शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

यसभन्दा निर्लज्ज कुरा के होला ? यो त बाँकी बचेको लगौंटी खोलेर अनुहारको लाज छोपेजस्तो भो !

दम्भ, अहङ्कार र पाखण्ड त ओलीका सदावहार गुण नै थिए, उनी भ्रष्ट पनि रहेछन् ।


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन १९, २०७६

नारायण गाउँले – बाँस्कोटाजस्ता क्षुद्र र हठी मान्छेले एउटा ‘फेक’ अडियोकै आधारमा राजीनामा दिएको स्टोरी बिक्दैन भन्ने सबैलाई थाहा छ । फेरि सयौं राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रयोगशाला छन् जसले एक दिनमैं बाँस्कोटाको अडियो परीक्षण गर्न सक्छन् । महिनौंअघि आफैले सुनिसकेको अडियो बाहिर आएको एकहप्तापछि कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले त्यो अडियो फेक हुनसक्ने बताए ।

यत्तिमात्रै होइन, बाँस्कोटालाई भ्रष्ट्राचारीका रूपमा चित्रण नगर्न कार्यकर्तालाई कडा आग्रह गरे । उनले स्थायी सरकार पनि भनिने आम कर्मचारीलाई अपमान हुने गरी बोलिएका घटिया शब्द र आफूले अडियो पहिल्यै हेरिसकेको विषयमा एक शब्द बोलेनन् । बाँस्कोटाको लहरोसँग आफै जोडिने भएपछि उनले इतिहासकै ठूलोमध्येको यो घोटालामा सबैखाले छानबिनलाई रोकिदिए ।

यति संवेदनशील विषयमा एक सेकेण्ड पनि ढिला नगरी तत्काल प्रमाण सङ्कलन, सुरक्षण र तथ्यापन गर्ने जिम्मेबारी सरकारप्रमुखको रूपमा उनको थियो । कम्तिमा पार्टीले छानबिन गर्ने प्रस्ताव त ल्याएको थियो, उनले त्यो पनि रोके । यो शून्य समय प्रमाणहरू नष्ट गर्न, सम्बन्धित व्यक्तिलाई बोली फेर्न र दसीहरू किनबेच गर्नका लागि दिइएको हो भन्ने सबैले बुझेका छन् ।

उनको दम्भ र अहङ्कारको पछिल्लो उदाहरण केक काण्ड पनि हो । सूर्य थापाबाहेक सबैले आचारसंहिता विपरीत उनको राजसी शैलीको बर्थडेलाई मन पराएनन् । बिरामीले एम्बुलेन्स नपाउने गाउँमा हेलिकप्टर चढेर पुगेको शासकीय केकमा नेपालको नक्सा आमनागरिकलाई मन परेन । विरोध गर्ने विपक्षीहरू मात्रै थिएनन् । भीम रावलदेखि अष्टलक्ष्मी शाक्यसम्म मात्र होइन पार्टीका तमाम कार्यकर्ताले यसको विरोध गरे । नियत सही नै भए पनि जब आम जनताले आलोचना गर्दछन् त्यसका लागि शासकले माफी माग्नै पर्छ ।

यहाँनिर नम्रतापूर्वक ओलीले आफ्नो नियत खराब नभएको तर यसबाट आम जनताको भावनामा पर्न गएको चोटप्रति माफी मागेको भए आमजनतामा उनीप्रति सम्मान बढ्ने थियो । तर शासकीय दम्भ देखाउँदै उनले आम जनताले उत्सव मनाएको तर मिडियाले इर्ष्या गरेको भनेर खिल्ली उडाए । होली वाइन काण्डमा पनि सिङ्गो देशको भावनामा चोट पुगेको थियो । प्रधनमन्त्रीजस्तो व्यक्ति एउटा विवादास्पद चर्चका पाहुनासँग सोल्टी होटलमा रात बिताएको र सरकारका सबै निकायलाई वाइन पिउन उर्दी गरेकोमा धेरै रुष्ट थिए । तर उनले रुष्ट हुनेहरूकै खिल्ली उडाए ।

“यसभन्दा निर्लज्ज कुरा के होला ? प्रधानमन्त्रीले अडियो नक्कली हुनसक्ने बताएको भोलिपल्ट बाँस्कोटाले “बोली आफ्नै भएको तर बिना अनुमति रेकर्ड गरिएको” भनेर अदालतमा मुद्दा दिएका छन् । यो त बाँकी बचेको लगौंटी खोलेर अनुहारको लाज छोपेजस्तो भो ! इमान्दार कार्यकर्ता हुनुहुन्छ भने यो समय किन्तुपरन्तुको होइन, शुद्धीकरणको हो । आँखा र विवेक तपाईंसँग पनि त छ नि । सत्य भनेको ‘चेन अफ कमाण्ड’बाट आउने व्याख्यामात्रै त होइन।”

उनी पढ्दैनन् । तथ्यहरू त झन बुझ्ने कुरो भएन । उनले पचास अर्बको अमेरिकी सहयोगलाई पाँच सय अर्ब आउँदै छ भनेर भाषण गरे । अझ त्यसभित्र कति करोड़ हुन्छ भनेर गन्न त क्यालकुलेटर नै चाहिने बचकाना तर्क गरे । नाकाबन्दी थियो । मान्छे ग्यासको सिलिन्डरका लागि तीन महीना लाइन बसेका थिए । सरकारले असहज परिस्थितिका कारण आपूर्ति सुचारु गर्न नसकेकोमा माफी माग्नुपर्ने थियो, उनले अब काँधमा सिलिन्डर बोक्ने दिन गएको र घरघरमा पाइपबाट ग्यास पुऱ्याइने बताए ।

धेरै वर्ष दिक्क लाग्दो गरी दोहोऱ्याइरहेको त्यो विषय त अहिले उनी आफैले बिर्से । पानी जहाजको कुरो त डेढ़ वर्षजति उनको हरेक भाषणमा आधा घण्टाभन्दा बढ़ी आउँथ्यो । अर्को आधा घण्टा यो सपना नपत्याउनेलाई गाली गर्न बित्थ्यो । उत्तेजनामा टिकटको मिति नै तोक्नेदेखि पानी जहाज कार्यालय खोल्नेसम्म्मका काम भए । पाइपमा ग्यास हिँड्दैन या समुद्रमा एउटा पानी जहाजमा नेपाली झण्डा गाड्न सकिन्न भनेर त्यसको आलोचना भएको थिएन । औचित्य, प्राथमिकता, बजेट र उनले तोकेको टाइमलाइनलाई लिएर त्यसको आलोचना भएको थियो ।

यो दुई वर्ष पार्टी एकीकरण र भागबण्डा, कोमामा पुगेको विपक्षीको आलोचना, मपाइँको उर्दी, भ्रष्टाचार र आत्मप्रशंशामैं बित्यो । गाउँ गाउँ पुग्नुपर्ने प्रधानमन्त्री देशलाई चाहिएको थियो तर उनी जहाँ जान्छन् त्यहाँ सार्वजनिक बिदा दिनुपर्ने अवस्था आयो । एउटा कुशल नेतृत्व भएको भए यस्तो बलियो जनमत भएको सरकारले धेरै राम्रो काम गर्न सक्थ्यो । यो असफलता पार्टीको भन्दा पनि व्यक्तिको हो भनेर सच्याउने समय भने अझै छ ।

प्रतिक्रिया
ताजा अपडेट