मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

श्रीमद् भागवत गीता अध्याय १४ गुणत्रयविभाग योग- प्रा. बाबुराम ज्ञवाली


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

अध्याय  गुणत्रयविभाग योगको सारभगवान् श्रीकृष्णले अब पराज्ञान र उच्चतम विद्याबारे स्पष्ट गर्दै त्यो कुरा बताउनु हुन्छ जसलाई जानेर मुनिहरूले पूर्णता पाएका थिए ।

महत् प्रकृतिमा ईश्वरले बीज स्थापित गरे पछि सृष्टि गतिमान हुन्छ । यस प्रकृतिले तीन गुण– सत्व, रजस् र तमसलाई उत्पन्न गर्छ । सत्व शुद्ध र उज्ज्वल हुन्छ, त्यसले आनन्द प्रदान गर्छ, र यस आनन्दद्वारा आत्मालाई बन्धनमा पार्छ । रजस् उत्तेजना दिने स्वभावको हुन्छ । यसले कामना र वासना उत्पन्न गर्छ । तथा कर्मद्वारा शरीरस्थ आत्मालाई बन्धनमा पार्छ ।

अज्ञानजनित रजसले प्राणीलाई प्रमाद, आलस्य र निद्रामा पारेर मोहित गर्छ । यस प्रकार सत्त्वले आनन्दका लागि, रजसले कर्मका लागि आसक्ति उत्पन्न गर्छन् । तमसले भने ज्ञानलाई ढाकेर प्रमादले जेलिदिएको हुन्छ । तीनवटै गुणले अविराम एक अर्कालाई उछिन् पाछिन्  गरिरहन्छन् । सत्त्व बढेको अनुमान ज्ञानको वृद्धिद्वारा भए जस्तै रजस् बढेको अनुमान लोभ र सक्रिय ताको वृद्धिले तथा तमस् बढेको अनुमान प्रमाद र भ्रमको वृद्धिले हुन्छ ।

मृत्युको समयमा सत्त्वको प्रधानता भए मानिसले पवित्र लोक प्राप्त गर्छ । रजसको प्रधानता भए कर्म प्रधान परिवार र तमसको प्रधानता भए मनुष्येतर प्राणीमा जन्म हुन जान्छ । जसले गुण नै गुणले नै कार्य गर्छन् र आत्मा अलिप्त रहन्छ यो कुरा अनुभव गर्छ, उसले परमेश्वरलाई अनुभव गर्छ ।

अब अर्जुनले के जान्न खोज्छन् भने गुणबाट पार पुगेको मानिस कस्तो हुन्छ । भगवान् श्रीकृष्णले उत्तर दिनु हुन्छ- तीन गुणका प्रभावले (ज्ञान, कर्म र भ्रमबाट) जो अप्रभावित रहन्छ, त्यो गुणातीत- गुणका कार्यहरू प्रति उदासीन- हुन्छ । सुख दुखमा समभावी रहन्छ । माटो, ढुङ्गा र सुन उसका लागि समान हुन्छन् । प्रिय, अप्रिय, प्रशंसा वा निन्दाबाट अविचलित रहन्छ । शत्रु वा मित्र उसका लागि एक समान हुन्छन् । उसले सारा संकल्प त्याग गरेको हुन्छ । उसले ईश्वरको अटल प्रेम र सेवा गर्छ । यस्तो व्यक्ति गुणातीत हुन्छ र ब्रह्म प्राप्ति हेतु योग्य हुन्छ ।

सनातन धर्म संस्कृतिका ज्ञाता त्रिभुवन विश्व बिद्यालयका प्राध्यापक डा. बाबुराम ज्ञवालीद्वारा लिखित ”श्रीमद्भागवत गीता – एक विवेचना” नामक महत्वपूर्ण धार्मिक ज्ञान भएको पुस्तक हो । धर्म संस्कार प्रति चाख राख्ने पाठकहरुको मागलाई ध्यानमा राख्दै पढ्न र संग्रह गरेर राख्न पनि सजिलो होस् भन्दै हरेक अध्यायलाई फाइल नै बनाएर पोष्ट गर्दै जाने छौ, सात शय श्लोकी गीतालाई १०० अध्यायमा विभाजन गरेर गरिएको व्याख्या क्रमिकरुपमा  प्रस्तुत गर्दै जाने छौ । पहिले प्रकाशित भागहरु हेर्न स्वदेश नेपालको धर्म संस्कार क्याटागोरीमा हेर्नुहुनु अनुरोध छ, सबै लिंकहरु यहाँ समाबेश गर्न सम्भब देखिएन ।

पढ्नुहोस डा. बाबुराम ज्ञवालीद्वारा विवेचना गरिएको अध्याय १४ को पूर्णपाठ 

उपसंहार– यस अध्यायको नाम हो गुणत्रयविभागयोग । यस अध्यायमा प्रकृतिका तीन गुणको व्याख्या गरिएको छ । तीन गुणले सृष्टिको विस्तार कसरी हुन्छ भन्ने कुरा यस अध्यायमा स्पष्ट गरिएको छ । प्रकृतिमा बीज स्थापित भए पछि सृष्टि गतिमान हुन्छ । यस गतिका लागि तीन गुण– सत्व, रजस् र तमसले एक अर्कालाई उछिन पाछिन् गर्छन् ।

सत्त्वले आनन्दका लागि, रजसले कर्मका लागि र तमसले प्रमादका लागि आसक्ति उत्पन्न गर्छन् । अर्को तर्फबाट यी तीन गुण मानिसको मन बुद्धिका तीन स्वभावका वर्णन हुन् । यस दृष्टिले यो अध्याय मनोवैज्ञानिक विश्लेषणको अध्याय हो । गुणले नै गुणमा कार्य गर्छन् तर आत्मा अलिप्त रहन्छ भन्ने कुराको अनुभव प्राप्त गर्नु परमेश्वरलाई प्राप्त गर्नु हो । यस अध्यायको सार हो – दृष्टिकोण राख, सो अनुसार बांच ।

प्रतिक्रिया
ताजा अपडेट