रूप ज्योतिको फाइल प्रहरीमा फिर्ता

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

काठमाडौँ। जिल्ला सरकारी वकिल कार्यालयले व्यापारिक घराना ज्योति समूहका सदस्य रूप ज्योति र उनको परिवारविरूद्ध दिएको जाहेरी फिर्ता लिने जाहेरवाला विज्ञेन्द्रकृष्ण मल्लको निवेदन प्रहरीलाई पठाइदिएको छ।

जाहेरी फिर्ताको उक्त निवेदनमाथि अनुसन्धान गर्न भन्दै सरकारी वकिल कार्यालयले प्रहरीलाई सक्कल मिसिलसहितका कागजात पठाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी नुमराज खनालले बताए।

‘जाहेरवालले दिएको निवेदनका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा प्रहरी प्रतिवेदनसहितको सक्कल मिसिल पठाइयो,’ उनले भने, ‘अब प्रहरीले जाहेरवालले अन्यायमै परेर जाहेरी दिएका थिए कि नपरी जाहेरी दिएका थिए भन्नेबारे अनुसन्धान गर्छ।’

मल्लले जाहेरी फिर्ता गरीपाउँ भन्ने निवेदन बुधबार सरकारी वकिल कार्यालयमा दिएका थिए। मल्लले रूप ज्योतिविरूद्ध दिएको मुद्दा फिर्ता गर्न नेगोसियसन भइरहेको बताएका छन्।

‘हामीले मिलापत्र गर्ने कुरा भएको छ, तर हुन्छ कि हुन्न अझै टुंगो छैन। मैले मेरो पैसा फिर्ता र ठगी भएकोले क्ष’तिपूर्ति पनि माग गरेको छु। जग्गा पाए त हुन्थ्यो तर उनीहरू असमर्थ भएपछि क्षतिपूर्तिसहित पैसा भए हुन्छ भनेर मिल्ने भनेको हुँ,’ उनले भने, ‘मुद्दा पनि ४/५ पाँच वर्ष लागिहाल्छ। मलाई न्याय चाहिएको हो त्यो पाए भयो। ‘

जाहेरी फिर्ता लिने उनको निवेदनमाथि अनुसन्धान गरेर फेरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउनु पर्ने छ। रूप ज्योतिमाथि अदालतले अनुसन्धान गर्न दिइएको पाँच दिन म्यादभित्रै प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाइसक्नुपर्ने छ। भोलि अदालतले दिएको म्याद सकिन्छ।

कि त भोलिसम्म यो निवेदनमाथि पनि अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन दिने र सरकारी वकिलले मुद्दा चलाउने/ नचलाउने निर्णय गरीसक्नुपर्ने छ कि रूप ज्योतिमाथि दिइएको अनुसन्धान गर्ने म्याद थप्नुपर्ने छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu