नेपाल-बंगलादेश सम्बन्ध थप विस्तार हुने, दुवै देशका राष्ट्रपतिकाे विश्वास

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच बुधबार अपराह्न भेटवार्ता भएको छ ।राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे पनि छलफल भएको थियो । पहिलेदेखि नै नेपाल र बंगलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गर्नुभएकाेमा उहाँलाई धन्यवाद दिनुभयो ।

दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताउनुभयो । बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकाेमा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नै’तिक समर्थनको स्मरण गर्नुभयो ।

बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताउनुभयो ।

नेपाल भ्रमण गर्ने निम्ता दिनुभएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उहाँका बंगलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बंगलादेशका उच्च अधिकारीहरुको समेत सहभागिता थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu