शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

गोरु भन्दा लागत कम भए पछि गोरू बेचेर यान्त्रिक हलो किन्दै म्याग्दीका किसान


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन ६, २०७६

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगका कृषकहरुले घरमा पालेका गोरू बेचेर यान्त्रिक हलो किन्न थालेका छन्। गाउँमा कृषि मजदुरको अभाव हुनुका साथै गोरू पालेर परम्परागत तरिकाले खेती गर्नुभन्दा यान्त्रिक हलो प्रयोगले लागत घटाउने भएपछि कृषकहरुले घरमा पालेका हल गोरू बेचेरै भए पनि यान्त्रिक हलो किन्न थालेका हुन्।

कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांकअनुसार अहिले जिल्लाभर ३०० यान्त्रिक हलो सञ्चालनमा छन्। कृषि ज्ञान केन्द्र म्याग्दीबाट मात्रै हालसम्म २०० भन्दा बढी यान्त्रिक हलो वितरण गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। कतिपय किसान आफैंले किनेर समेत चलाउन थालेका छन्।

कार्यालयले सुरुमा २०६८ मा चुनावमा यान्त्रिक हलो वितरण गरेको थियो । त्यसयता म्याग्दीका समथर फाँटदेखि भिरालो जमिनमा समेत यान्त्रिक हलोको प्रयोग क्रमशः बढ्दै गएको हो । समथर जग्गामा ट्रयाक्टरको प्रयोगले खेत जोत्ने किसान पनि पछिल्लो समय मिनी पावरटिलरतर्फ आकर्षित हुन थालेका हुन्।

एउटा यान्त्रिक हलोले पाँच घण्टामा ७ देखि ८ रोपनीसम्म जोत्न सक्छ । परिवारमा खेतीमा खट्न सक्ने जनशक्ति नहुने सानो परिवारले पनि बाँझिएको जमिनमा खेती गर्न सहज हुने किसानहरु बताउँछन । ‘एक हल गोरू र हलीले दिनभरमा मुस्किलले एक रोपनी जोत्छ,’ स्थानीय किसानले भने, ‘यान्त्रिक हलोले अढाइ घण्टामा चार रोपनी जोत्न सकिन्छ। चार रोपनी खेत जोत्दा दुई लिटर डिजेल खर्च हुन्छ।’

व्यावसायिक तरकारी खेती लगाउने र धेरै जमिन हुने किसानले यस्तो हलो बढी माग गर्न थालेका छन् । एउटा हलोले पाँच वर्षसम्म मर्मत नगरी लगातार जोत्न मिल्ने भएपछि गोरूको तुलनामा यो निकै सस्तो र किफायती हुने किसान र प्राविधिकहरुको भनाइ रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट