शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

अव विश्वविद्यालयको डिग्री घरै बसेर


  • समिक्षा अधिकारी
  • शुक्र, फाल्गुन ९, २०७६

पारिवारिक जिम्मेवारी, घर्किंदो उमेर, व्यापार-व्यवसाय वा जागिर। यी सबैमा बाँधिएपछि विश्वविद्यालय गएर पढ्ने फुर्सद कमै हुन्छ। फुर्सद नभए पनि ज्ञानको भोक कहाँ मेटिन्छ र! त्यसमाथि जागिरको बढुवामा अनुभवसँगै शैक्षिक योग्यता पनि त मूल्यांकन गरिन्छ!

यस्तै स–साना व्यस्ततालाई ध्यानमा राखेर संसारभरि खुला विश्वविद्यालयको अवधारणा सुरू भएको हो।

‘द ओपन युनिभर्सिटी यूके’ विश्वकै पहिलो खुला विश्वविद्यालय मानिन्छ। सन् १९६९ मा खुलेको यो विश्वविद्यालयमा विश्वभरका एक लाख ६८ हजार विद्यार्थी सामेल छन्। यो विश्वविद्यालय सुरू भएको लगभग ५० वर्षपछि नेपालमा पनि खुला विश्वविद्यालय सञ्चालनमा आएको छ।

०७४ सालमा स्थापना भएको नेपाल खुला विश्वविद्यालय (एनओयु) ले विभिन्न संकाय गरी १७ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ। देशभरका करिब एक हजार तीन सय विद्यार्थीले आफ्नो सिट सुरक्षित गरको एनओयुका उपकुलपति लेखनाथ शर्मा बताउँछन्।

यो वर्ष पाँच नयाँ विषयमा भर्ना आह्वान गरिएको छ। थप पाँचवटा कार्यक्रम ‘पाइपलाइन’ मा छन्।

‘विश्वमा खुला विश्वविद्यालय निकै लोकप्रिय छ। नेपालमा शैक्षिक गुणस्तरको प्रश्न उठिरहेको छ, बुझाउन सजिलो छैन,’ उपकुलपति शर्मा खुला विश्वविद्यालयको अवधारणा स्पष्ट पार्छन्, ‘यो सरकारले नै आवश्यक ठानेर सुरू गरेको काम हो। पढाइमा कुनै सम्झौता छैन।’

लामो समय विज्ञहरूको छलफलपछि २०७३ मा ऐन बनेपछि ०७४ मा विश्वविद्यालय खुलेको हो। ‘नेपालमा वैकल्पिक शिक्षा आवश्यक छ,’ एनओयुको पहिलो ब्याचले यो पुष्टि गरिसकेको उपकुलपति शर्मा बताउँछन्।

विकसित मुलुकमा लगभग ५० प्रतिशत मान्छे उच्च शिक्षाको पहुँचमा छन्। नेपालमा मुश्किलले १५ प्रतिशत। उच्च शिक्षामा पहुँच र बदलिँदो समयसँग अद्यावधिक रहनु खुला विश्वविद्यालयको उद्देश्य हो।

‘एनओयुले सबै किसिमका र सबै ठाउँका इच्छुक व्यक्तिका लागि उच्च शिक्षा लिने अवसर खोलिदिएको छ,’ उनले भने, ‘अवसर सदुपयोग गर्न बौद्धिक वर्गमा अनुरोध पनि छ।’

खुला विश्वविद्यालयको चर्चा गरिरहँदा शैक्षिक प्रक्रियाबारे प्रश्न उब्जिन्छ। अघिल्लो पिँढीका मान्छेलाई यसबारे बुझाउन गाह्रो भएको शर्माको अनुभव छ। त्यसो त अहिले चल्दै गरेको खुला विश्वविद्यायल पाँचौं ‘जेनेरेसन’ हो। पत्रमञ्जुषाबाट सुरू भएको वैकल्पिक शिक्षा रेडियो, टेलिभिजन, इमेल हुँदै अनलाइन र डिजिटल युगमा आइपुगेको छ।

पहिलेको प्रक्रियामा अन्तर्क्रिया गर्न मिल्दैन थियो। तर स्तरीकृत भएर आइसकेपछि प्रत्यक्ष अन्तर्क्रिया सम्भव भएको छ।

‘पाँचौं जेनेरेसनको अभ्यास गर्दा हात मिलाउन मात्रै मिल्दैन, बाँकी अन्तर्क्रिया, छलफल, सामूहिक सुझाव, प्रश्न उत्तर सबै काम गर्न सकिन्छ,’ शर्माले भने, ‘यो समान सहभागितामूलक शिक्षा नीति पनि हो। पाँचौं पुस्ताले हाइब्रिड शिक्षा लिइरहेका छन्।’

परम्परागत विश्वविद्यालय सबै वर्ग, लिंग, समुदाय, भूगोलको पहुँचमा छैन। त्यसो हुन्थ्यो त खुला विश्वविद्यालयको आवश्यकता महशुस हुने थिएन। खुला विश्वविद्यालय भने विद्यार्थी खोज्दै घरसम्म पुग्छ।

शर्मा थप्छन्, ‘यो विद्यार्थी खोज्दै विश्वविद्यालय घर-घरमा पुग्ने पढाइ विधि हो।’

कतिपय स्थानमा साँस्कृतिक कारण पनि उच्च शिक्षाका बाधक भइदिन्छन्। महिलाहरू बाहिर पढ्न जान पाउँदैनन्। भौगोलिक दूरीमा बसेको, नियमित विश्वविद्यालय पुग्न नसक्ने, पढाइ रोकिएको लामो समय भइसकेकाहरू खुला विश्वविद्यालयका लक्षित विद्यार्थी हुन्। नयाँ युवा पुस्ता कमै हुन्छन्।

घरै बसेर उच्च शिक्षा, घरैमा बसेर डिग्री? जस्ता बोलिचालीका भाषाले खुला विश्वविद्यालयमा पढाइ नै हुँदैन कि! पढाइबिनाको उच्च शिक्षा के काम? जस्ता धारणा पनि बनेका छन्।

पढ्दै नपढेर डिग्री आउने कुरा भ्रम मात्र भएको बताउँछन् उपकुलपति शर्मा।

‘देशका उच्चपदस्थ व्यक्ति एनओयुमा भर्ना छन्। हचुवाका भरमा डिग्री दिनु भनेको देशलाई नोक्सान हो। यहाँको उत्पादन भोलि विश्व प्रतिस्पर्धामा उतार्नु छ,’ उनले भने, ‘पढ्नुपर्छ तर परम्परागत तरिकामा होइन। विद्यार्थीले आफू अनुकूल जहाँ जसरी पनि पढ्न पाउँछन्। इन्टरनेट हुनुपर्ने एकमात्र सर्त छ।’

एनओयुका सबै कक्षा अनलाइनबाट सञ्चालन हुन्छन्। अहिले बेलुका ६ देखि १० बजेसम्म हरेक दिन कक्षा हुन्छ। कुनै छुट्यो, के गर्ने भनेर चिन्ता लिनुपर्दैन। छुटेको कक्षाको रेकर्ड पछि हेर्न र सुन्न पाइन्छ। नबुझे दसपटक पनि हेर्न सक्छन्। अन्तर्क्रिया, छलफल गरेर बुझ्ने समय अनिश्चित हुन्छ। यावत् सुविधा वैकल्पिक शिक्षा प्रणालीमा मात्र भएको एनओयुको दाबी छ।

एनओयुमा अहिले म्यानेजमेन्ट एन्ड ल, सोसल साइन्स, साइन्स हेल्थ एन्ड टेक्नोलोजी अन्तर्गतका विषयमा स्नातकोत्तर र एमफिल पढाइ भइरहेको छ। फेब्रुअरी र अगस्टमा नयाँ भर्ना खुल्नेछ।

भर्ना गर्ने, कक्षा लिने, पुस्तकालय, परीक्षाबारे थाहा पाउने, परीक्षा दिने, परीक्षाफल आदि जानकारी अनलाइनबाटै दिइन्छ। यसका लागि एनओयुले एप्लिकेसन (एप) बनाएको छ। विश्वविद्यालयको वेबसाइटबाट पनि जानकारी लिन सकिन्छ। माइक्रोसफ्टसँग सम्झौता गरेर विदेशी शिक्षकसँग कक्षा सञ्चालन गर्न मिल्ने वातावरण पनि बनाएको छ।

‘बैंक खातामा पैसा जम्मा गर्ने, आफू अनुकूल फारम भर्ने। प्रवेश परीक्षामा सहभागी हुने। योग्यताअनुसार नाम निस्किएपछि भर्ना लिइन्छ,’ एनओयुको भर्ना प्रक्रियाबारे उपकुलपति शर्माले भने, ‘नेपालभर पाँचवटा स्टडी सेन्टर छन्। तोकिएको सेन्टरमा पुगेर विद्यार्थीले लेखेर अन्तिम परीक्षा दिनेछन्।’

भर्ना भइसकेपछि विद्यार्थीको आफ्नो नाम र ‘आइडी’ बन्छ। विद्यालयले बनाएको सफ्टवेयरमा लगइन गरेपछि हप्ताभरको पाठ्यक्रम, पढाउने शिक्षक, गर्नुपर्ने ‘असाइनमेन्ट’ सबै हेर्न सकिन्छ।

विद्यार्थीको उपस्थिति, गतिविधि, बीचमा लगइन भएको, लगआउट भएको, छुटेका कक्षा डाउनलोड गरे-नगरेको, सबै सफ्टवेयरमा रेकर्ड बसेको हुन्छ। शिक्षकले आफ्नो तर्फबाट गर्ने मूल्यांकन सफ्टवेयरले नै बताउँछ। रेकर्ड राम्रो भएको विद्यार्थीले अंक पनि राम्रो पाउँछ।

विद्यार्थीले पूरा गर्नुपर्ने कार्यभारको मामिलामा एनओयुको नीति कडा छ। पढ्न जसरी र जुनसुकै बेला सकियो, तर तोकिएको समयमा असाइनमेन्ट बुझाउन नसक्दा अन्तिम परीक्षामा भाग लिन नपाउने जानकारी दिइन्छ। समयसीमाभित्र असाइनमेन्ट नबुझाउँदा ‘ड्रप आउट’ दर बढेको शर्मा बताउँछन्।

‘असाइनमेन्ट एक मिनेट ढिला पनि बुझाउन मिल्दैन,’ जिम्मेवारीमा एनओयुको भूमिका उनले बताए, ‘तपाईंको यो-यो कमजोरी छ, यसकारण अन्तिम परीक्षामा सामेल हुन मिल्दैन भनेर सफ्टवेयरले नै जानकारी दिन्छ।’

विद्यार्थीको हितमा बनाइएको नियमबारे सुनाउँदै उनले थपे, ‘भ्याइँदैन भने अर्कोपालि सामेल हुन सकिन्छ। पछि सार्न सकिन्छ। अर्कोपटक बुझाउँछु भनेर नियमअनुसार जान सकिन्छ। समय लिएर टार्न मिल्दैन।’

पुस्तकालय, शिक्षक, कक्षाकोठा, पढ्ने वातावरण आदि मूल्यांकन गर्दा उच्च शिक्षामा लगानी दिनहुँ बढ्दो छ। विश्वविद्यालयसम्म पुग्न लाग्ने एक-दुई घन्टा समय अमूल्य बन्दै छ। यता प्रविधिले सैद्धान्तिक मात्र नभई जटिल मानिएका गणित, विज्ञान, इन्जिनियरिङजस्ता विषय पनि अनलाइनबाट पढ्न सम्भव बनाइदिएको छ। एनओयुले विद्यार्थीलाई दस प्रतिशत छात्रवृत्ति व्यवस्था पनि गरेको छ।

शिक्षाका यी सबै पक्ष विश्लेषण गर्दा खुला विश्वविद्यालयको महत्व व्यापक बन्दैछ। परम्परागत विश्वविद्यालयले पनि ‘इ-लर्निङ’ पद्धति अपनाइरहेका छन्। बाहिरी मुलुकमा अझै प्रयोगमा छ।

‘हप्ताको दुई दिन विश्वविद्यालय पुग्छन्। आवश्यक अन्तर्क्रिया गर्छन। बाँकी दिन घर वा आफूपायक स्थानमा बसेर पढे भयो। फेरि जिज्ञासा जम्मा पार्यो, अर्को हप्ता गएर सोध्यो। यस किसिमको अभ्यास पनि गरिएको छ,’ अन्तर्राष्ट्रिय पठनपाठन शैली सुनाउँछन् शर्मा।

एनओयुले विद्यार्थीलाई ११० वटा अनलाइन पुस्तकालय उपलब्ध गराएको छ। भर्ना भएका विद्यार्थीलाई केही दिन ‘ओरियन्टेसन क्लास’ दिइन्छ। साथै पायक पर्ने स्टडी सेन्टर पुगेर पनि विद्यार्थीले आवश्यक सल्लाह लिन सक्छन्। यहाँ ‘आइटी’ शिक्षकको व्यवस्था छ। केही समस्या परे, फोन-म्यासेजको सुविधा छँदैछ।

यही सुविधा विद्यार्थीले थेसिस लेख्न, जर्नल तयार पार्नसमेत प्रयोग गर्न सक्छन्। आफूले लेख्न खोजेको विषयबारे पूर्ण जानकारी लेखेर दिएपछि विद्यार्थीले सुझाव र प्रतिक्रिया पाउँछन्। अनलाइनबाटै प्रस्तुतिकरण दिन सकिन्छ। सबै पास भएपछि लेख्न सकिन्छ।

नेपाल सरकारका कर्मचारी, सेना-प्रहरीका जागिरे, शिक्षक, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतले एनओयुमा भर्ना लिएका छन्। उपकुलपति शर्माका अनुसार पहिल्यै दुई-तीन डिग्री लिएका व्यक्ति पनि खुला विश्वविद्यालयको पढाइ कस्तो हुन्छ भन्ने अनुभव लिन भर्ना भएका छन्। युवा पुस्ता भने छैनन् भन्दा पनि हुन्छ।- सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट