शनिबार, जेष्ठ २९, २०७८
दीपक मनाङेसहित विपक्षी दलका ३१ सांसद् किन गए प्रदेश प्रमुखको कार्यालय ?

दीपक मनाङेसहित विपक्षी दलका ३१ सांसद् किन गए प्रदेश प्रमुखको कार्यालय ?


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ २९, २०७८

पोखरा – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित विपक्षी पार्टीका सांसदहरू पोखरास्थित प्रदेश प्रमुख कार्यालय पुगेका छन्।

निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा दावी गरेपछि विपक्षीहरू प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दावी पेश गरेको विपक्षी गठबन्धन ठहर छ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहितका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

टोलीमा स्वतन्त्र सांसद् राजीव गुरुङ (दीपक मनाङे) पनि संलग्न छन्।

नेकपा माओवादीका एक नेताका अनुसार प्रदेश प्रमुखकाे कार्यालयमा विपक्षी दलका ३१ सांसद् नै उपस्थित भएका छन्।

यसैबीच, बिहीबार विश्वा’सको मत नपाएका पृथ्बीसुब्बा गुरुङले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको बताइएको छ।

त्यस्तै पूर्व राजपाका एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको गुरुङले दाबी गरेका छन्। उनले बिहीबार प्रदेशसभामा विश्वा’सको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुखले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

त्यसपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार मुख्यमन्त्रीको पदमा दाबी पेश गरेका थिए। नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दाबी पेस गरेका थिए।

गण्डकी प्रदेशसभामा हाल ६० सदस्य छन्। प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ सांसद छन्। कांग्रसको १५, माओवादी केन्द्रको सभामुखबाहेक ११, जनमोर्चाको ३ र जसपाको २ सांसद छन्। एक स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट