नीजि गुठी गुठियारकै सम्पत्ति हो : मन्त्री अर्याल

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको बताउनुभयो । मन्त्री अर्यालले नीजि गुठीका सन्दर्भमा गुठियारले भनेअनुसार नै अगाडि बढिने बताउनुभएको हो ।

सरकारले गुठीको विषय समेटिएको एकिकृत भूमि ऐन ल्याउन लागेको सन्दर्भमा गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलन समितिले आज विहीबार मन्त्री अर्याललाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका गुठी बचाउ अभियानका अगुवाहरूलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको थियो ।

मन्त्री अर्यालले नीजि गुठीको सन्दर्भमा सरकारले धेरै चासो नदिने बताउँदै गुठी संस्थानले हेर्दै आएको बाँकी गुठीलाई सुशासन कायम गर्दै व्यवस्थित गरिने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ”नीजि गुठीको हकमा यो नै यसको समाधान हो भनेर तपाइहरूले ल्याएको कुरा नै हामी ओके गरेर जान्छौँ, बाँकी गुठी संस्थानले हेरेका गुठीका हकमा तपाइहरूले धेरै चासो नदिनुहोला, हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौँ ।

गुठीको समस्या अब लामो समय नरहने भन्दै मन्त्री अर्यालले छिट्टै सरकारले यसको समाधान गर्ने बताउनुभयो । विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको ३ वटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उहाँले नीजि गुठि नीजि गुठियाराकै सम्पत्ति भएको बताउनुभयो । ”सरकारले नीजि गुठियाराको हक समाप्त गर्न खोजेकाे हाेइन र नीजि गुठिलाई सरकारले हस्तक्षेप गरेकाे पनि छैन”, मन्त्री अर्यालले भन्नुभयो । तत्कालिन प्रस्तावित गुठी ऐनको कुनै भाषाले त्रशित बनाएमा जतिखेर पनि सच्याउन सरकार तयार नै रहेकाे उहाँकाे भनाइ रहेकाे छ ।

विगतमा जेजे भएपनि हल्लाको पछि लाग्नु भन्दा विधेयक फिर्ता लिएर सरकार अगाडि बढेको भन्दै उहाँले अब नयाँ ढंगबाट विधेयक अगाडि बढ्ने बताउनुभयो । गुठी संस्थानले हेर्दै आएको गुठी क्षत विक्षत भएको भन्दै सरकारको सम्पत्तिको रक्षा गर्न सरकार लागेको बताउनुभयो । मन्त्री अर्याल भन्नुहुन्छ, ”दाताले पवित्र भावनाले नीजि सम्पत्ति गुठीमा लगेर राखे । तर अहिले मान्छेले बेचि बेचि क्षतविक्षत बनाइदिए। यतिधेरै ध्वस्त भएको छ हामीसँग जवाफै छैन । हाम्रो मौलिकता, संस्कृति नै हरायो”।

गुठीलाई कानूनबाट नै व्यवस्थित गरौं भनेर जाँउ भन्ने मनसाय भएपनि नीजि गुठियारा र सरकारको भावना भेट नहुँदा विगतमा स्थिती तनावपुर्ण बनेको बताउनुभयो । दुवै पक्षबीच छलफल नहुँदा समस्या उत्पन्न भएको उहाँको भनाइ थियो । सरकारले गुठी विधेयक लगायतका विषयलाई समेटेर नयाँ एकिकृत भूमि विधेयक ल्याउने तयारी गर्दैछ । यसै सन्दर्भमा मन्त्रालयले मंसिर २३ गते सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरेको छ ।

त्यस अवसरमा ध्यानाकर्षणपत्र बुझाउँदै गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलनका संयोजक डा.महेशमान शाक्यले यसपटक विधेयक ल्याउन सरोकारवाला सबैसँग छलफल गरेर मात्र अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले जनताको हित गर्ने विधेयक ल्याउन सहयोग गर्ने समेत बताउनुभयो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu