मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

ओली सहित नेकपाले आज भव्यताका साथ ‘जनयुद्ध दिवस’ मनाउँदै


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन १, २०७६

काठमाडाैं । आज फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन, विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस मनाउँदै छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज २५ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । तर, यसपटक कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको छ ।

तत्कालीन नेकपा (माओवादी)ले फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस मनाउँदै आएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि सामूहिक रूपमा जनयुद्ध दिवस मनाउन लागेको हो । नेकपाको मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने छ ।

आज धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’सहभागी हुँदै छन् । गत वर्ष दुवै अध्यक्ष उपस्थित हुने भनिए पनि प्रधानमन्त्री ओली ओली भने सहभागी हुनुभएकाे थिएन ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो । तत्कालीन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।

शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन् । विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरूले आज विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छन् ।

प्रतिक्रिया
ताजा अपडेट