शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

नेमारको मूल्य १३ करोड ५० लाख पाउन्ड !


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ४, २०७६

पेरिस : फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना ब्राजिलियन स्टार नेमारलाई बेच्ने इच्छा देखाएको छ। पीएसजीले नेमारको मूल्य पनि तोकेको छ। पीएसजीको पछिल्लो घोषणासँगै २८ वर्षीय नेमार पुनः स्पेनिस क्लब बार्सिलोना फर्कने सम्भावना बढेको छ। बार्सिलोनाले यसअघि पनि नेमारलाई भित्र्याउने चासो देखाएको थियो।

नेमारलाई बेच्ने इच्छा देखाए पनि फ्रान्सेली युवा खेलाडी केलियन एमबाप्पेलाई भने पीएसजीले क्लबमै राख्ने भएको छ। फ्रान्सेली ‘लिग लिडर’ पीएसजीले नेमारका लागि १३ करोड ५० लाख पाउन्ड मूल्य तोकेको छ। यसअघि बार्सिलोनाले नेमारलाई किन्ने चासो देखाउँदा पीएसजीले अहिलेको भन्दा निकै बढी मूल्य राखेको थियो।

अहिले तोकिएको मूल्यमा नेमारलाई भित्र्याउन बार्सिलोना सहमत देखिएको छ। बार्सिलोनाका स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसीले पनि नेमारलाई भित्र्याउन सक्दो प्रयास गर्दै आएका छन्। पीएसजीका खेलकुद निर्देशक लियोनार्दो अराउजोले पनि क्लबले नेमारलाई बिक्री गर्न चाहेको समाचारको पुष्टि गरेका छन्।

नेमार सन् २०१७ मा २२ करोड २० लाख पाउन्डमा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए। पीएसजीका लागि नेमारले यो सिजन घरेलु लिगमा १६ गोल गरेका छन्। पीएसजीमा आबद्ध भएयता उनले विभिन्न प्रतियोगितामा क्लबका लागि ८० खेल खेल्दै ६९ गोल गरेका छन्।

तर, पीएसजीले २१ वर्षीय स्ट्राइकर एमबाप्पेलाई भने नबेच्ने बताएको छ। एमबाप्पेलाई किन्न अर्को स्पेनिस क्लब रियल म्याड्रिडले लामो समयदेखि चासो देखाउँदै आएको छ। खासगरी रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान एमबाप्पेलाई भित्राउन चाहन्छन्।

पीएसजीसँग एमबाप्पेको हालको सम्झौता सन् २०२२ को जुनमा सकिँदैछ। यो सिजन उनले क्लबका लागि २३ गोल गरेका छन् भने नौवटा पास उपलब्ध गराएका छन्। हालसम्म २७ खेल खेलेको पीएसजी ६८ अंकसहित घरेलु लिग तालिकाको पहिलो स्थानमा आसीन छ। २८ खेलबाट ५६ अंक जोडेको मार्सिल्ले दोस्रो स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट