शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

नेपाली समाजको दिशाहीनता र नेतृत्वको खोजि !


  • स्वदेश नेपाल
  • सोम, चैत्र ३, २०७६

तिर्थराज बराल ‘सानु पुनाटारे’ – नेपाली मानव समाजको धरातलीय परिस्थिति अब गम्भीर चिन्ता र चासोको सर्वत्र बिषय बनेकोछ । यँहा धरातलीय परिस्थिति भन्नाले मुलुकको सम्पूर्ण परिस्थितिलाई ईकित गर्न खोजिएको हो जस्मा राजनैतिक, आर्थिक र सामाजिक पक्षहरुको चर्चा रहनेछ। ईतिहासका कयौ कालखण्डमा कयौ राजनैतिक उथलपुथल भोग्नु पर्यो र यसले ठुलो मूल्य चुकाउनु पर्यो किमार्थ एउटै कारण रहेकोछ नेपाली जनजीवनको उत्थान र प्रगति सहितको मुलुकको सम्वृद्धि र बिकास। राष्ट्र उत्थानका निमित्त राजनैतिक, सामाजिक र आर्थिक पहलुहरु समानान्तर रुपमा अघि बढे सम्वृद्धिले गति लिन सहज हुन्छनै । तर राजनैतिक प्रणालि र प्रक्रिया जबसम्म स्थिर र सुद्रिढ हुनसक्तैन तबसम्म सामाजिक र आर्थिक पक्षहरु समेत अघि बढ्न सक्दैन । राजनैतिक प्रणालि र प्रक्रिया सबल र सुद्रिढ भै संचालन हुन् यस्का चालक भनौ वा नेतृत्वको बौध्दिकता,कुशलता, दुर-दृष्टिकोण र राष्ट्र प्रतिको आघात स्नेहले ठुलो भूमिका निर्वाह गरेको हुन्छ । दरिद्र मानसिकताबाट अलिकति उक्लिएकाले मात्र राज्य संचालन गर्न सक्छन भनेर राज्यको बागडोर तिन्लाई सुम्पनु जनताको स्वयम् ति नेतृत्व प्रतिको सहि लेखाजोखा नभएको होकी भन्दा अनर्थ नहोला कि?

आर्थिक र सामाजिक सम्वृद्धिको आशा मनमा जगाउनु पहिले ति पहलुहरुलाई सहि दिशामा लैजान त्यस्तो नेतृत्व जन्मिनु पर्छ जस्मा सम्पुर्ण रुपमा मन ,कर्म र वचनले रास्ट्र प्रतिको सेवा भाव हृदयमा उथुलपुथुल हुनुपर्छ र जसको जीवनको लक्ष्यनै म, मेरो वा आफ्नो भन्ने सिमा भित्र झुड्डीएको किमार्थ हुनुहुदैन र उसको परिवेस सङ्गक्रिणता भन्दा धेरै फराकिलो हुनु जरुरि देखिन्छ । एक राज्य संचालन गर्ने नेतृत्वले केवल दुई आखाले मात्र हेरेर नभ्याउन सक्छ उ भित्र अनेकन आँखाहरु हुनु पर्छ अनेकन दृष्टिकोणले भरिएको हुनु पर्छ झैँ लाग्छ मलाई । हुनत म राजनैतिक शास्त्रको बिद्यार्थी होइन केवल एक सचेत नागरिक सहित ब्यबस्थापनको बिद्यार्थी हुँ मेरो सोंच नमिल्न सक्छ ।

तिन करोड मानव समुदाएको अभिभावक बनेर राज्यको सम्पुर्ण पहलुहरु सम्वृद्धि सहितको विकाश गर्छु भनेर प्रतिबद्धता देखाउने व्यक्तित्व भित्र कुन कुन कुराहरुबाट उ योग्य हुनुपर्छ र के कस्ता सैद्धान्तिक र ब्यबहारिक ज्ञानले उ सज्जिनु पर्छ भन्नेकुराको मापन गर्न सक्ने क्षमता स्वयम् जनतासंग हुनु जरुरी देखिन्छ र सोहि अनुरुप नेतृत्वको चयन गरि राज्यको बागडोर समय सिमा भित्र सुसंचालन गर्न दिनु पर्छ । हामीले उत्पादन गरेका आजका नेतृत्वहरु कुनै जादुगिरीबाट उत्पादित होईनन । हाम्रै नेपाली समुदाएको एक भाई एक छोरो वा एक बहिनि एक छोरी हुन। उसभित्रको अपूर्णतामा उ मात्र स्वयम् दोषी हुनसक्दैन त्यसमा सम्पूर्ण नेपाली समाज भागिदार हुनु पर्छ ।

राज्य संचालनको नेतृत्वलिन सक्षम छु भनि आफुलाई दावेदारमा उभ्याएको नेताले उ स्वयंले पनि आफु भित्रै आफ्नो मुल्यांकन गर्न सक्ने सामर्थ्य राख्न सक्नुपर्छ । एकसरो र एक पाटो कुनै खेमा समाएको राजनैतिक सिध्दान्त अगाल्दैमा र त्यसभित्रको कारकतत्वहरुको विश्लेषण गर्न जान्दैमा उस्ले किमार्थ राज्यका अहंम पहलुहरु बुझेको छ भन्नु युक्तियुक्त देखिदैन । अर्धशिक्षित नेपाली समाज एक्काईसौ शताब्दिको मध्यतिर आइपुग्दा समेत अझै नाङ्गो भोको र ओत विहिन भै बाँच्न बिवस छन् भन्दा अतिसयोक्ति नहोला । अनेकन राजनैतिक खोल ओढेका स्वयममा दरिद्र स्वभाव भएका, राजनीतिज्ञ हुँ भन्ने चाटुकारले भोको, नाङ्गो र ओत विहिन नेपाली समुदायमा आशालाग्दा बिकाश र सम्वृद्धिको भजन गाउदा लट्ठपरि नेतृत्व क्षमताको बिना विश्लेषण भोटर सुचिमा स्वस्तिक छाप हान्दै र त्यसको समजोडमा विजय उल्लास गर्दैमा जनताले सोचेको विकास र सम्वृद्धि आउछ भनेर रयाल काढ्नु दिवा सपना बाहेक केहि हुनसक्दैन भन्ने कुरा वर्तमान राज्यको परिस्थितिले छर्लंग देखाएको कुरा कसैबाट छिपेको छैन ।

एउटा सबल राजनैतिक नेतृत्व सम्हाल्न सक्ने व्यक्तित्व विकास गर्न आबस्यक पर्ने यथोचित शैक्षिक ज्ञान जस्मा सैद्धान्तिक पक्षमात्र नभई ब्यबहारिक ज्ञान, राज्य संचालनको प्रत्येक पहलुहरुमा सुक्ष्म विश्लेषण र अध्यान, विश्व अर्थतन्त्रको गतिशिलता र त्यस्का अवयवहरुको आधारभूत ब्यबहारिक विश्लेषण र अध्यान, मानवहितका कारक तत्वहरुको बिस्तृत ज्ञान र सुक्ष्म अध्यान, समाजको सामाजिक धरातलको गहिरो ज्ञान, सामाजिक प्रचलन र सस्कृतिहरुको बिस्तृत ज्ञान र समयले बिकास गरेका अनेक नयाँ प्रविधिहरुको पहिचान र यथोचित रुपमा बिकाशका पहलुहरुमा लगाउदा हुने फाईदा र बेफाईदाहरु आधारभूत पक्षहरुको जानकारी, समाजमा बढ्दो असुरक्षित वाताबरणको कारक तत्वहरु र त्यसको निरुपण र निराकरणको उपाएको ब्यबहारिक पक्षको स्वयममा ज्ञान हुनुको साथै उल्लिखित सम्पूर्ण कारक पक्षहरुको ब्यबस्थापन गर्न सक्ने उत्कृष्ठ क्षमता साथै अन्तरास्ट्रिय परिस्थिति र अन्तरास्ट्रिय सम्बन्धको महत्व र त्यस्ले मुलुकलाई पार्न सक्ने प्रभाव र त्यस्को महत्व र हानिका बिषयमा उतिक्कै स्पष्ट र चनाखो हुनु पर्छ । यी ज्ञान र क्षमता एउटा राज्य संचालनको नेतृत्व गर्ने व्यक्तित्वसंग हुनुपर्छ भने मलाई लाग्दछ ।

हामी सर्वसाधारण जनहरुले सोच्नु पर्ने बिषय के हो भने के त उपरोक्त ज्ञान र क्षमताले भरिएका नेतृत्वहरु हामीले हाम्रो समाजमा जन्माएका छौ त ? हाम्रो समाजले आज सम्ममा जन्माएका जति नेतृत्व छन के ति साच्चिकै राज्य संचालनको नेतृत्वलिन सक्ने क्षमतावान व्यक्तित्वहरु हुन त ? यी नेतृत्वहरुको पछाडिको पृष्ठभुमि राज्यको बागडोर सम्हाल्न भूमिका खेल्छ त ? यी नेतृत्व गर्न अघि सरेका नेताहरुको कथनले र उनका आ-आफ्ना पुष्ट्याईले त्यो क्षमताको मुल्यांकन गर्न सघाउ पुर्याउछ त ? यी यावत बिषयहरु अत्यन्त संवेदनशील र मनन योग्य हुन भन्ने मलाई लाग्छ ।

एकले अर्कोलाई दोषारोपण, आरोप र प्रत्यारोप गरेर मात्र नेतृत्व क्षमतामा बिकास नहुने कुरामा दुईमत नहोला । यो कथनको तात्पर्य यो पनि होईनकि हामीमा बिध्यामान नेतृत्वपक्तिहरु सबै नालायक छन् र क्षमता बिहिन छन भन्न खोजिएको कदापी होईन । तर आजका अधिकांश नेतृहरुको पृष्ठभूमिलाई अलि गम्भीर भएर जान्न खोजेमा सहजै जान्न सकिने अबस्था नरहेको होईन । यो खुला किताबका पाना पल्टाए सरि पल्टाएर सहजै हेर्न सकिन्छ र त्यसमा ति व्यक्तित्वले पनि नकार्छन भन्ने मलाई लाग्दैन।

सरसर्ती हेर्दा अधिकांश आजका नेतृत्व पंक्तिमा उभ्भिएकाहरु र नेतृत्व सम्हाली रहेकाहरुको पृष्ठभूमि र यिनका सैद्धान्तिक र ब्यबहारिक ज्ञान र राज्य संचालन गर्न सक्ने विशेष कुसलताहरुको सहजै यिनले गरेका दैनिकी राज्य संचालनका र उनकै राजनैतिक पार्टी संचालनका क्रियाकलापहरु र त्यसबाट उत्पादित परिणामहरुले स्पष्ट सबै सामु देखाएकोछ। अब प्रश्न रहन्छ के त यो यथास्थितिको योग्यता र क्षमताले यो मुलुकलाई उन्नत बाटोमा लैजान सक्छ त ? के त यिनै नेतृत्व बाट मुलुकले विकाश र सम्वृद्धिको सपना साकार हुन्छ त ? यो गहन र जटिल बिषय बनेर तिन करोड नेपाली जनसमुदायमा तेर्सिएको छ । के त वर्तवान नेतृत्वका दावेदारहरुले आ-आफ्ना कमि कमजोरीका भड्खलाहरुलाई पुरेर समयको माग र मुलुकको माग अनुरुप आफुमा कार्य कुशलता र क्षमतामा अभिवृद्धि गर्न सक्छन त ? वा विकल्पको भरपर्दो खोजि हुनु जरुर छ वा नेतृत्व बिकाशको स्पष्ट अवधारणा अघिसारी यथोचित र समय र परिस्थिति र विश्व सन्दर्भ समेतलाई आंकलन गरि नया पाठ्यक्रमको बिकास र अध्यान गरि सोहि अनुरुप भावी नेतृत्वको उत्पादन सुरु गर्नु अपरिहार्य छ यो बिषय निर्क्योलमा पुग्दा भोलिको भबिष्य सुनिश्चित हुने कुरा आशा राख्न सकिन्छ भन्दा अन्यथा नहोला ।

नेपालको अहिलेको राज्य व्यवस्था र संवैधानिक ब्यबस्थामा खोट लगाउने ठाउँ देखिदैन । तर यो जड कदापि हुनसक्दैन र समयको माग र विश्वको गतिशीलतासंगै परिमार्जित हुदै अघि बढ्ने कुरा दुईमत नहोला। मेरो लागि कुन पार्टी र कुन राजनैतिक सिध्दान्त बोकेको भन्ने संग कुनै सरोकार छैन । मेरो मात्र सरोकार हो मेरो जन्म भुमि र तिन करोड मेरा नेपाली आमा बुवा , दाजु भाई र दिदि बहिनीहरुको समुन्नति , सम्वृद्धि र बिकासको चाहना मात्र हो। जो कोहि कुशल र योग्य रास्ट्र प्रेमी नेपाली जसभित्र रास्ट्रलाई कुशल रुपमा नेतृत्व लिई संचालन गर्न सक्ने क्षमता राख्न सकोस त्यसले मात्रा नेतृत्व गरोस भन्ने मात्र भनाई हो। सङ्गक्रिणता , दरिद्रता , जालझेल , लुब्धता, कपटता, ब्यक्तिबादी, अदुरदर्शिता, अल्पज्ञानी, पक्षपाति, गुटप्रेमी, अध्यानहिनता, जडता, दुस्टता, अनुशासनहिनता, भ्रष्टाचारी, दुराचारी जस्ता नकारात्मक विशेषणले गाजिएका व्यक्तित्वबाट राज्य संचालन गर्न सक्छन र ति बाट मुलुक र जनताको हित र कल्याण र सम्वृद्धि र बिकास हुन्छ भनेर आशा गर्नुको कुनै तुक रहने देखिदैन ।

एउटा कुशल नेतृत्व हुनकालागि केके विशेषता हुनु पर्छ भन्ने बिषयमा माथिनै चर्चा गरिसकिएकोछ।अब रह्यो बर्तमान अबस्थामा नेपाली जनाले भोग्नु परेका र भोगिरहेका अबस्था र मुलुकले लिएको सम्वृद्धिको गतिलाई हेर्दा र हाम्रा राज्य संचालनका संवाहकहरुको कार्य कुशलता, बौध्दिकता र उनका मानिसिक सोंच र उनले गर्दै आएका दैनिकी क्रियाकलापबाट सहजै अनुमान गर्न सकिन्छ कि हुनु पर्ने र भएको स्थिति बिचको ठुलो खाडल स्पस्ट देखिन्छ ।

दृष्टान्तको रुपमा लिने हो भने हाम्रा नेतृत्व गर्नेहरु भित्र माथि उल्लेखित नकारात्मक विशेषणहरु एका दुई बाहेक मुक्त भएको पाईदैन र ब्यबहारमा त्यो देखिदैन । जसका कारण मुलुक र जनताले निराशा बाहेक अरु अनुभूति गर्न सकेको पाईदैन । यो अबस्था एकाईसौ शताब्दि सम्म आईपुग्दा र नविन प्रविधि र बिकासको उत्कर्सको अनुभूति संसारका कयौ मुलुकले भोगी सक्दा नेपाली जनताले अझै गाँस बाँस र कपासलागि खाडि मुलुकमा रगत र पसिना बागाउनु पर्ने, लाखौ नेपालीहरुको अझै बिहान बेलुका चुल्हो बल्न नसक्ने , जाडोमा कढ्याङ्ग्रिएर नागो शरीरलिएर बाँच्नु पर्ने, घाम र पानि बाट छेकिने ओत समेत नहुने अबस्था बाटै गुज्रनु भनेको यँहा भन्दा नादान स्थिति के हुन् सक्छ| के केवल राजनैतिक पार्टी र नेतृत्वको मात्र विषय नभएर सम्पूर्ण नागरिकले गभ्भीर भएर सोच्नु पर्ने देखिन्छ नै।

सारांशमा भन्नु पर्दा कुशल नेतृत्वको खोजि हुनु जरुरीछ वा भएकाहरुमा पनि राष्ट्र हितका निमित्त सम्पूर्ण रुपमा हृदयबाटै सम्पर्पण र नेतृत्वका लागि अपरिहार्य माथि उल्लेखित विशेषताहरु लगाएत समसामयिक परिस्थिति अनुरुप चल्न र बदलिन सक्ने क्षमताको थप बढोत्तरी हुनु अत्यन्तै जरुरि छ भन्ने मलाई लाग्दछ । साँगुरो घेरामा अल्झिरहेका, नकारात्मक राजनैतिक प्रतिस्पर्धामा खेल खेल्ने, व्यभिचारी र भ्रष्टाचारी आचरण भएका, राजनैतिक सिद्धान्त र आचारणको उपहासक, लुब्ध र दरिद्र स्वाभावका ब्यक्तिहरुबाट न मुलुकले गति लिन्छ न नेपाली जनताले कुनै राज्य र सरकारको छ भन्ने कुनै अनुभूति गर्न सक्छन । त्यसैले सम्पूर्ण नेपाली जनसमुदायले असल नेतृत्वको खोजि र बिकास गर्न आजको सन्दर्भमा अपरिहार्य देखिन्छ । हरेक पल नकारात्मक टिक्का र टिपण्णी र एकले अर्काको दोषारोपणले समयको बर्बादी सिवाय केहि हुने देखिदैन । यसलाई निश्चित समय लाग्नसक्छ यो कुनै जादुगिरी बाट फट गर्दैमा हुने कुराहरु होईननै । तर समयमै सबैको यसप्रति गभ्भीर ध्यान जानु उपयुक्त देखिन्छ ।

– हरिऔन, सर्लाही, नेपाल (हाल: टोरोन्टो, क्यानाडा)

प्रतिक्रिया
ताजा अपडेट