखुल्ने अवस्थामा हालको शिक्षाले गिजोलेको होला ? अहिलेको शिक्षित/विज्ञ समुदायलाई पनि यो प्रश्नको समिक्षा गर्न आग्रह गर्दछौँ।।

संसार कति छिटो परिवर्तन भै रहेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि झन्डै २ सताब्दी अघिको स्तरमा छ । कुन मनस्थिति लिएर तयार गरिएको शैक्षिक पद्दति थियो ? के उद्देस्य बोकेर बनाइएको थियो ? निकै थोरैलाई थाहा छ । सन् १८२५मा जब युरोप(पश्चिमा विशेष गरि बेलायत) मुलुकहरुमा आर्थिक मन्दी छायो र संगसंगै त्याँहा आर्थिक उथलपुथल पनि भयो। उत्पादनको लागि हाते/मजदुरीलाई मेसिनले विस्थापन गर्ने युग पनि चल्दै थियो। त्यँहाको विज्ञहरु अनुसन्धान गर्न थाले र उनिहरुको निस्कर्ष उद्योग, कलकारखानामा काम गर्न जान्ने दक्ष कामदारहरुको कमि भएर उत्पादन हुन सकेन, बिक्रि वितरणमा ज्ञान नभएको भएर बिक्रि हुन सकेन। त्यसैले आफ्ना अर्थ प्रणाली सम्बन्धि मात्र शिक्षा दिने हिसाबले नयाँ शैलीको शिक्षा प्रणाली बनाइयो । त्यति बेला लगभग विश्व उनीहरुको उपनिवेश हुने गर्थ्यो । उपनिवेशी प्रवृत्तिकै सोँच राखेर संसार भरि त्यो शिक्षा प्रणाली लादियो। इण्डियामा थोमस बेबिङ्ग्टन मकालीले पनि यहि शिक्षाको माध्यमले इण्डियनहरुलाई मानसिक गुलाम बनाउन सकिने योजना अघि सारे। जसको उद्देस्य: “कार्यालयको कागजात सम्बन्धि र उद्योगको उत्पादन सम्बन्धि काम गर्न सक्ने तर आफु भन्दा माथिको निकायलाई प्रश्न सोध्न नसक्ने” दास मनोवृत्ति सिर्जना गर्नु थियो।

हालको शिक्षाको उत्पादन कौतुहल, जिज्ञासा मरेको मानव। कौतुहल(जिज्ञासा/प्रश्न सोध्ने क्षमता)नै मानिस र अन्य प्राणि बिचको फरक दर्शाउने गुण हो । कौतुहल छ, त्यसैले नै मान्छेले प्रगति गर्छ। आधुनिक विज्ञानको पिता मानिने आइनस्टाइनले एउटा अन्तरवार्तामा उनको ज्ञान, तीक्ष्ण बुद्धि र आविष्कारको कारण आफ्नो कौतुहल रहेको बताएका थिए ।

“अहिलेको शिक्षाले खासमा हामीहरुको क्षमता र कौतुहल सम्बन्धि काम गरेको छैन । परिक्षामा अङ्क ल्याउँदैमा त्यो मान्छे अव्वल छ भन्न मिल्दैन । यदि माछालाई रुख चढ्न नसके तिमी बुद्धु हौ, भन्दिने हो भने उसले आफुलाई जिन्दगि भरि बुद्धु सोच्ने छ र आफ्नो पौडीमा सर्वश्रेष्ठ कला सम्बन्धि भान पाउने छैन ” भन्ने उनको बहुचर्चित कथन मध्ये एक हो।

यसरी उद्योगपतिहरुलाई चाहिएको आधुनिक मानसिक दास उत्पादन गर्ने, प्रश्न सोध्ने बानि मारिने किसिमले शिक्षा प्रणाली अगाडी सारियो, जुन आइन्स्टाइनको पालामा पनि थियो र अहिले पनि छ। आइन्स्टाइनले पछि विद्यालय छोडेर घरमा अध्ययन गरेर आफुलाई विकास गरेको थिए। आधुनिक सोधकर्ताहरुका अनुसार, एउटा ४ बर्षको बच्चाले दिनमा औसतमा ३००वटा प्रश्न सोध्छ। अनि योजनावद्ध रूपमा बच्चालाइ विद्यालय पनि त्यहि उमेरबाट पठाइञ्छ । उसलाई शिक्षकले एउटा हातले आफ्नो ओँठ थिचेर चुप- चाप बस्ने इशारा दिन्छ र अर्को हातमा लौरो देखाएर तर्साएको हुन्छ । सायद आजभोली लौरो देखाइन्न होला तर पनि पनिस्मेंट(सजाए)को डर उसको मानसपटलमा छिराइएको हुञ्छ । यो डरले उसको प्रश्न सोध्ने बानि मार्दिन्छ।

डाक्टर ब्रुस लिप्टनको अनुसार एउटा बच्चाले ७ बर्षको उमेर सम्म जे सिक्छ, त्यहि अनुरुप उसको संसार बन्छ । यदि ३ बर्ष बाट नै प्रश्न सोध्ने खुबी मारियो भने, कौतुहल मरेको जैविक रोबोट तयार हुने नै भयो । जसले कहिले पनि प्रश्न सोध्ने आँट गर्दैन। यस्तो जमात थुप्रिए पछि जसले जे गरे पनि आवाज उठ्ने भएन। त्यहि अनुरुप पश्चिमाहरुले शिक्षा नीति फैलाए र हामी त्यहि अनुरुप बनेका छौँ। जसले जे गरे पनि हामीहरु आवाज उठाउन सक्दैनौँ। नेताले ठग्यो भन्ने थाहा छ, को को प्रतिनिधिहरु चोर हो भन्ने थाह छ, तर हामीमा आवाज उठाउने, प्रश्न सोध्ने जाँगर छैन। हामी भेँडामा परिणत भै सक्यौँ। र हाम्रो शिक्षा नीतिलाई बधाई छ। यहि अवस्था संसारभरी छ। त्यसैले, सरकारले जति सुकै अन्याय गरेपनि सहने सबैको प्रकृति बनि सकेको छ। गरिब झन् झनै गरिब बन्दै छ, धनिले चाहिने भन्दा धेरै संचय गर्दै छ। सरकारसंग मिलेमतोमा नागरिकबाट लुकाएर, कर छलेर पैसा पचाउने प्रचलन हरेक देशमा बनि सकेको छ। किनकि चिट चोरेर अङ्क थुपार्ने तालिम त सानैबाट ठगि केन्द्र(विद्यालय)ले सबैलाई दिने गरेको छ।

याँहा ती पश्चिमा देश जसले त्यो शिक्षा पद्दति निर्माण गरे उनीहरु सम्वृद्ध छन्त र हामी किन छैनौँ ? भन्ने प्रश्न जागेमा तपाईंको कौतुहल जगाउने उद्देश्य पुरा भयो भन्ने सौभाग्य हामीलाई मिलेको छ। तर जागेन भने, शिक्षाले बिगार्यो भनेर बुझ्नु होला।

उत्तर: त्यो, उनीहरुले आफ्नो स्वार्थ हेरेर तयार पारेको शिक्षानीति भएर हो। हाम्रो शिक्षानीति पनि आफ्नो देश परिवेस हेरेर तयार पारिनु पर्छ। अब शिक्षण संस्थाहरुले भेँडा, अमानव, देशघाती थुपार्ने कि देशलाई आवश्यक परेको जनस्रोत उत्पादन गर्ने ? निर्णय राख्ने समय आएको छ। शिक्षामा सुधार ल्याएर समाज र देशलाई आफ्नो ऋण तिर्ने र गुण लगाउने समय आएको छ। सबै तयार भएर यस बिषयलाई गम्भीर ढंगले मनन गरेर अगाडी बढ्न जरुरी देखिन्छ । देशको अवस्था कता जाने कस्तो बन्ने निर्णय राख्ने समय आएको छ । शिक्षा विकारे सकलो विकारः शिक्षा सुधार सकलः सुधारः ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट