शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

नेपालमा रहेका युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १३, २०७६

काठमाडौं– युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्भवतः शुक्रबार केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने छन् । कोरोना भाइरस (कोभिड १९)को संक्रमणको त्रासका बीच फ्रान्स र जर्मनीले आफ्ना देशका नागरिक लैजान चार्टर विमान काठमाडौं पठाउन लागेका हुन् ।

जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ । शुक्रवार र शनिवार ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी गरिएको छ ।

युरोप फर्किन चाहनेलाई जर्मन दूतावासको वेवसाइटमा रहेको फर्म भर्न आह्वन गरिएको छ ।अहिले जर्मन र फ्रेन्च नागरिक गरी करिब ७ सय जना काठमाडौंमा छन् । यस्तै, नेपालस्थित फ्रान्स दूतावासले बुद्ध एयरको विमान चार्टर गरी पोखराबाट आफ्ना ५० जना नागरिकलाई काठमाडौं पुर्‍याउँदै छ ।

नेपालमा रहेका व्यक्तिका परिवारको विशेष चासोपछि उनीहरुलाई स्वदेश फिर्ताको वातावरण बनाउन लागिएको हो । यस्तै, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि नेपालमा रहेका आफ्ना नागरिक फिर्ताका लागि चार्टर विमान पठाउने तयारी गरेका छन् ।

तर, ती देशबाट कुन मितिमा विमान आइपुग्छ भन्ने विषय भने टुंगो लागेको छैन । ‘अहिले अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले आफ्ना नागरिक फिर्ता लैजान चासो दिएका छन् । डिप्लोम्याटिक सर्कल (कूटनीतिक क्षेत्र)मा यसबारे छलफल भइरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने ।

प्रतिक्रिया
ताजा अपडेट