सोम, माघ १३, २०७६
Mon, January 27, 2020

‘डाक्टर बाबु’को प्रमाणपत्र देखाएर छोराले तीन वर्षदेखि बिरामी जाँच्दै आएको रहस्य खुलेपछि (भिडियो)


  • स्वदेश नेपाल
  • बुध, माघ १, २०७६

लमजुङको बेसीशहर नगरपालिका ९ शेरामा भूपू सैनिक डेन्टल क्लिनिक छ । क्लिनिकमा सुरेशराज बज्राचार्यले तीन वर्षदेखि बिरामीको शल्यक्रियासम्मको उपचार गर्दै आएका छन् । तर उपचारको अनुमतिका लागि नेपाल मेडिकल काउन्सिलले लिने परीक्षा भने उनले पास गरेका छैनन् । उनले बिरामीको उपचारका लागि आफ्ना पिता डा. प्रेमराजलाई काउन्सिलले दिएको प्रमाणत्रकै दुरुपयोग गरेका छन् ।

रेशराजले आफ्नो भनेर देखाएको एनएमसी नम्बर १५०५५ उनको होइन, उनका बाबु प्रेमराजको नाममा रहेको काउन्सिलको वेभसाइटबाट देखिन्छ । तर यसको नियमन काउन्सिलदेखि स्थानीय प्रशासन र स्थानीय तह कसैले पनि गरेका छैनन् ।

क्लिनिकमा राखिएको बोर्डमा सुरेशराजले भारतको मगध विश्वविद्यालयबाट बीडीएस पास गरेको उल्लेख छ । उनी ललितपुरको गावहालवासी हुन् । मेडिकल काउन्सिलको नम्बर दुरुपयोग र उनको प्रमाणपत्रमाथि छानबिन गर्ने स्थानीय प्रशासनले जनाएको छ ।

काउन्सिलको अनुमति विना बिरामी जाँच गर्नै पाईंदैन । योग्यताविनाका व्यक्तिले गर्ने उपचारमा विरामीको स्वास्थ्यमा तलमाथि भए त्यसको जिम्मा कसले लिन्छ ? त्यसैले यो विषयलाई छानबिन मात्र होइन कारबाहीकै विषय बनाइनुपर्छ ।

ठूला सरकारी अस्पतालमा उपचार पाउनै मुस्किल- सिन्धुलीका विष्णुकुमार बस्नेत पक्षघातबाट पीडित आमाको उपचारका लागि आइतबार वीर अस्पतालको आकस्मिक कक्षमा पुगे । तर ४३ शैयाको आकस्मिक कक्षमा घण्टौं कुर्दा पनि बेड नपाएपछि उनले निकै सास्ती खेप्नुपर्यो । पीडाले छट्पटिएकी उनकी आमाको स्टेचरमै राखेर उपचार भइरहेको छ ।

कुल ४ सय ६० शैयाको मुलुकको सबैभन्दा पुरानो वीर अस्पतालमा उपचारका लागि दैनिक दुर्इ हजार ६ सय विरामी पुग्छन् । तर सामान्य उपचारमै सर्वसाधारणले सहज पहुँच पाउँदैनन् । त्यसमाथि आईसीयु लगायत आकस्मिक उपचार कक्षमा सामान्य अवस्थामा शैया पाउनै कठिन छ ।चार सय शैयाको ललितपुरको पाटन अस्पतालमा दैनिक १७ सयको हाराहारीमा विरामी जान्छन् । आइसीयु कक्षमा २३ शैया मात्र रहेकाले यहाँपनि विरामीले सहजै भर्ना पाउँदैन् । त्रिवि शिक्षण अस्पतालमा त विरामीको चाप थेगिनसक्नु छ ।

६ सय ६२ शैयाको क्षमता भएपनि यहाँ आइसीयुमा जम्मा ११ शैया छन् । तर अस्तपालले विरामीको अवस्थाभन्दा पहुँचका आधारमा भर्ना लिने गरेको छ । जसका कारण पहुँच नहुने बिरामीले उपचारका लागि चर्को मूल्य तिरेर निजी अस्पताल धाउनुपरिरहेको छ । मुलुकभर सञ्चालित सानाठूला १ सय ३० वटा सरकारी अस्पतालमा १० हजार शैया छन् । जुन सरदर ३ हजार जनसंख्या बराबर एक शैया हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भने पाँच सय जनसंख्यालाई एक शैया चाहिन्छ ।स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो । त्यसैले बिरामीले सहजैरुपमा उपचार पाउने सुनिश्चित गर्न शैया थप गर्ने विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट