प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार दिल्लीमा गराउन मोदीको प्रस्ताव

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र उपचारका बारेमा छिमेकी देशका नेताहरूले पनि चासो राख्दै आएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री एस जयशंकरमार्फत उपचारका लागि दिल्ली आउन ओलीलाई सन्देश पठाएको खुलेको छ।

भारतको विदेशमन्त्री नियुक्त भएपछि करिब तीन महिनाअघि नेपाल भ्रमणमा आएका जयशंकरले प्रधानमन्त्री ओलीसँगको भेटमा पहिले दिल्लीमा उपचार गराउँदाको मेडिकल रेकर्ड रहेको स्मरण गराउँदै थप उपचारका लागि दिल्ली नै आउन आग्रह गरेका थिए।

‘पहिले उपचार गराएकाले मेडिकल हिस्ट्री पनि छ, हामी उच्चस्तरीय प्रबन्ध गर्नेछौं’, ओली–जयशंकर भेटमा जयशंकरको भनाइ उद्धृत गर्दै एक उच्च स्रोतले भन्यो, ‘टाढा जानुभन्दा भारत आउनुहोस् भन्ने प्रधानमन्त्रीको सन्देश बोकेर म आएको हुँ।’

१२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा ओलीले मृगौला प्रत्यारोपण गरेका थिए। चार वर्षअघि संविधान जारी गर्ने समयमा दिल्लीको चासोलाई अस्वीकार गरेपछि जब दिल्लीसँगको सम्बन्ध बिग्रियो, त्यसबेलादेखि नै ओली फलोअप उपचारका लागि भारत गएका छैनन्।

ओली थप उपचारका लागि भारत नआएकामा दिल्लीले स्वाभाविक मानेको छैन। बालुवाटारमा भेट्न आएका विदेशमन्त्री जयशंकरलाई भने ओलीले कुटनीतिक जवाफ मात्र दिएका थिए। ‘अहिले सिंगापुरमा चेकजाँच गराइरहेको छु, प्रविधि पनि राम्रो छ’, ओलीले यति मात्रै भनेको स्रोतको भनाइ छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu