सुगौली सन्धि अघि नै कालापानीलाई नेपाली भूभाग स्वीकार गरिएको ‘गोप्य पत्र’बाहिरियो

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार

नेपाल-अङ्ग्रेज यु’द्ध समाप्तिपछि सुगौली सन्धि हुनुअघि नै तत्कालीन इस्ट इण्डिया कम्पनी महाकाली नदीलाई नेपालसँगको सिमाना मान्न तयार रहेको एउटा पुरानो दस्तावेजले देखाएको छ।

सन् १८१५ मा तात्कालिन इस्ट इण्डिया कम्पनीको गभर्नर जनरल लर्ड मोइराले ब्रिटिश सरकारको एउटा कमिटीलाई लेखेको गोप्य पत्रमा काली नदीलाई उपनिवेशकालीन भारत र नेपालको सीमाका रूपमा स्वीकार गरेका थिए।

कुमाउ युद्धमा आफ्ना सैनिकले गौर्खाली फौजलाई हराएपछि लेखिएको उक्त पत्रमा स्पष्टसँग सीमा किटान गरिएको छ। त्यो बेहोरा सहित उक्त पत्र लेखिएको झण्डै १० महिनापछि नेपाल र इस्ट इण्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो,

जसको पाँचौ बुँदामा नेपालका राजाहरूले काली नदी पश्चिमको भूभागलाई आफ्नो भनेर दाबी नगर्ने उल्लेख छ। महाकाली नदीको उद्‍गमविन्दुका बारेमा नेपाल र भारतका अधिकारीहरूबीच लामो समयदेखि मतभेद कायम छ।

गोप्य पत्र: अर्को प्रमाण
कालापानी विवादबारेको इतिहास नजिकबाट नियालेका कतिपय विज्ञहरूले लर्ड मोइराले सन् १८१५ को जुन १ तारिखमा पठाएको पत्र भारतसँग लामो समयदेखिको सीमा विवाद समाधान गर्न एउटा महत्त्वपूर्ण प्रमाण हुनसक्ने बताएका छन्।

त्यसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमाथि नेपालले गरिरहेको दाबीलाई बल दिने उनीहरूको भनाइ छ। ४९ बुँदे उक्त पत्रको ३७ औँ बुँदामा कुमाउलाई आफूमा विलय गराउनुलाई ‘मूल्यवान’ उपलब्धि भन्दै काली नदीलाई सिमाना बनाइने उल्लेख छ।

आफ्नो पत्रमा कुमाउमाथि नियन्त्रण गर्दा करमार्फत हुने आम्दानी सबिस्तार उल्लेख गरिएको भन्दै लर्ड मोइराले लेखेका छन्, “म पश्चिम प्रान्तको सीमा अलकनन्दा र गङ्गा वा अन्तत: भागिरथी र गङ्गासम्म पुर्‍याउन प्रस्ताव गर्छु किनभने देशको भूगोलबारे राम्रोसँग सोचविचार गर्ने सामर्थ्य मसँग छ।”

“पूर्वतर्फको हाम्रो सीमा काली नदी हुनेछ जुन हिमालयबाट निस्किन्छ र त्यहाँबाट लगभग सिधाबाटोबाट दक्षिणी क्षेत्रहुँदै समथर भूभागमा पुग्छ र त्यहाँ त्यसलाई गोग्रा भनेर चिनिन्छ।”

इतिहासबारेकी एक अनुसन्धानकर्ता अवन्तिका रेग्मीका अनुसार इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल फ्रान्सिस एड्वार्ड रअडन ह्यास्टिङ्ग्सलाई लर्ड मोइरा भन्ने गरिन्छ र उनले सन् १८१५ मा पठाएको पत्रले नै सुगौली सन्धीको आधार तयार पारेको हो।

उनी भन्छिन्, “उक्त पत्रमा सुगौली सन्धीको खाका देख्न सकिन्छ। यदि नेपालले सम्झौता गर्छ भने पश्चिममा काली नदी सिमाना हुन्छ भनेर उक्त पत्रमा खुलाइएको छ। र, काली नदीको उद्‍गमस्थल नै सिमाना हुने लेखिएको छ।”

उनले काली नदीको मुहानलाई नेपालको सीमा भनेर स्थापित गराउन उक्त पत्र महत्त्वपूर्ण हुने बताइन्।

स्रोत–बिबिसी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu