शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

चिनियाँ नाकामा सामान लिन गए १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ४, २०७६

काठमाडौं । कोरोना भाइरसका कारण विगत एक महिनादेखि नेपालको चीनसँगको नाका बन्द रहँदै आएको छ । जसका कारण अर्बौं मूल्य बराबरका सामान चिनियाँ नाकामा रोकिएको व्यवसायी बताउँछन् ।

व्यवसायीहरूले चीनतर्फको नाकाबाट सामान ल्याउन दिने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्दै आएका छन् । यस विषयमा के गर्ने भन्ने विषयमा औपचारिक निर्णय भइसकेको पनि छैन ।

व्यवसायीहरूले ५० अर्ब बराबरको सामान चिनियाँ नाकामा रोकिएको बताउँदै आएका छन् । फलफूल र लसुनको मात्रै करिब ७० करोड रुपैयाँ बराबरको सामान एक महिनादेखि रोकिएको व्यवसायी कुमार पाण्डेले बताए ।

ती सामान आयात गर्न दिन व्यवस्था मिलाइन सरकारलाई आग्रह गरिरहेको उनले बताए । सरकारले पनि के गर्ने भन्ने विषयमा चिनियाँ पक्षसँग छलफल गरिरहेको जनाएको छ ।

सामान लिन जाने ड्राइभरलाई १४ दिन क्वारेन्टाइनमा राखिने

चीनका अधिकारीहरूले चिनियाँ नाकामा रोकिएका सामान लिन जान सक्ने तर चीनको भूभागमा गएपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भनेका छन् । रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले हिजो चिनियाँ अधिकारीसँग भएको छलफलमा उनीहरूले सामान लिन आउने ड्राइभरलाई आफूहरूको जिम्मामा १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै नेपाल आउन दिने बताएको जानकारी दिए ।

उनले भने, “हामीले हिजो मात्रै चिनियाँ अधिकारीसँग रोकिएका सामान ल्याउन के गर्ने भन्ने विषयमा छलफल गरेका थियौं । उनीहरूले सामान लिन आउने ड्राइभरलाई १४ दिन र गाडीलाई पनि न्यूनतम ४८ घण्टा क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् ।” उनले चिनियाँ अधिकारीसँग भएको छलफलबारे माथिल्लो निकाय र व्यवसायीलाई समेत जानकारी गराइसकेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट