सोम, माघ १३, २०७६
Mon, January 27, 2020

कुर्सीमै बसेर मन्त्रीहरूकाे योगभ्यास


  • स्वदेश नेपाल
  • बुध, माघ १, २०७६

काठमाडौं, माघ १ : योग दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मन्त्रीहरूले कुर्सीमै योगाभ्यास गरेका छन्।

बुधबार राष्ट्रिय योग मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा योगाभ्यास गरिएको हो। कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललगायत विशिष्ट व्यक्ति सहभागी थिए।

राष्ट्रिय योग मूल समारोह समितिले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताए। उनले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताए।

निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए। आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उनको भनाइ थियो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताए। उनले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए। उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने बताए

उनले योगलाई सप्ताहरूपमा नभएर वर्षभित्र अभियानका रुपमा सञ्चालन गर्ने तयारीसमेत भएको जानकारी दिए। कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट