शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

आज मार्च ४ अर्थात् सुगौलीसन्धिमा हस्ताक्षर गरेर नेपालले एक तिहाई भूभाग गुमाएको का’लो दिन


  • स्वदेश नेपाल
  • बुध, फाल्गुन २१, २०७६

महेशराज पन्त – सन् १८१५ डिसेम्बर २ (विसं १८७२ मंसिर १८) मा गाडिएको थियो नेपाली सरहदको वर्तमान साँधको जग । निरन्तर विस्तारमा रहेको तत्कालीन नेपाली सीमा भारतमा ‘इस्ट इन्डिया कम्पनी’को नाममा शासन चलाइरहेको बेलायती शासनसँगको युद्धमा पराजित भएपछि थामिन विवश भएको थियो । वर्तमान नेपालको चार साँध कोर्ने ‘सुगौली सन्धि’को बीउ रोपिएको थियो । सन् १८१५ डिसेम्बर २ (विसं १८७२ मंसिर १८)मा कम्पनी सरकारका तर्फबाट लेफ्टिनेन्ट कर्णेल प्यारिस ब्राड्शाले हस्ताक्षर गरेर १५ दिनको म्याद तोकी सन्धिको प्रस्ताव गरेको थिए ।

नेपालले ३३ दिनपछि सन् १८१६ मार्च ४ (विसं १८७२ )मा मकवानपुरको सुगौली भन्ने स्थानमा सो सन्धिमा सहमति जनाएको थियो । नेपालका तर्फबाट चन्द्रशेखर उपाध्यायले सन्धिमा हस्ताक्षर गरेका थिए । वर्तमान नेपालको सीमा र भूराजनीति तोक्ने सुगौली सन्धिको कारक रहेको नेपाल-अंग्रेज युद्धमा नेपाल किन हारेको थियो भन्नेबारे विभिन्न इतिहासकारका अनेक ठहर छन् । यहाँ ‘संशोधन मण्डल’ले प्रकाशन गरेको इतिहास प्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’को २०२१ वैशाखमा प्रकाशित वर्ष १ अंक १ बाट इतिहासकार महेशराज पन्तको लेख ‘विसं १८७१-७२ को नेपाल-अंग्रेज युद्धमा नेपालले हार्नामा एउटा ठूलो कारणलाई सम्पादनसहित प्रस्तुत गरिएको छ ।)

विसं १८७१-७२ मा भएको नेपाल-अंग्रेज युद्धको नेपाल तथा भारतको इतिहासमा प्रमुख स्थान छ । विसं १८०१ देखि नेपालीहरूले सुरु गरेको विजययात्रालाई यस युद्धले सर्वदा रुद्ध पारिदियो । आफ्नो राज्यको दुई खण्डको एक खण्ड गुमाई अंग्रेजसँग सन्धि गर्न नेपाललाई कर लाग्यो । भेदनीतिद्वारा भारतमा सजिलैसँग सफलता पाउँदै आएका अंग्रेजहरूको पनि निकै खति यस युद्धले गरायो ।

विसं १८७१ कात्तिक १८ गतेका दिन लखनउबाट इस्ट इन्डिया कम्पनीका त्यस बेलाका गभर्नर जनरल (प्रधान शासक) लर्ड हेस्टिङ्सले नेपालसँगको युद्धको घोषणा गरेपछि विधिवत् युद्ध सुरु भयो । हुन त यसभन्दा १२ दिन अगाडिदेखि नै नेपालको पश्चिम भागमा अंग्रेजहरू घुसिसकेका थिए । नेपालीको ठूलो चाड दसैंको मौका छोपी अंग्रेजहरूले लडाइँको घोषणा हुनुभन्दा आठ दिनअगाडि नै लडाइँ खोलिसकेका थिए । पूर्व मोरङदेखि पश्चिम हन्डुरसम्मको सम्पूर्ण नेपालराज्य दख्खल गर्ने अभिप्रायले ३४ हजार अंग्रेजी फौज पाँच भागमा बाँडिई अघि बढेको थियो ।

यस लडाइँमा कोसी प्रान्तदेखि कर्णाली प्रान्तसम्ममा अंग्रेजहरूले नेपालीहरूबाट हार खाए । यमुना प्रान्तमा नेपालीहरूले अंग्रेजलाई हराउन नसके पनि आत्मरक्षासम्म गरे । तर, गंगा प्रान्तमा चाहिँ आत्मरक्षासम्म पनि गर्न सकेनन् ।

अंग्रेजसँगको यो लडाइँमा नेपालको हार किन भयो भन्ने प्रश्नको ठीक उत्तर दिनु सजिलो काम होइन । किनभने यस युद्धमा नेपालले हार्नामा एउटैमात्र कारण थिएन ।

पहिलो कारणः विक्रमको सोह्रौं शताब्दीदेखि युरोपमा भएको विद्याको नयाँ जागरण र शोधले गर्दा त्यहाँ यन्त्रविद्याको पनि विशेष विकास भएको थियो । तर भारततिर विद्याको जागरण नआएकाले यन्त्रविद्याको विकास हुन सकेको थिएन । यस कारण अंग्रेजी हतियारको अपेक्षा नेपाली हतियार कम दर्जाका थिए ।

दोसो कारणः अवधका नवाबलाई फकाई फुल्याई हप्काई दप्काई अंग्रेजले नेपालसँग लड्नाका लागि उनसँग अढाई करोड रुपैयाँ सापटी लिई सो धनले फौज र लडाइँका सामानहरूको बन्दोबस्त गरेका थिए । नेपालीहरूसँग त्यति धन थिएन । कसैसँग सापटी लिन उनीहरूले सकेका थिएनन् । त्यस कारण अंग्रेजको भन्दा नेपालको फौज तथा लडाइँको सामान कम भएको थियो ।

तेस्रो कारणः कर्कपेट्रिक विसं १८४९ मा कम्पनी सरकारका दूत भई नेपाल आएका थिए । उनले बुझ्न सकेसम्मका नेपालका कुरा बुझी ग्रन्थ लेखी इस्ट इन्डिया कम्पनीका माथिल्ला अधिकारीहरूलाई चढाई विसं १८६७ मा सो ग्रन्थ प्रकाश गराएका थिए ।
हेमिल्टनले विसं १८५९ मा एक वर्षसम्म अंग्रेज दूत नक्ससँग काठमाडौं बसी मानिस लगाएर नेपालका बुझ्न सकेसम्मका कुरा बुझे । आफूहरूले नेपाल छोड्नु परेपछि नेपालका सिमानामा दुई वर्ष बसी नेपालका बुझ्न सकेसम्मका कुरा उनले बुझेका थिए । यसरी नेपालका भित्री कुरा बुझ्नामा हेमिल्टन सक्रिय थिए । विसं १८७६ मा उनले आफ्नो नेपाल विषयको ग्रन्थ प्रकाश गराई आफू नेपाल आएको बेलाका इस्ट इन्डिया कम्पनीका गर्भनर जनरल वेलेज्लीलाई सो ग्रन्थ समर्पण गरे ।
नेपालीहरूमा राजनीतिको शिक्षा लिने परम्परा नहुँदा आफ्नो देशमा राजनीतिक कुरा फैलाउन र अंग्रेजका रहस्यलाई पनि विशेष रूपले बुझ्न सकेका थिएनन् ।

चौथो कारणः आफ्नो आश्रयमा आएका पाल्पाली राजा पृथ्वीपाल सेनलाई स्वामी महाराज रणबहादुरले कासीबाट फर्केपछि एउटा निहुँले काठमाडौंमा बोलाई कैद गरे । पाल्पा राज्य बलजफ्तीसँग हरियो । स्वामी महाराजलाई उनका सौताने भाइ शेरबहादुरले मारेपछि शेरबहादुरका मतियार हुन् भनी पृथ्वीपाल सेनलाई पनि अत्यन्त निर्दयतापूर्वक भीमसेन थापाले मराए । यस कारणले नेपालका आश्रित सामन्तहरूको विश्वास नेपाल सरकारमाथि घट्नु स्वाभाविक थियो । यस कारण नेपाल-अंग्रेज युद्धमा अंग्रेजले भड्काउँदा नेपालका केही सामन्तहरू भड्किएका थिए ।

पाचौं कारणः नेपाली अधिकारीहरूलाई भएनभएका कुरा सुनाई उनीहरूलाई हतोत्साह पारिदिने काम यस लडाइँमा अंग्रेजहरूले गरेका थिए । यता नेपालीहरूको भने यसको उल्टो स्थिति थियो । आफ्नो मुलुकको एक प्रान्तमा भएका घटनाहरू पनि अर्को प्रान्तका अधिकारीले अंग्रेजका सत्री (रूप फेरी हिँडेका राजकाजी मान्छे)हरूद्वारा थाहा पाउनुपर्ने स्थिति आएको थियो ।

यी मुख्य कारण हुन् । योभन्दा अरू कारण पनि निकै छन् । यी विषयमा विशेष विचार गर्न भिन्दै निबन्धको आवश्यकता छ ।
यहाँ पाचौं कारणको विषयमा विचार गर्न यो निबन्ध प्रस्तुत गरिएको हो ।

यस विषयमा गढकुमाउका शासक चौ. बम शाह र उनका साथीहरूले नेपाल सरकारछेउउ लेखेको पत्र चाखलाग्दो छ । सो पत्र अहिलेसम्म नछापिएको हुँदा जस्ताको तस्तै सम्पूर्ण यहाँ दिइन्छ-
(‘श्री अर्जि…….
उप्रांत उपर विस्तार चितैबाट (चिताबाट) चढाई पठायाको अर्जिबाट जाहेर भयो हो वाहापछि र षरषजानाको कुरालाई चार हाति ६ सय काहार (भरिया)लाई बोकाई कालि (महाकाली) तार्‌यु (तरायौं) । केहि वोसारदैछ ।

हासि (कप्तान हियर्सी) पक्रियाको र लडाई उसले हार्दा गारन (कर्णेल गार्डनर)ले २४ हजार गोर्षालिले मलाई घेरीराष्याको छ भनि बडासहेबछेउ (लर्ड हेन्टिङसकहाँ) लेषदा २ समाचार सर्वत्र समाचार सर्वत्र जत्रतत्र पुग्दा अघि हामीसित लडाईं जोरिदा सबै ठाउको लाईकन २२/२३ हजार फौज थीयो । यो षवर पुग्दा ३०/३२ (हजार) पत्थरकला नाल(बन्दुक)को जमात अघिपछि गरि आइपुग्यो. येसमध्ये १४/१५ हजार कालिकुमाउमा (कुमाउतिरका ठाउँ) छ. उप्रान्त कोहि पालि कोहि अलमोडामा छ. पहेलिभित डोटिको मधेसतर्फ पनि ५/६ हजार फौज घाटा घाटामा (मुख्य मुख्य बाटामा) आई बसिरहेछ. येसले भन्या सर्वत्र लडाई माकुप (बन्द) गर्नाको कुरा लेखिराषेछ । पछी मतिर पनि लडाई माकुप गन्र्या कुरा लेषिराषेछ. यो जवाप लि आउनु भनि सर्दार जसमर्दन थापा सुवेदार जयेकृष्ण थापालाई अलमोडामा राष्यैको छ ।

कर्नेल गारनले पश्चिमको षवर सूर्यगढि हाम्रा तर्फबाट छुट्यो. वाहाको लडाईमा कपतान भक्ती थापा, सुबेदार हृदयसिं थापा, दोस्रो सुबेदार १ पर्‌या । श्रीमोड जैतकगढिको लडाईमा काजि अजंमरपंथ घा (घाउ) लागि पक्रिया । कपतान बलभद्र कवर पर्‌या. २ तर्फका ढेर (धेरै) सिपाहि पर्च षर्च भया. तिम्रा सिपाहि सात सय लुनि आतरिसत (अक्टरलोसित) मिल्न आया. बुढाकाजि (अमरसिंह थापा) भयाको ठाउँमा र काजि (अमरसिंह थापाका छोरा) रनजोर थापा भयाको ठाउँमा अनको बडो तोडा (अभाव) छ. घेरा साह्रो भन्थ्या.उस्को र हाम्रो गरि चिठी २ पटक गरि पहिलो चिठी डाकमा र पछिलो चिठि उस्को र हाम्रो मानिस गरि पठाञौं. वाहाको जवाप आयापछि वाहाको षरषजाना र भाराफौज आउनं.

अलमोडाको महेसि बनियाको छोराले हरिहरबाट ल्यायाको षबर पंथ काजिलाई (काजी अजन्मर पन्थलाई) वाहा ल्यायाको मैले देषि आयाथ्या. कप्तानहरूको कुरा कानले मैले पनि सुन्याथ्या भन्थ्यो. ञाहाको कामकाजलाई षजना उकासन्या काम अघि भयो पछि अघिको दोस्ती रहंछ रहदैन भनि भन्दा तिमी दर्बार सोध. तम्रा षामिदको (मालिकको) हाम्रा मालिकसीत दोस्ती राषनाको मनसुबा छ भन्या तिमि दर्बार साधि बलियो गर. तिम्रा राजाको र अंगरेजको दोस्ती रहन्या काममा हामि भरिसक्य गरौंला भनि छाति ठोक्यो यो कुरा ठहर्छ भन्या बडासाहेब भन्या फर्काबादको (फर्रुखाबादको) आजमगढमा छ. भारि सरसौगात गरि बडो काबिल (अतियोग्य) मानिस बडासाहेबलाई प्रतित पन्र्या गरि चाँडो पठाउ. जति ढिलो गरौला तिमिलाई भारि पर्न जाला भन्छ.

रुद्रबिर साहि अलमोडामा बैरिको सुंदा रातोरात गरि डडेलधुरामा आईपुगेछ. पछि यो बन्दोबस्त भषाको कुरा हामिले लेषदा डडेलधुरैमा थामीयाको थीयो. यो कुरा गारनले सुंदा मैले रुद्रबिर साहिसित भेट गर्नु जान्छु भनि ढ्यासा लाउदा उसलाई वाहा जान नसकि रुद्रबिर साहिलाई डाकिपठाऔं र वैसाषशुदि ७ का दिन (विसं १८७२ जेठ ४ गते) बैतडीमा आईपुग्यो.

हाम्रा साथमा आयाको गारन भन्या कर्नेल हो. पहिले लडाईंको मुषत्यार भै आयाको येहि हो. मुलुकको अषत्यार र कुराकाहानि गर्नाको रुपमा फम ईजंट गबरनर भै आउन्या येसको भाई छ. आफनु भाईको हुदो गरि कर्नेल गारन हामिसित काराकाहनि गर्न येसको भाई र जर्नेल अरु ३०÷३५ कर्नेल कप्तान कम्पु पलटनिया गोरा षिलपति चंपाबतिमा छ.
सम्वत् १८७२ साल मिति वैसाषशुदि ८ (जेठ ५ गते मंगलबार) रोज ३ मुकाम बैतडी शुभम्…………….
ईत बम्साह (यहाँबाट) सलाम सलाम सलाम –
सेवक चामु मंडारिको कोटी कुर्नेस
अगदको कोटि कुनेस बंदगि शुभ’)

जैतकगढीको लडाइँमा बलभद्र कुँवर परे भन्ने इत्यादि कुरा अंग्रेजहरूले खुब प्रचार गरी बम शाहको कान भरी उनलाई हतोत्साह पारिदिएको कुरालाई यस पत्रले छर्लंग देखाउँछ । तर जैतकको लडाइँमा बलभद्र कुँवर परे भन्ने सर्वथा झूठ थियो । किनभने-

नेपालीहरू ज्यान दिएर लड्छन् भन्ने कुरा बलभद्र कुँवरले नालापानीको लडाइँमा अंग्रेजहरूलाई देखाइदिएका थिए । नालापानीको सानो गढी कब्जा गर्न पनि अंग्रेजहरूलाई धेरै शक्ति लाउनु परेको थियो । जावाको लडाइँमा लडी नाउँ कमाएका जिलेस्पीले यही लडाइँमा वीरगति पाएका थिए । बलभद्र कुँवरहरू हुन्ज्यालसम्म शत्रुको मुकाबिला गरी पानी खान नपाएपछिमात्र सो गढी छोडी आफ्नो फौजसँग मिल्न गएथे । जैतकगढीको लडाइँमा अंग्रेजी फौज हटी फर्केको थियो, बलभद्र कुँवरको देहान्त भएको थिएन । यस नेपाल-अंग्रेज युद्धमा कुनै ठाउँमा पनि बलभद्रको मृत्यु भएको थिएन । यो युद्धपछि बलभद्र कुँवर पञ्जाबको राजधानी लाहौर गए । पन्जाबका राजा रणजित सिंहले बलभद्रलाई आफ्नो फौजमा भर्ती गरे ।

विसं १८७६ को सिख-अफगान युद्धमा नेपालीहरूले सिखको पक्षबाट वीरतापूर्वक लडेका थिए । सोही लडाइँमा बलभद्र कुँवरले वीरगति पाएका थिए । सो लडाइँको कुरा बुझ्न भीमसेन थापाले लाहोरमा मानिस पठाएका थिए । रणजित सिंहको पल्टनमा भर्ती भएका नेपालीहरूले यस विषयमा भीमसेन थापालाई एक पत्र पठाएका थिए ।

कुमाउभन्दा पश्चिमतिर नेपालीहरूले अंग्रेजसँग लड्न नसकेपछि कुमाउमा मात्र हामीले बल लगाएर के गर्ने, अंग्रेजले पनि हामीसँग मेलै गर्न खोजिरहेका छन्, यस कारण महाकाली तरी बैतडीमा आएर बसेका छौं भनी बम शाहले नेपाल सरकारछेउ सूचना दिएको कुरा यो पत्रबाट बुझिन्छ ।

यसरी यस नेपाल-अंग्रेज युद्धमा सबभन्दा पहिले खुट्टा छोड्ने काम बम शाहले गरे । मलाई बढी फौज रसदपानीहरूको बन्दोबस्त होओस्, फेरि म कुमाउमा हमला गर्छु भनी बम शाहले यस पत्रमा लेखेका छैनन् । यसबाट अंग्रेजको प्रचारले बम शाहको मन गलाइदिइसकेको थियो भन्ने बुझिन्छ ।

हुन त अंग्रेजको प्रचारले मात्रै बम शाहको मन गलेको होइन ।

विसं. १८४७ को जेठमा स्वामी महाराज रणबहादुर शाहको पछि लागेर काशी गएका भीमसेन थापा १८६० को अन्त्यमा स्वामी महाराज रणबहादुरको पछि लागेर नेपाल फर्केपछि नेपालको राजकाजमा भीमसेन थापाको प्रभाव बढ्न थाल्यो । विसं १८६३ को वैशाखमा रणबहादुर मारिएपछि राजा बालक हुँदा भीमसेन थापाको हातमा प्रशस्त अधिकार आयो ।

रणबहादुरलाई मार्ने शेरबहादुरका मतियार यिनीहरू पनि हुन् भनी भीमसेन थापाले पुराना धेरै भारदारहरूलाई पन्छाए । कति भारदारहरू एउटा निहुँ राजधानीबाट टाढाटाढा प्रदेशमा खटाइए । यसरी नेपाल राज्यको अधिकार एकलौटी पार्ने काम भीमसेन थापाले गरे । भीमसेन थापाको यो नीतिले उमेर ढल्किसकेका राजकुलका बम शाहको मनमा चोट पारेको थियो ।

यसो हुँदा पनि बम शाहलाई लड्न जोश नआएको हो । आफू महाकाली तरी बैतडी आएको कुराको विरोध गरी भीमसेन थापाले आफूमाथि कडा कारबाही चलाए अंग्रेजसित मिल्न जानुपर्ला कि भन्ने दोधारसम्म पनि उनको मनमा उठेको थियो भन्ने तल दिइएका वाक्यले देखाउँछन्-

‘विसं १८७२ वैशाख १७ गतेको दिन आत्मसमर्पण गरी बम शाह वैशाख २० गतेका दिन कर्नेल गार्डनरका निगरानीमा काली तरी डोटी जान भनी हिँडे । यसको केही दिनमा पिथोरागढमा पुगी झुलापाटमा उनले गार्डनरसँग भेटे । उनले तल लेखिएका आशयका कुरा कर्नेल गार्डनरसँग गरे । नेपालबाट मैले कुमाउँ छोडेका कुराको के उत्तर आउने हो तेसले गर्दा मलाई बडो चिन्ता छ ।

मेरा शत्रु अमरसिंह थापा मलाउँ मैले बम शाहको भनाइअनुसार छोडेको हुँ भनेर सारा दोष मेरा थाप्लामा हाल्नेछन् । नेपालमा खसहरू (थापाहरूसँग रिसाई उनले यही शब्द प्रयोग गरेथे) अमरसिंहका कुरा खाई मेरो प्राण संशेयमा पार्नेछन् । यो कुरा ता टाढाको छ तर मैले कुमाउँ छोडेको कुराको जाहेरी नेपाल पुग्दा वहाँ तेसको कुन रीतिले स्वागत हुने हो । बुद्धिमानीपूर्वक यो कुराको वहाँ विचार भये काली पारीको राज्य दी अकारण गरेको लडाइँ समाप्त भयेको कुरामा उनीहरूले बढिया ठान्न पर्ने हो तर महाराजले (महाराजधिराजले) मलाई प्रेम गरे तापनि महाराज मेरा शत्रुका हातमा होई बक्सिन्छ । यो कारणले मलाई मार्नु भन्ने पल्टनलाई आज्ञा भयो भने मलाई आश्चर्य हुने छैन औ यही कारणले नेपालबाट उत्तर न आये सम्म कुमाउँमा नै बस्ने मेरो राय छ ।

यो सुनी कर्नेल गार्डनरले उनलाई आश्वासन दिये औ हरेस न खाई शत्रुको नाश गर्ने चेष्टा गर भनी उनलाई व्यक्तिगत रूपले भने । कर्नेल गार्डनरले काली तुरुन्त तरी डोटी आफूले दखल गरी डोटीको राजा भै बस्न निजी रूपले उनलाई सम्मति पनी दिये । सोही समय काजी चामु भंडारीलाई डाकी बम शाहले कर्नेल गार्डनरले भनेका सबै कुरा उनलाई सुनाई तिनका विषयमा उनको सम्मति मागे । काजी चामु भंडारीले नेपालका मंत्री सँग उनको फाटो परेका बेलामा बृटीश सरकारले उनको सहायता गर्ने भये कर्नेल गार्डनरका सल्लाह बमोजिम काम गर्न उनलाई सम्मति दिये । (विसं १८७२ जेठ २१ गतेको लार्ड मायराले लेखेको पत्रमा खामेको ३२ नम्बरको पत्र ।)

बम शाहको विचार झुलाघाटबाट काली नदी तरी बेथरीमा बसी आफ्ना भाइ रुद्रवीर शाहसँग यो विषयमा परामर्श गर्ने थियो । गवर्नर जेनरलले आफ्ना जेठ ८ गते र १० गतेमा लेखेको पत्रद्वारा डोटीका विषयमा कर्नेले गार्डनरले गरेको प्रस्ताव स्वीकार गरे र यो कार्यका निम्ति बम शाहलाई आर्थिक र सैनिक सहायता दिन पनि मञ्जुर गरे ।

योपछि कुमाउका हाकिम एडवर्ड गार्डनरले दुई चोटि बम शाह चानु भंडारी र रुद्रवीर शाहसँग भेट गरे । पहिलो पटकको भेटमा बम शाह र चाम भँडारी थिये औ अर्को पटक केवल रुद्रवीर शाह थिये…।

वहाँ पछि डोटीका विषयमा कुरा एडवर्ड गार्डनरले चलाउँदा उनीहरूले अरू कुनै उपाय नलागेको खण्डमा मात्र सो काम गर्ने निश्चय भएको उत्तर दिये । यो कुरा गर्दा उनीहरूले विशेष उत्साह प्रकट गरेनन् ।’ (‘अमरसिंह थापा’को १५९-६१ पृष्ठबाट ।)

राजकाजमा जहाँ पनि जहिले पनि सैन्यशक्तिको प्रयोग गर्नु नपरोस् । अरू कुनै उपायले सजिलैसँग सफलता प्राप्त होओन् भन्ने कोसिस गरिएको हुन्छ । किनभने सैन्यबल प्रयोग गर्नुपर्ने अवस्था आएको खण्डमा आफूले पनि धनजनको निकै खति बेहोर्नुपर्ने हुन्छ । यसकारण अवस्था हेरेर अनेक उपायद्वारा शत्रुलाई आफ्नो वशमा पार्ने उपायहरूमा राजनीतिज्ञहरूले विचार गरेका छन् । यस विषयमा कौटलीय अर्थशास्त्रमा विस्तारपूर्वक विचार गरिएको छ । जस्तैः
‘तिम्रो किल्लामा आगो लाग्यो, तिम्रो किल्ला लुटियो, तिम्रो कुलमा आफूआफूमा झगडा भयो, तिम्रो जंगली सामन्त अथवा शत्रु तिम्रो विरुद्ध उठ्यो भनी शत्रुलाई बिच्काइदिनु ।।५३।।’

यहाँ कौटल्यले बिना सैन्यबलले झुटमुट प्रचारले शत्रुलाई हराउने उपाय बताए जस्तै झुटमुट प्रचारले कुमाउमा लड्न आएका अंग्रेज सेनापति कर्नेल गार्डनरले बम शाहहरूलाई हराएको स्पष्ट छ ।

बम शाहले कुमाउभन्दा पश्चिमतिर र पूर्वतिर अंग्रेजसँग नेपालीले गरेका युद्धका वर्णन आफ्ना मानिसबाट थाहा पाउन सकेका थिएनन् । यसैले अंग्रेजका सत्रीहरूले सुनाउन आएका असत्य, अर्धसत्य कुराको भर पर्नुपर्ने स्थिति आयो र उनी महाकाली तरी बैतडी आए । अन्त पनि यस्तै घटना भएनन् होला भन्न सकिन्न ।

यसरी नेपाल-अंग्रेज युद्धमा नेपालले नराम्रोसँग हार्नुपर्नाको कारणमध्ये एउटा प्रमुख कारण एक प्रान्तका अधिकारीले अर्को प्रान्तको कुरा बुझ्न नसक्नु तथा अंग्रेजको प्रचारले यहाँका भारदारहरूको मन वस्तुस्थिति हेर्न नसक्ने भएको हुनु थियो भन्ने बुझिन्छ ।

अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया
ताजा अपडेट