शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

झन्डै २०० बर्ष अघि निर्मित नेपालको ऐतिहासिक टुईनटावर ( २ वटा धरहरा) बारे बिशेष जानकारी (भिडियो)

जमानाको त्यो गौरवशाली इतिहास, अहिलेको पुस्ताको लागि एक अपत्यारिलो कटुसत्य !


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

नरेन्द्रराज प्रसाई– विदेशतिरका जस्ता ट्विन टावर नेपालमा विक्रम संवत् १८८१/१८८२ मै बनिसकेको थियो। भीमसेन थापाले त्यतिबेला एउटा होइन दुई वटा धरहरा बनाएका थिए। एउटा अहिलेको भूकम्पले ढलेको धरहरा थियो भने अर्को भीमसेन थापाको बागदरबारभित्रको धरहरा। १८९० को भूकम्पले बागदरबारभित्रको धरहरा जगैदेखि ध्वस्त भयो। अर्को भने चिरा पर्‍यो। चिरा परेकोलाई पुननिर्माण गरियो। अर्को धरहराको भने अहिले चिनोसमेत मेटिसकेको छ।

त्यो अर्को धरहरा ११ तले थियो। तर ९० सालको भूइँचालोले त्यसलाई साढे चार तला बनाइदियो। जुद्ध शमशेरले त्यसलाई नौ तलाको गरी पुननिर्माण गर्न लगाए। त्यही धरहरा ७२ सालको भूइँचालोमा पहिलो तलाबाटै ढलेको हो।

महारानी ललितत्रिपुरसुन्दरीले १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन् । ललितत्रिपुरसुन्दरीले धरहरा बनाएको एक वर्षअघि नै अर्थात् १८८१ सालमा जनरल भीमसेन थापाले आफ्नै दरबारछेउ धरहरा बनाएका थिए । त्यसपछि ललितत्रिपुरसुन्दरीले भीमसेन थापाको एकल धरहरालाई जोडी बाँधिदिएकी थिइन् ।तत्कालीन नेपालमा जोरधरहराका कारण त्यो ठाउँ प्रसिद्ध थियो ।

ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, “स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो । शुभम् ।।

ललितत्रिपुरसुन्दरी र भीमसेन थापाका दुवै धरहरामा संवत् १८९० को भूकम्प र १९१३ को बज्रले क्षति पुगेको थियो । यी दुवै धरहराको संवत् १९२६ मा जीर्णोद्धार गरिएको थियो । साथै संवत् १९९० को महाभूकम्पबाट फेरि यी दुवै धरहरा भत्किएका थिए । त्यस घडी भीमसेन थापाको धरहरा जगैबाट गर्ल्यामगर्र्लुम भत्केको थियो । १९९० को महाभूकम्पबाट ललितत्रिपुरसुन्दरीले बनाएको धरहराचाहिँ साढे चार तला सग्लो रहेको तथ्य त्यति बेला खिचेको तस्बिरमा देखिन्छ ।

”१९९० को महाभूकम्पबाट ललितत्रिपुरसुन्दरीले बनाएको धरहराचाहिँ साढे चार तला सग्लो रहेको तथ्य त्यति बेला खिचेको तस्बिरमा देखिन्छ । उक्त तस्बिरमा एकातिरको मात्रै दृश्य देखिने भएकाले धरहराको चर्केको अरू भाग नदेखिएको पनि हुन सक्छ किनभने धरहराको मूल ढोकाको सिरानमा राखिएको धातुको अभिलेखमा चाहिं त्यो धरहरा ‘दुई तलासम्म पुरानो बाँकी भएको’ लेखिएको छ ।”

उक्त तस्बिरमा एकातिरको मात्रै दृश्य देखिने भएकाले धरहराको चर्केको अरू भाग नदेखिएको पनि हुन सक्छ किनभने धरहराको मूल ढोकाको सिरानमा राखिएको धातुको अभिलेखमा चाहिं त्यो धरहरा ‘दुई तलासम्म पुरानो बाँकी भएको’ लेखिएको छ । त्यस अभिलेखको पूर्ण पाठ यस प्रकारको छः ”संवत् १८८२ साल चैत सुदी १२ रोज ४ मा श्रीश्रीश्रीमल्ललित त्रिपुरसुन्दरीदेवीबाट बनाइबक्सेको यो धरहरा वि.स.१९९० साल माघ २ गते (माघ कृष्ण ३०) सोमबारको भीषण भूकम्पले भत्कि व्रि्री दुई तलासम्म पुरानो बाँकी भएकोमा अरु तला उठाई बनाई श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट वि.स.१९९२ सालमा जीर्णोद्धार गरिबक्सिएको । शुभम् ।।

नौ तले धरहराको सातौं तलामा बार्दली रहेको थियो । जमीनदेखि नवौं तलासम्म २३८ वटा खुड्किला रहेको धरहराको माथिल्लो तलामा शिवलिङ्गको स्थापना गरिएको थियो । धरहराको उचाइ २०३ फिट थियो । तर जगदीशचन्द्र रेग्मीले धरहराको उचाइलाई ‘यो २५० फीटजति अग्लो छ भनिन्छ’ लेखेका छन् भने गौतमबज्र बज्राचार्यले ‘९० हात’ उल्लेख गरेका छन् ।

त्यति बेलाका काठमाडौंका जनतालाई महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्नुपर्दा भने धरहराका टुप्पाबाट बिगुल बजाइने अथवा कराइने गरिन्थ्यो । पछिपछि यो ठाउँ सैनिकका लागि पनि उपयोगी हुन थाल्यो । २०४६ सालपछि धरहराबाटै काठमाडौं उपत्यकाको दृश्यावलोकनका गलत परिपाटि पनि रहँदै आए ।

विस २०७२ को भूकम्पले बाँकि रहेको एक धरहरा पनि नामेट भयो

जनश्रुति अनुसार धरहरा जोस, जाँगर र उत्साहको प्रतीक मानिन्थ्यो । धरहराको आकार, प्रकार र ढाँचाका कारण यसलाई हिन्दू, इसाई र मुसलमान धर्मको मिश्रति स्वरूप हो पनि भनिन्थ्यो ।  विस २०७२ को भूकम्पले बाँकि रहेको एक धरहरा पनि नामेट पार्यो ,अब यी गौरवशाली धरोहर केवल इतिहास मात्रै भयो ।

भिडियो

साहित्यकार नरेन्द्रराज प्रसाईको फेसबुकबाट

प्रतिक्रिया
ताजा अपडेट