शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

भ्यालेन्टाइन पादरी भन्दा कृष्ण-गोपिनीको प्रेम रसिलो, कृष्ण अष्टमीलाई नै भ्यालेन्टाइन डे मान्दा राम्रो !


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

म आफूलाई प्रेमको कोर विज्ञ भन्दिन। धेरै इन्साइक्लोपेडियाबाट हेरेर भ्यालेन्टाइन पादरीको कुरा गर्नुभन्दा कृष्ण गोपिनीको कुरा गर्नु वेश। मलाई उनीहरुको प्रेमप्रसंग रसिलो र एकदम रोचक लाग्छ। कृष्ण गोपिनीकै कुरा गर्नुु पर्ने हो भने कृष्ण अष्टमीकै दिन मनाउनु पर्ला जस्तो छ भ्यालेन्टाइन डे पनि।

मेरो विचारमा हामीले हरेक कुरालाई एकदम विशिष्टताको रुपमा हेर्नुपर्छ। ऐतिहासिक विशेषता, स्थानको विशेषता, भौगोलिक विशेषता आदि कुरा गर्नु पर्दा नेपालको लभ र अमेरिकाको लभ नितान्त फरक छ।

उदाहरणका लागि नेपालमा लभ गर्दा केटाकेटीको जात, बाउआमाको कमाइ र सम्पत्ति जस्ता कुरा ख्याल गरिन्छ। सबै कुरा विचार गरेर लभ गर्छन् केटाकेटीहरु। अमेरिकामा त्यस्तो हुँदैन। त्यहाँ लभ भनेको नितान्त केटा र केटीबीचको कुरा हुन्छ, अरु कुराले अर्थ राख्दैन। बाउबाट अंश पाउँछु भन्ने केटाको भोक पनि हुँदैन, विश्वास पनि हुँदैन। केटीका अरु विविध सम्बन्धको ख्याल पनि गरिँदैन। यहाँ त बिस्तारै पाइला चाल्दै सोधीखोजी गर्दै लभमा अगाडी बढ्छन्।

ठाउँ अनुसार लभ र विवाह पनि विशिष्टकरण भएर सोच्नुपर्छ। हामी यहाँ रोमान्टिक लभको कुरा गर्दैछौं, अरु कुनै लभको होइन। कहिलेकहीँ लभको हिन्दी सिनेमा आउँछ, त्यसमा नदेखि नहुने, आँखामा सधैँ नाचिरहने, सँगै बस्न पाए हुने त्यस्तै कुराहरु आउँछ। यो खाले लभको कुरामा सम्भोग हुन पनि सक्छ, नहुन पनि सक्छ। सम्भोग त व्यावसायिक यौनकर्मीहरुसँग पनि हुन सक्छ तर त्यसमा लभ हुँदैन। त्यो रोमान्टिक लभ होइन। हामीले कुरा गरेको लभ त्यो होइन। सँगै बस्ने, अंगालो मार्ने आतुरताको कुरा हो, त्यमसा सम्भोग हुन पनि सक्छ सक्दैन पनि। ती अधिंकाश त विवाह नहुँदाको अवस्था हो। तर विवाह हुँदाको अवस्थापछि पनि त्यस्तो हुन सक्छ।

हरेक लभको आआफ्नै समाजशास्त्र हुन्छन्। रोमान्टिक लभको पनि आफ्नै समाजशास्त्र छ। त्यसलाई अरु खालको लभमा मिसाएर बुझ्यौं भने अलि बढी हुन्छ जस्तो लाग्छ। उदाहरणका लागि सबै समाजमा श्रम हुन्छ, श्रमिक हुन्छन्। श्रम त सबैमा हुन्छ– दास हुन्छ, अर्धदास हुन्छ, कमैया हुन्छ। सबै श्रमिक एउटै होइनन्, सबैको आआफ्नो विशिष्तता हुन्छ। त्यसकारण श्रमको चरित्र बुझ्दा के कारणले श्रमिक हो भनेर बुझ्नु पर्ने हुन्छ। प्रेम पनि त्यस्तै हो। कस्तो प्रेम, कोसँग हुने प्रेम आदि। हामी आज रोमान्टिक लभको मात्र कुरा गर्दैछौं।

रोमान्टिक लभ भनेको एकदम खुसीको कुरा, उमंगको कुरा, आनन्दको कुरा, सँगै बस्न खोज्नेका कुरा हुन्। यसले हामीलाई व्यक्तिगत स्वतन्त्रता दिएको जस्तो पनि लाग्छ। लभ गर्न पाउँदा भयंकर स्वतन्त्र भए जस्तो लाग्छ। कतिपय समाजमा त लभ गर्न बाध्य हुन्छन् केटाकेटी। किनकी लभ नगरी सम्बन्ध नै अगाडी बढ्दैन। साथी पनि बन्दैन, विवाह पनि हुँदैन, केही पनि गर्न पाइँदैन। त्यसकारण केटाकेटी यस्तो बाध्यतामा पर्छन् कि लभ नगरी बस्नै सक्दैनन्।

हामीकहाँ लभ नगरी पनि बस्न सकिन्छ। यूरोप अमेरिकामा लभ नगरी त उपाय नै छैन। जे गर्दा पनि लभ गर्नुपर्छ। साथी बनाउँदा पनि लभ गर्नुपर्छ, सम्भोग गर्न पनि लभ गर्नुपर्छ, जीवन साथी खोज्न पनि लभ गर्नुपर्छ। त्यसकारण लभ नेसेसरी पार्टस् अफ एक्जिसटेन्स हो। हामीकहाँ त्यस्तो छैन। हाम्रो रोजाई, स्वतन्त्रता भन्ने कुरा के हो भन्ने लाग्छ। हामी आफैं तरकारी किन्न स्वतन्त्र छौँ कि छैनौँ? पूर्ण स्वेच्छा छ कि छैन? स्वच्छाले लभ गरेको हुन्छ नि हुन त, अरुले खोज्देको हैन आफैंले खोजेको हो। घरमा के खाने भनेर पूर्णस्वेच्छा छ कि छैन? भन्न खोजेको कुरा के हो भने समाजले के तरकारी किन्ने, को केटी वा केटासँग विवाह गर्ने कुरा निर्धारण गर्छ। म के विषय पढ्ने, के गर्ने भनेर पनि समाजले निर्धारण गर्ने अवस्थामा छौं हामी। पूर्ण उन्मुक्ति छैन।

समाजशास्त्रको मर्म भनेको कसरी समाजले हाम्रा रोजाइहरु निर्माण गरिदिन्छ भन्ने हो। समाज र हामीबीचको अन्तरसम्बन्ध कस्तो हो? हामी किन सामाजिक प्राणी हौं भन्या त्यही हो। समाजले कसरी हामीलाई बनाउँछ र हामीले कसरी समाज बनाउँछौं भन्ने हो। इतिहास, जात, समाज, लिंग, उमेर हरेक कुराले फरक पार्छ। १८–२० वर्षका केटाकेटी अंगालो मारेर हिँडे भने ‘ए हेरहेर’ भन्लान् तर मैले हात समातेर हिँड्दा औँलो ठड्याउलान्। यो उमेरको कुरा भयो। समाजको कुरा भयो। उनीहरुलाई त्यसो गर्न बाध्य बनाएको हो। लभ गर्दा असिमित फिलिङ्सको सेन्स आउँछ। तर आजकाल लभ म्यारिजलाई ‘म्यारिज अफ कन्भेनियनस’ पनि भन्न थालिएको छ।

अमेरिकामा केटाले विश्वभरका केटी हेरेर, छानेर लभ गर्ने होइन। त्यहीँ वरिपरिका सँगै पढ्ने, काम गर्ने दुई तीन सय मध्येबाट जीवन साथी छान्छ। हाम्रो नेपाली परिवारमा पनि त्यही घेरामा रहेर छानिन्छ। मैले आफैं छानेपनि, बाउआमाले छानेपनि त्यही घेरा भित्रबाट छान्ने हो। त्यसकारण पूर्ण स्वेच्छा कहीँ पनि छैन। व्यक्तिगत रोजाई जस्तो देखिन्छ र ती भनेका परम्परा हुन्।

समाजशास्त्र पढ्दा सिक्ने कुरा त्यही हो र यसकारण समाजशास्त्र पढ्नु महत्वपूर्ण छ। समाजशास्त्रले हामीबीच म र म बस्ने समाजको चरित्र उजागर गर्न सजिलो गर्छ।

(त्रिवि समाजशास्त्र विभागले आयोजना गरेको ‘प्रेम र विवाहको समाजशास्त्र’ विषयक कार्यक्रममा प्राध्यापक चैतन्य मिश्रले २०७४ मा दिएको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया