निगमको इन्धन भण्डारण क्षमता कमजोर

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार

काठमाडौं : नेपाल आयल निगमको इन्धन भण्डारण क्षमतामा कमजोर देखिएको छ। निगमसँग अहिले १३ स्थानमा गरी ७१ हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गृह छ।

तर, प्राविधिक दृष्टिकोणले त्यस परिमाणमध्ये करिब १० प्रतिशत इन्धन वर्षैभरी ट्यांकीमै मौज्दात (अन पम्पेवल) गरी राख्नुपर्छ। ७१ हजार किलोलिटरमध्ये १० प्रतिशत अनपम्पवेल काटेर करिब ६४ हजार किलोलिटर निगमसँग मौज्दात रहन्छ।

यही ६४ हजार किलोलिटर इन्धन देशभर खपत हुँदै आएको छ। निगमसँग हाल भएको क्षमताले कुनै पनि प्रदेशको माग धान्दैन। निगमको इन्धन भन्डारण क्षमताले देशभरको पेट्रोलको माग साढे चार दिन, डिजेल आठ दिन र हवाई इन्धन १४ दिनलाई मात्रै पुग्ने अवस्था छ।

खाना पकाउने ग्यासको भण्डारण क्षमता निगमसँग छैन। निजी क्षेत्रसँग भएको ७ हजार टनको भण्डारण क्षमताबाट पाँच दिनको मागलाई मात्र थेग्न सक्छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार प्रादेशिक संरचनाअनुसार अहिले भएको भण्डारण क्षमतालाई विस्तार र थप पूर्वाधार निर्माण नगर्ने हो भने आगामी दिनमा इन्धनको मागलाई धान्नै नसक्ने अवस्थामा निगम पुग्छ। ‘

अहिलेकै मागलाई विद्यमान भण्डारण क्षमताले थेगेन’, उनले भने,‘प्रादेशिक संरचनाअनुसार तत्कालै भण्डारण क्षमता विस्तार र थप निर्माणतर्फ नगए निगमसामु ठूलो चुनौती खडा हुन सक्छ।’

निगममा उपप्रबन्ध निर्देशक सुशिल भटराईका अनुसार प्रादेशिक संरचनाअनुसार इन्धनको मागअनुसार भण्डारण क्षमता निकै कमजोर भएको प्रदेशमा ६, ५, ७ र १ छन्। मागअनुसार थोरै पुगेको प्रदेशमा २, ३ र ४ परेका छन्।

मौज्दात भण्डारण क्षमताका आधारमा प्रदेशको माग धान्ने अवस्थालाई विश्लेषण गर्दै निगमले प्रदेश ६ को भण्डारण क्षमताले कुल दुई दिन मात्र माग धानेको छ। यस्तै प्रदेश ५ को भण्डारण क्षमताले कुल ५ दिन र प्रदेश १ र ७ को भण्डारण क्षमताले मागको आठ-आठ दिन मात्रै पुगेको अवस्था छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu