पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री र अरु मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरे। तर युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले गरेका छैनन्। भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको २ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो। तर, मनाङले अझै बुझाएका छैनन्।
मन्त्री नियुक्त भएको ९० दिन पुगेको अवसरमा खेलकुदमन्त्री मनाङले आइतबार पत्रकार सम्मेलन गरेर आफूले गरेको कामका साथै आगामी योजनाबारे सुनाए।
कार्यक्रमको अन्तिममा उनलाई सोधियो, ‘सबै मन्त्रीले सम्पत्ति विवरण बुझाइसके, तपाईंले किन बुझाउनु भएन? मन्त्री मनाङले भने आफूसँग के छ? के छैन भन्ने नै प्रष्ट नभएको बताए।
‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु,’ उनले भने, ‘जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको छु। मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन्।’
कुनै समय गुण्डा नाइके भनेर समेत चिनिएका मनाङेले ‘केटा’हरूलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट फिर्ता नआएको उनले बताए। ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गर्देको छु। धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भने, ‘मेरो नाममा केही छैन। आउनेवाला छ भनेर लेख्न पनि गाह्रो!’
२०५६ सालभन्दा अगाडि जोडेको केही सम्पत्ति रहेको, तर त्यसमा पनि मुद्दा मामिला परेको उनले बताए । ‘जसलाई मैले बैना हान्यो, बैना गर्ने मान्छे पनि ठगै रैछ, त्यस्तो मुद्दावाला ३–४ वटा प्रोपर्टी छ,’ उनले भने, ‘त्यो प्रोपर्टी पनि अहिलेको होइन, पहिलेकै दामवाला हो । एक–डेढ लाखवाला।’
मनाङेले २०७० सालमा अवैध सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खोपेका थिए । २०७४ सालमा विशेष अदालतबाट सफाइ पाएका उनी प्रहरीले ‘रिस’ गरेर मुद्दा हालेको बताउँछन्।
चिया खान पनि पुग्दैन
युवा तथा खेलकुदमन्त्री मनाङेले मन्त्रीको तलब भत्ताले चिया खान समेत नपुग्ने गरेको बताए। त्यसैले अब व्यापार गर्ने सोच बनाएको उनले सुनाए। ५८ सालदेखि व्यापार छाडेको भन्दै उनले भने, ‘अब फेरि व्यापार गर्ने ट्राइ गरिरा’छु। भात त खानुपर्यो हेर्नुस् । यो पैसाले त चिया खान पनि पुग्दैन।’
तर सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने भन्ने प्रश्नको प्रष्ट जवाफ भने दिएनन्। ‘म त गइहालें। तपाईंहरु एकैछिन बस्दै गर्नुस्’ भन्दै उनी बाहिरिएका थिए।
मनाङबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य मनाङे १६ वैशाखमा पहिलो पटक मन्त्री बनेका थिए। मन्त्री नियुक्त गरेको १० दिनमै राजीनामा दिए। जेठ ९ मा फेरि गुरुङ त्यही मन्त्रालयमा दोहोरिए।
तर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने क्रममा उनले क्याम्प परिवर्तन गरे। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउन निर्णायक बनेका उनी २९ जेठमा मन्त्री बने।