मनमोहनको क्षेत्रमा २०१५ को आमचुनावपछि तोडियो कम्युनिष्ट विरासत : कांग्रेसले मार्यो बाजी

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार

सुनसरी/काठमाडौँ : प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सबै ठाउँको सार्वजनिक भइसकेको छ। विभिन्न कारणले ३७ जिल्लामा रिक्त भएको ५२ पदका लागि निर्वाचन भएको छ।

उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोचेजस्तो मत ल्याउन सकेन। कम्युनिष्ट पार्टीको लालकिल्ला मानिएको सुनसरीको धरान महानगरपालिकामा समेत कम्युनिष्ट पार्टी पराजित भयो। नेकपाका उम्मेदवारलाई प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित दर्ता गरे।

कांग्रेसबाट विजयी भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो। उपनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका तिलक ०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग पराजित थिए।

३ हजार बढी मतले विजयी

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएका थिए। भने अहिले निर्वाचित भएका तिलकले १६ हजार १ सय २ मत ल्याएर पराजित भएका थिए।

सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका तिलकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछिको निर्वाचनमा आफ्नो ऐतिहासिक जित दर्ता गरेका छन्।

०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा करिब ५ हजारको मतअन्तरले पराजित भएका तिलक अहिलेको चुनावमा पार्टी एकतापछि पनि करिब ३ हजार मतले विजयी भएका छन्।

पराजयपछि नेकपामा तहल्‍का

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकतापछि आफ्नो जित सुनिश्चित गर्दै आएको नेकपाले आफ्नो गढमा पराजय व्यहोरेपछि नेकपाभित्र तहल्का पैदा भएको छ।

तत्कालीन एमालेसँग मात्रै पराजित भएका कांग्रेसका तिलकले दुई पार्टीबीचको एकतापछि समेत आफ्नो जित दर्ता गरेपछि कांगेसले ऐतिहासिक जित दर्ता गरेको छ।

अघिल्लो निर्वाचनको अंकगणितीय श्रपमा तुलना गर्दा पार्टी एकतापछि ३२ हजार १ सय ५५ मत नेकपाको हुन आउँछ। भने कांग्रेसको १६ हजार १ सय २ मत मात्रै देखिन्छ। तर, पार्टी एकता भएपछि भएको निर्वाचनमा नेकपाले अप्रत्यासित हार व्यहोरेको छ।

२०१५ को आम निर्वाचनपछि अप्रत्यासित हार

धरानलाई कम्युनिष्टको आफ्नो बलियो क्षेत्रको रुपमा दर्ज गर्दै आएको थियो। तर, २०१५ सालमा भएको आम निर्वाचनपछि हालसम्म धरानमा कम्युनिष्टले पराजय व्यहोरेको थिएन। धरान मात्रै नभएर कम्युनिष्टको पकट क्षेत्रको रुपमा आएपछि इटहरीलाई पनि एउटै क्षेत्रमा राखिएको थियो। ०१५ सालको पहिलो आम निर्वाचनमा नेपाल कांग्रेसको दिक्षायाम चौधरीले जितेपछि अहिलेसम्म कांग्रेसले सो क्षेत्रमा जित्न सकेको थिएन।

त्यसैले कम्युनिष्ट पार्टीले सो क्षेत्रलाई आफ्नो गढको रुपमा लिएको थियो। पञ्चायती व्यवस्थामा समेत प्रगतिशील वामपन्‍थीहरूले जनपक्षीय नाममा निर्वाचन जित्दै आएको थियो।

२०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। तत्कालीन एमालेको अध्यक्ष मनमोहनको क्षेत्रमा समेत पार्टी एकतापछि पनि नेकपाले आफ्नो शाख जोगाउन सकेन।

२०४८ पछिका स्थानीय चुनावमा कम्युनिष्ट पार्टीले मात्रै जित्दै आएको थियो। २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङबो र २०७४ मा तारा सुब्बाले कम्युनिष्टबाट निर्वाचित भएका थिए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu