शनिबार, भदौ १९, २०७८
महिला अधिकार र सुखी दाम्पत्यको प्रतीक पर्व तीज र गौरा !

महिला अधिकार र सुखी दाम्पत्यको प्रतीक पर्व तीज र गौरा !

तीज र गौराको सामाजिक सद्भाव र आर्थिक क्रियाकलापमा पनि उत्तिकै प्रभाव हुन्छ ।


  • डा. बाबुराम ज्ञवाली
  • शनिबार, भदौ १९, २०७८

डा. बाबुराम ज्ञवाली

पति पत्नीको प्रेमलाई संस्कारयुक्त बनाउन, पारिवारिक सम्बन्ध दिगो राख्न र सुखी दाम्पत्यका लागि हाम्रा पुर्खाहरुले गौरा, तीज, छठ, अक्षय तृतीया, विवाह पञ्चमी, वट सावित्री, स्वस्थानी जस्ता अनेक चाड पर्वहरु निर्माण गरेका छन् ।

यी सबैका नाम तिथिमा आधारित छ । चन्द्र तिथिमा । स्वयं चन्द्रमा पनि प्रेमको प्रतीक हो । यी सबैमा प्रमुख एक चाड हो– हरितालिका तीज ।हरितालिकाको एउटा अर्थ हुन्छ– दुबो । लामो खडेरीले पनि दुबो मर्दैन । तर अलिकति पानी पायो कि पुनः हरियाली सहित मौलाउन थाल्छ । त्यसै गरी दाम्पत्य जीवन पनि हो । यसमा साना तिना अप्ठ्यारा आउन सक्छन् तर यसमा दुबो जस्तो एक आन्तरिक शक्ति रहिरहोस् । समय पाएर पुनः त्यो आफ्नो मौलिक रुपमा विकसित हुन सकोस् । मौलाओस् । हरियाली प्रसन्नताको प्रतीक हो ।

तीज जस्तै गरी सुदूर पश्चिममा मानिने पर्व हो गौरा । दुवैको समय मात्र होइन ऐतिहासिक र पौराणिक आधार पनि एउटै छ । सतीको आत्महत्या पछि निराश एक्लो बनेर बसेका भगवान शिवसंग विवाहको अठोट गरेकी पार्वतीको प्रेमसंग यसलाई सम्बन्धित गरिएको छ । पार्वतीका पिताले भगवान् विष्णुलाई वाग्दान गरिसकेपछि असन्तुष्ट बनेकी पार्वतीलाई सहयोग गर्न उनका अलि अर्थात् सखीहरुले हरित अर्थात् लुकाएर राखेको दिनको संझनामा हरितालिका तीज मानिन्छ ।

तीजलाई शिव पार्वतीसंग सम्बन्धित गर्नाको एउटा रहस्य सभ्यता संग गांसिएको छ । शिव पार्वती सभ्यताको पहिलो उद्बोधन पनि मानिएका छन् । सबभन्दा पहिलो मानव अवशेषलाई सुरुमा मानवशास्त्रीहरुले शिवपिथेकस भन्ने गरेका थिए । सिन्धु सभ्यता विश्वमा सर्वाधिक पुरानो सभ्यता मानिएको छ । सिन्धु भन्ने शब्द इन्दुबाट बनेको छ । इन्दु र पार्वती एक अर्काका पर्याय पनि हुन् । नेपाली संस्कृतिको प्राचीनता हेर्दा यो मूलतः शैव प्रभावित देखिन्छ । लगभग १२०० वर्ष पूर्व यो संस्कृति उत्तरमा अफगानिस्तानदेखि दक्षिणमा श्रीलङ्कासम्म फैलिएको थियो । यदि पार्वतीले शिवसंग विवाह नगरेको भए यो सभ्यता विकसित हुन पाउने थिएन । त्यसैले तीजको चाड मानव सभ्यताको प्रतीक पनि हो ।

विष्णु जस्तो रुपवान्लाई छोडेर एक विधुरसंग विवाह गर्न पार्वती किन तैयार भइन् ? यसका पछाडिको कथा स्वस्थानीमा विस्तृत वर्णन पाइन्छ । यो रामायण पछि नेपालीमा सबभन्दा बढी पढिने पुस्तक हो । यसमा भएको वर्णन अनुसार, देवताहरु असुरहरुको अन्याय, अत्याचार र मनपरीबाट आजित थिए । अनि त्यस असुरको मृत्यु केवल शिवको सन्तानबाट हुनसक्थ्यो । तर शिव विधुर थिए । सती वियोगले दुखी र वीतराग भइ कठोर तपस्यामा मग्न थिए । शिवको मनोविज्ञानलाई तीनलोकको सबभन्दा सुन्दर र सुशील कन्याले मात्र परिवर्तन गर्नसक्थ्यो । त्यसैले दैवी सभ्यता बचाउन पार्वतीले एक अठोट गरिन् । योगदान गरिन् । उनले यो विवाह लोक कल्याणका लागि गरेकी हुन् । सृष्टिको स्थायित्वका लागि गरेकी हुन् । देवताहरुको अनुरोधका कारण गरेकी हुन् ।

विवाहका तीन उद्देश्य मानिन्छन्, धर्म, प्रजा र रति । तर भगवान शिव र पार्वतीको विवाह लोक कल्याणका लागि भएको थियो । त्यसैले भगवान शिवको विवाहमा सारा चराचर जगत प्रसन्न थियो भन्ने कथा स्वस्थानीमा वर्णित छ । स्वास्थानीमा लेखेको छ– यति विचित्रको विवाह तीनलोकमा यस अघि कहिल्यै भएन र अब भविष्यमा पनि त्यो हुने छैन । यदि कसैले लोककल्याणका लागि विवाह गर्छ भने त्यो विवाह अनुपम हुन्छ नै । शिवका लागि विवाहको उद्देश्य न प्रजा थियो, न रति । विवाहको एक मात्र उद्देश्य थियो धर्म अर्थात् लोककल्याण । शिवले विवाह अघि नै काम विजय गरिसकेका थिए भनेर समेत कथामा स्पष्ट उल्लेख छ । प्रजाका लागि मदनले काम बाण चलाउनु परेको थियो ।

यस पर्वलाई महिला अधिकारको पर्व पनि भन्न सकिन्छ । पार्वतीले आफुलाई मन नपर्ने वरसंग विवाह गर्न स्पष्ट अस्वीकार गरेको कथा तीज पर्वसंगै जोडिएको छ । पार्वतीका बाबु आमाले कन्याका लागि उत्कृष्ट वर खोजी गर्छन् । उनीहरुले सुन्दर, नाम चलेका, सम्पन्न वरको खोजीको क्रममा विष्णुलाई उचित ठान्छन् तर पार्वतीले शिवलाई नै मन पराउंछिन् । कथामा भनिए अनुसार त्यस समयमा पार्वती जति सुन्दर अर्को कोही थिएन । यस लोकमा मात्र होइन तीनै लोकमा । तर उनले मन पराइन् यस्तो वरलाई जो कुनै पनि कुरामा विष्णु बराबर देखिंदैनथे । सूरतमा न सीरतमा । एकातिर नङ्गा शिव अर्कातिर तीन लोकका स्वामी, सुन्दरताका खानी विष्णु । त्यस्ता शिवसंग फूलको शैयामा हुर्केकी कन्या विवाह गरीदिन बाबु आमा तैयार थिएनन् ।

पार्वतीको चाहना आमाबाबुले पूरा नगर्ने । बाबु आमाको इच्छा अनुसार गर्दा उनको इच्छा पूरा नहुने । उनले एक सौम्य विद्रोह गरिन् । पार्वतीका सखीहरुले उनलाई लुकाई दिए । बाबु आमा छोरीको चाहना पूरा गर्न राजी भए पछि उनी फर्केर आइन् । यसरी उनले आफ्नो अधिकार पनि प्राप्त गरिन् । र बाबु आमासंग समन्वय पनि मिलाइन् । आफ्नो अधिकारका लागि उनले समझौता गरिनन् । विद्रोह पनि सन्तुलित र केवल अधिकार प्राप्तिका लागि मात्र गरिन् । त्यसैले पछि बाबु आमाले पनि त्यो कुरा स्वीकार गरे । अनि शिवपार्वतीको विधिपूर्वक विवाह भयो ।

तीजमा चेलीबेटी लिन जाने परम्परा थियो । समयले कागजको चिर्कटाले जान्न बरिलै गीत तिथिबाह्य बनाइदिएको छ । यातायात र सञ्चार आफ्नो अधिकतम उचाईमा पुगेको वर्तमान समयमा लिन जाने परम्परामा सामान्य परिवर्तन आइसकेको छ ।

तीज पर्वका दुई भाग छन् । दरखाने र उपवास गरी नाच गर्ने । दरखाने कुरा मिठो खानपानसंग सम्बन्धित छ । तीजको दर एक दिन अघिको कुरा हो । सबै परिवार मिलेर खानाको आनन्द लिन्छन् । अर्को दिन अनुशासनपूर्वक उपवास गर्ने । तीजको दिन पार्वती र शिवको दर्शन गरेर मानव सभ्यताका प्रवत्र्तकहरुलाई सम्मान प्रकट गरिन्छ । त्यस पछि चेलीहरुले आफ्ना सखीहरुसंग बाल्यकालका संझना ताजा गर्ने, माइतीमा आफ्ना माता पिता दाजुभाईसंग भलाकुसारी गर्छन् । सार्वजनिक स्थानमा जम्मा भइ मनको बहको रुपमा गीत गाइने हुंदा यस जमघटमा सबै समावेश हुन्छन् । पचास वर्ष अघि चेलीबेटीले दुख पाएका, मनको बह पोखेका गीत आज सुन्न दुर्लभ हुन थालेको छ । त्यसैले केही लेखिकाहरुले टिप्पणी गरेका छन् अघि दुख साट्ने गीतका भाका हुन्थे आज मस्ती र सुख साट्ने गीतका भाका छन् । ऋषिपञ्चमीमा सभ्यता प्रवत्र्तक ऋषिहरु प्रति महिलाहरुले सम्मान व्यक्त गरेर पनि गीत गाउँछन् तर त्यसमा एक प्रकारको सीमारेखा हुन्छ । केवल प्रार्थना र ऋषिसभ्यताका लागि त्यो गीत रचना गरिएको हुन्छ । तीजमा त्यस्तो छेकबार केही छैन ।

प्रेम र बिछोडका, सुख र दुखका, हँंसीमजाक र छेंड व्यंग्यका सबै गीत स्वीकृत भइसकेका छन् । गीत र भिडियोलाई मर्यादित बनाउन केही गायकगायिकाहरुले आह्वान पनि गरिरहेका छन् तर यूट्युबमा तीजका रोजा गीत भाइरल भइरहेका छन् । यसका नकारात्मक पक्ष भएपनि सहभागिता वृद्धि भएको कुरालाई नकार्न सकिंदैन ।

नेपालका कतिपय स्थान जस्तै पोखरा, कपिलवस्तु इत्यादि स्थानहरुमा मुस्लिम नारीहरुले गीतको भाका र तालमा साथ दिएका मात्र नभइ गीत नै रचना गरेको र भाका हालेर गाएको पनि देख्न पाइन्छ ।

खानपानका चक्र पनि पहिलेका जस्ता छैनन् । नेपाली चेली संसारभरि फिंजिएका माइत पुग्न धेरै लामो कार्यक्रम बनाउन पर्ने झमेलाले गर्दा नजीकैका मित्र, दिदीबहिनी, साथी भाई वा नेपाली संगठनहरुले तीज मिलन कार्यक्रम गरेका छन् । उहिले चेलीबेटीले घरको दिक्क लाग्दो उत्तरदायित्वबाट मुक्त हुन पनि तीज मनाउंथे अब त्यस्ता उत्तरदायित्वको चक्रको दिशा विस्तारै परिवर्तन भएको छ । जनसंख्या वृद्धत्वका आधुनिक समस्याले गर्दा अब चेलीहरुले होइन आमाहरुका हैरानीका दिन आइसकेका छन् । छोरीले बोलाइदिएमा एक छाक मीठो खान पाइन्थ्यो भन्ने आमाहरु पनि भेटिन थालेका छन् ।

यस पर्वलाई अखण्ड सौभाग्यको पर्व भनिन्छ । पत्नीको कारणले नै पतिका भाग्य असल वा खराब हुन सक्छ । सावित्रीले गर्दा सत्यवान्ले पूर्णायु प्राप्त गरेका हुन् । नलले आफ्नो ऐश्वर्य र राज्य दमयन्तीको प्रेम शक्तिले गर्दा प्राप्त गरेका हुन् ।

यस्ता अनेक उदाहरण आज पनि पाइन्छन् । नेल्सन मण्डेलाले जेलमा २८ वर्ष सजिलो गरी बिताउनुमा उनकी पत्नी बिन्नी मण्डेलाको हात थिएन भन्न सकिन्छ ? पत्नी हिलारीले छाती नथापिदिएको भए अमेरिकाका राष्ट्रपति बिल क्लिन्टनले संसदमा महाभियोग झेल्न पनि सक्थे । जुन उनका जीवनभरको कलङ्क साबित हुने थियो । बी पी कोइरालाले स्पष्ट शब्दमा भनेका छन्– मेरो पत्नीको स्प्रीचुआलिटीले नै मलाई आफ्नो कार्यमा बल प्रदान गरेको छ ।

विशिष्ट मानिस मात्र होइन सामान्य मानिसको दिनचर्या, जीवनचर्या र क्रियाकलाप दाम्पत्य सम्बन्धमा आधारित हुन्छ । यसैलाई स्पष्ट गर्न विवाह संस्कार तथा दाम्पत्य र परिवार सुखका प्रतीक विभिन्न चाड हाम्रो समाजले रचना गरेको छ ।

दाम्पत्य जीवनमा बांधिंदा पति पत्नीले संस्कार मन्त्रको रुपमा निम्नलिखित प्रतिज्ञा व्यक्त गर्छन्–

पतिले गर्नु पर्ने प्रतिज्ञा–

१. आफ्ना शरीर सरह मान्दै श्रीमतीको सुख सुविधो ध्यान राख्ने छु र पत्नीव्रत धारण गर्नेछु । २. प्रसन्नतापूर्वक घरको सबै अधिकार प्रदान गर्नेछु । ३. पत्नीको असल मित्र को रुपमा व्यवहार गर्ने छु । ४. घरको आमदानी खर्चको बारेमा पूरा पूरा सरसल्लाह गर्नेछु । ५.पत्नीको व्यक्तिवमा आंच आउने गरी कटुवचन बोल्ने छैन ।

पत्नीले गर्नु पर्ने प्रतिज्ञा–

१. पतिको परिवारको प्रतिष्ठाका लागि सम्पूर्णरुपमा जीवन अर्पण गर्नेछु । २. आलस्य त्याग गरेर परिश्रमपूर्वक र प्रसन्नतापूर्वक घर गृहस्थीको जिम्मेवारी स्वीकार गर्छु । ३. पति प्रति श्रद्धाको भावलाई राख्दै पतिव्रतधर्मो पालन गर्नेछु । ४. सेवा, स्वच्छता, र प्रियभाषण र अनुशासन कायम राख्नेछु । ५. पतिका पूज्य र श्रद्धा पात्रहरु प्रति सेवा र विनयभावद्वारा सन्तुष्ट राख्नेछु ।

चाडपर्वले मानिसको सौन्दर्य चेतनाको विकास हुन्छ । जसलाई एस्थेटिक सेन्स भनिन्छ । चाडपर्वसंग गीत, संगीत, चित्रकारिता, सुन्दरता यी सबैको कलात्मक प्रयोग गांसिएको हुन्छ । त्यसैले नीतिश्लोकमा भनिएको छ–

आहार, निद्रा भय मैथुनं च समानमेतत् पशुभिर्नराणाम् ।
धर्मेण हि अधिको विशेषो धर्मेण हीना पशुभिसर्मानाः ।।

दाम्पत्य र परिवार सुखसंग सम्बन्धित चाडपर्वले यिनै कुराहरुलाई नवीकरण गर्दै जान्छन् । त्यसमा सम्पूर्ण परिवारको कल्याणको भावना समेटिएको हुन्छ । सोही अनुरुप चाडपर्वका विधिविधान बनेका छन् ।

तीजका अनेक रुप छन् । यसलाई पञ्जाबी, गुजराती र मारवाडी समुदायले समेत मनाउंछन् । तर यी सबैमा नेपाली परम्पराको तीज विश्वभरि चर्चित बनेको छ । नेपालको प्रत्येक शहर र गाउँमा यसलाई जति उत्साह र सहभागिताका साथ मनाइन्छ ।

नाचगान, झूला रमाइलो र सामूहिक भेटका कारणले सबै नेपालीहरु यसमा सहभागी हुनसक्छन् । वर्ण, जात, उमेर, भाषा, समुदाय जस्ता कुराले यसमा सहभागितालाई छेक्दैन । त्यसले यस पर्वलाई राष्ट्रिय पर्वको दर्जा प्रदान गर्छ ।

अहिले नेपालीहरुका साथ तीज पनि विश्वभरि छरिएको छ । र सबै देशहरुमा रमाएर तीज मनाएको सामाजिक संजालमा देख्न पाइन्छ । नेपालमा जत्तिकै राम्रो गरी बर्मा, भारत र भूटानमा तीज मनाइन्छ ।

तर तीज, गौरा वा अन्य चाडपर्व केवल संस्कार, परम्परा वा केवल धर्म मात्र होइन । यसको सामाजिक सद्भाव र आर्थिक क्रियाकलापमा पनि उत्तिकै प्रभाव हुन्छ । मानिसहरुले चाडपर्वमा अन्य समयभन्दा बढी खर्च गर्छन्, विशेष कुराहरु खर्च गर्छन् । यसले मागवृद्धिको एउटा चक्र प्रारम्भ हुन्छ । जसलाई अर्थशास्त्रीहरुले बेवास्ता गर्न सक्दैनन् । कुनै देशको अर्थव्यवस्था आय, उत्पादन र रोजगारद्वारा नाप गरिन्छ । तीज बजार लागे पछि कपडा, गहना, खानेकुरा यी सबैको माग बढ्छ । अनिवार्य वस्तु मात्र होइन आरामदायक र विलासिताका वस्तुको समेत माग बढ्छ ।

त्यसैले बजार झकिझकाउ हुन थाल्छ । व्यापारीहरुले पसलमा सामान भर्छन् र उपभोक्ताहरुले यस समयमा उनीहरुलाई चाहिने तत्तत् वस्तु पाइन्छन् भन्ने विश्वास गर्छन् । नगद मात्र होइन उधारो कारोबार पनि तीव्र हुन्छ । नगद कारोबार गर्न बैंक र वित्तीय संस्थाहरु कार्यरत हुन थाल्छन् । यसले अर्थव्यवस्थाको आय उत्पादन र रोजगार बढ्न जान्छ । उत्पादन, बिक्री वितरण र उपभोगको चक्र गतिमान हुन्छ । यस चक्रले आर्थिक क्रियाकलापको चक्र पूरा हुन्छ ।

त्यसैले बजार, अर्थव्यवस्था, उत्पादन, उपभोग, आय, उत्पादन र रोजगार सबै दृष्टिले तीज एक महत्त्वपूर्ण पर्व हो । त्यसैले संस्कृति, परम्परा, र धर्मका लागि मात्र होइन आर्थिक समृद्धिका लागि पनि राष्ट्रिय चाडपर्व आवश्यक छन् । तर अनन्त आवश्यकता, सीमित साधन र किफायतपूर्ण उपयोगको आर्थिक नियम चाडपर्वमा पनि लागू हुन्छन् । चाड पर्वको केन्द्रीय सन्देशलाई अधिकतम उपयोग गर्दै कम खर्चमा बढी उपयोगिता प्राप्त हुने गरी खर्चलाई व्यवस्थित गरेर मात्र चाडपर्वको अधिकतम आनन्द लिन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट