सोमवार, भदौ २१, २०७८
देशको स्थायी निकास र सबल राष्ट्र निर्माणको निम्ति पुनर्जागरण आन्दोलन

देशको स्थायी निकास र सबल राष्ट्र निर्माणको निम्ति पुनर्जागरण आन्दोलन


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २१, २०७८

बिनोदकुमार राई

प्रकृति र मानबताको बारेमा बिचारहरुको एक संश्लेषित बिश्व दृष्टि हो। कला, दर्शन र राजनीतिमा क्रन्तिकारी बिकाश र ज्ञानको केन्द्रबिन्दूको उपयोग गरी मानिसहरु ब्राह्ममण्ड बुझ्न र आफ्नो स्थिति सुधार गर्नु मानबताको लक्ष्य, स्वतन्त्रता र खुशीको रूप हो पुनर्जागरण। मन भित्रको फोहोर फाली शुद्दता हुनु हो पुनर्जागरण। खराब बिचारहरु लाई हटाई ज्ञानको दिब्य ज्योती भर्नु हो पुनर्जागरण। आत्मिक रुपमा बुद्धत्व प्राप्त गर्नु हो पुनर्जागरण।

अबको हाम्रो यात्रा पुनर्जागरण अभियान हो यसको बिकल्प छैन। देशमा एक पछी अर्को ब्यबस्था परिबर्तन सँगै देश झन झन संकटमा फस्दै गईरहेको छ। मेरो बाजेको पुस्तलाई राणा शासन गए पछी राम राज्य आउँछ भन्ने लागेको थियो तर राम राज्य आएन। मेरो बुवा पुस्तालाई पंचायत गए राम राज्य आउँछ भन्ने लागेको थियो तर राम राज्य आएन। मलाई  २०६२/०६३ को जन आन्दोलनमा काठमाण्डुको सडकमा दिनहुँ जिन्दाबाद र मुर्दाबाद भन्दै गर्दा गणतन्त्र आए पक्कै राम राज्य आउँछ भन्ने लागेको थियो तर राम राज्य आएन हामी तीन पुस्ता गलत भयौ हाम्रो जीबनका सत्य धेरै पटक बदलिए ।

आज देशमा भएको संकटको धेरै कारण भए पनि अहिले मुख्य दुई कारणको चर्चा गरौँ बाह्य (External) र आन्तरिक(Internal) पहिले बाह्य (External): बिदेशी हस्तक्षेपको पराधीन इतिहासबाट गरौँ । सन १८१४ मा नेपाल लाई ब्रिटिसले आक्रमण गर्यो, सन १८१५  मा युद्व बिराम गर्ने मलौन सन्धि भयो, यही सम्झौताले नेपाली युवालाई भाडाका सैनिक बनाउने प्रचलन सुरु भयो। नेपालले झण्डै एक तिहाई भूभाग जमीन गुमायो ।

यस्को जगमा सन १८१६  मा ईस्ट इण्डिया कम्पनी र नेपाल बिच सुगौली सन्धि भयो। यहाँ बाट नेपाल नब औपनिबेशिक युगमा प्रबेश गर्यो त्यसपछि नेपालको राज्य प्रणाली स्वाधीन छैन, करीब मुख्यत डेढ दर्जन बिदेशी सन्धि सम्झौताहरुले नेपाललाई गुलामको जंजीरमा बाँधेको छ। राज्य ब्यबस्था र राज्य निर्देशित सिद्धान्तहरु त्यसै अनुसार बिकास गरिएका छन। यहाँ जति आबरणका सरकार बने पनि राष्ट्र र नागरिकका समस्याहरु समाधान नहुनुको कारण यही हो।

२०४  बर्ष देखी हेपिएको इतिहास बोकेर बाच्न बिबस छन नेपाली। बीर समसेरले नेपाली युवा बेच्ने सनद जारी गर्यो, देब सम्शेरले हरेक नेपाली युवा ब्रिटिसको सेवा गर्नु भन्ने हुकुम गर्यो। पहिलो बिश्व युद्दमा दुई लाख पचास हजार नेपाली युवा युद्दमा निकालिए ८६ हजार मरे, दोस्रो बिश्व युद्दमा चार लाख नेपाली युवा निकालिए दशौ हजार मरे । सन १९५०  मा मोहन सम्शेरले भारत संग सन्धी गर्यो, नेपालको मन्त्री परिषदमा भारतीय सचिब आए, नेपालमा भारतीय सेना आयो, देश दिल्लीको निर्देशनमा चल्न थाल्यो। सन १९५६ मा सिल भन्ने बिदेशी संस्था आयो नेपालको भाषा समाप्त पार्यो, सिआईएले खम्पा बिद्रोहको लागी नेपाली भूमि प्रयोग गर्यो ।

२०२८ सालमा नयाँ शिक्षाका नाममा नेपाली इतिहास, पहिचान र मौलिकता समाप्त पार्यो। २०४७  सालपछी नबउदारबादका नाममा देशको उद्योग, कलकारखाना र ब्यापार समाप्त पार्यो। कोशी, महाकाली, कर्णाली, गण्डक सन्धि देखी ब्यापार सम्झौता, अन्तमा १२ बुद्दे दिल्ली समझौता,अहिले एमसीसी छ। देशको प्रमुख राजनीतिक दलहरुलाई एनजीओले चलाउँछ ।देश बिदेशिको लूटको शिकार भएको छ, निरीह भएको छ, संकटले ग्रस्त छ।सत्ता पक्ष, सत्ता बिपक्ष पार्टीका नेताहरुलाई यो देशको दुराबस्था प्रति कसैलाई चिन्ता छैन। कसैको मुटु दुख्दैन सबै आफ्नै स्वार्थमा मग्न छ।

दोश्रो आन्तरिक (Internal):हाम्रो आन्तरिक समस्या भनेको आज हामीसंग आफ्नो मौलिक सोंच, बिचारधारा, मूल्य-मान्यता र जीबन पद्धति छैन। हाम्रो माटो, भूगोल, संस्कार, संस्कृति, पहिचान, परम्परा बाट पराई बन्दै गयौ। हाम्रो सभ्यता र इतिहासमा जे थियौ अहिले त्यसमा रहेको आफ्नोपन गुमाएको छौ । नब-उदारबाद, चरम उपभोक्ताबाद, आधुनिकताबाद, पूँजीबादले हाम्रो मौलिक चिन्तन, बिचार, मूल्यहरू मासिएको छ। जीबन पद्धति नष्ट भएको छ। मनोबिज्ञान भत्किएको छ।

देश र समाजका लागि पराई मानिस बन्दै गएको छौ। हाम्रो चिन्तन प्रणाली पूर्णरुपमा यान्त्रिक, आयातित र पराईपनमा आधारित छ। दार्शनिक चिन्तन, राजनीतिक चिन्तन, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक सबै क्षेत्रको चिन्तनमा नग्न भौतिकबाद र बिदेशीपन छ। चिन्तन प्रणालीमा आएको स्खलनका कारणले नेपालीहरुको मनोबिज्ञान बिस्तारै खण्डित हुदै गएको छ। जसका कारण मानिसहरु स्वार्थी, द्वेषपूर्ण, बिग्रहकारी, कुण्ठाग्रस्त, अनुतरदायी बन्दै गएका छन। नेपालले आधुनिकतामा प्रबेश गरेको ६० बर्ष भयो तरपनि देश गरीब छ, जीर्ण छ, जरा मरेको रुख जस्तै छ।

नेपाली शिक्षाले डन, नाइके, सरदार, माफिया, दलाल, भ्रस्टाचारीलाई समाजले सम्मान गर्ने संस्कृति निर्माण गरेको छ भने किसानको अपमान गर्ने, मजदुरको अपमान गर्ने, श्रम गर्नेलाई हेप्ने, भाग्य बादको कुरा गर्ने, बिदेशी उत्पादनलाई माया गर्ने, स्वादेशी उत्पादनलाई घृणा गर्ने सोचको निर्माण गरेको छ । यहाँ दलिय सिद्धान्तले राष्ट्रलाई सर्बोच्च मान्दैन, यो दलिया सर्बोच्चताको सिद्धान्तमा आधारित छ। देश र नागरिक भन्दा दल ठूलो हो भन्ने मान्यताको आधारमा दलहरुका वरिपरी जनतालाई बिभाजित गरिएको छ। दलका अपराधहरुको बिरोध गर्नुलाई प्रजातन्त्रको बिरोधका रुपमा परिभाषित गरिएको छ। सत्ता प्राप्तिका लागि जस्तोसुकै अनैतिक र आपराधिक कामपनि सही हुन्छ भन्ने सोचका आधारमा दलीय शासनको अभ्यास गरिएको छ। सत्ता र पद राजनीतिकको अभिष्ट भयो।

माथि उल्लेखित समस्याहरुको समाधान:सुगौली सन्धिको कालो इतिहासबाट हाम्रो देश अर्ध स्वतन्त्र रही आएको छ। बिभिन्न सन्धि सम्झौता हामीमाथि जबर्जस्ती थुपार्ने र हामीलाई सधै निरिह, परनिर्भर एंब उठ्न नपाउनेगरी बन्धनमा राखिएको छ ती सबै असमान सन्धि सम्झौताको जालोको युग तोड़ने र पूर्ण स्वतन्त्र र स्वाधीन देश निर्माण गर्ने। कुनै पनि बाद, दल,ब्यक्ति वा संगठन “राष्ट्र” भन्दा ठूलो हुँदैन। राष्ट्र पहिलो भन्ने सिद्धान्त सबैले अबलम्बन गर्ने। अबको राजनीतिलाई दिशा निर्देश गर्ने सिद्धान्त यही हो। हरेक मुद्दामा निर्णय गर्नु पूर्ब देशको हितलाई सर्बोपरी राखी निर्णय लिनु पर्छ। हाम्रो गौरबशाली इतिहास, परम्परा र पुर्खाको बिरासत पुन: जगाउने पुनर्जागरण आन्दोलन गर्ने।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट