बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

१५ दिनपछि अवकाश हुन लागेका आईजी सर्वेन्द्र खनाललाई यस्तो आपत


  • स्वदेश नेपाल
  • सोम, माघ १३, २०७६

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल माघ २८ गते सकिँदैछ । आफ्नो तीन वर्षे कार्यकालमा खनाल सधैं विवादमा परिरहे । उनी भ्रष्टाचार मुद्दामा परेनन् । तर, नैतिकताको प्रश्न भने उनलाई महानिरीक्षकमा बढुवा भएदेखि नै उठिरह्यो ।

नेपाल प्रहरी संगठनमा राम्रा काम गरेकाले उनी गृह मन्त्रालयबाट पुरस्कृतसमेत हुँदै आएका छन् । तर, राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार हननकर्ताको सूचीमा राख्ने तयारीले भने उनलाई निकै अप्ठेरो पर्ने देखिन्छ ।

गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कारबाहीको तयारी गरेको छ ।

आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि दुवैलाई कारबाहीस्वरुप कालोसूचीमा राख्न लागेको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकाल्दै आयोगले त्यसमा संलग्न प्रहरीलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको थियो ।

इन्सपेक्टर कृष्णदेवप्रसाद साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई मुद्दा चलाउन सिफारिस गरिएको थियो । त्यससम्बन्धी पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयबाटै अघि नबढाएको भन्दै आयोगले कारबाही गर्न लागेको हो ।

आयोगले गत ४ कात्तिकमा तीन महिनाभित्र सिफारिस कार्यान्वयन गर्न पत्राचार गरेको थियो । गत ४ माघमा सिफारिसको तीन महिना पुगे पनि दोषी प्रहरीलाई कारबाही नभएपछि आयोगले शुक्रबार दोस्रोपटक सरकारलाई सिफारिस कार्यान्वयन गर्न ताकेता गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट