१ सय ३२ वर्ष पुरानो झोलुङ्गे पुलको जस्ताको तस्तै पुन: मर्मत

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

म्याग्दी : १ सय ३२ वर्ष पहिले स्थानीय सीप, मजदूर र फलाम पिटेर लठ्ठो बनाइ निर्माण गरिएको म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्ने म्याग्दी खोला माथिको झोलुङ्गे पुललाई जिर्णोउद्धवार( पुन मर्मत) गरिएको छ। यस क्षेत्रको ऐतिहाँसिक विरासतलाई स्मरण गराउने यो पुल वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि बनाइएको थियो।

धौलागिरि क्षेत्रकै सवैभन्दा पुरानो उक्त झोलुङ्गे पुल हाल बेनी नगरपालिकाले मर्मत गरी संरक्षणको जिम्मा लिएको हो । वि.सं १९४४ मा बाग्लुङको गलकोटका स्व.लालप्रसाद शेरचनले म्याग्दीको रुम गाउँका मजदुर प्रयोग गरी काँचो फलामलाई पिटेर लठ्ठा र पाता बनाई म्याग्दी नदी वारपार गर्न मिल्ने झोलुङ्गो बनाएको बेनीका ७७ वर्षिय नैनकुमार श्रेष्ठले बताए ।

जेष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष समेत रहेका श्रेष्ठले भने “त्यतिवेलासम्म म्याग्दीमा कही पनि पुल थिएन र यही पुललाई प्रयोग गरी पर्वत र म्याग्दीका सबै मानिसहरु अड्डाको कामका लागि गुल्मी र बागलुङ पुग्ने गर्दथे।”

त्यतिबेला धौलागिरि क्षेत्रको मुकाम (अड्डा अदालत) गुल्मी र बागलुङमा थियो। पछि वि.सं २०१४ सालमा म्याग्दीको बावियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता लालप्रसाद शेरचनका नाती भीमप्रसाद शेरचनका दाजुभाइले झोलुङ्गोलाई हटाएर झोलुङ्गे पुलको निर्माण गर्न लगाएका श्रेष्ठले जानकारी दिए ।

सदरमुकाम बेनीमा रहेको जिल्लाकै पुरानो र स्थानीय स्रोत र साधनलाई प्रयोग गरि बनाइएको पुलको मर्मतसँगै संरक्षण गर्न लागिएको बेनी नगरपालिकाका इन्जिनियर विमलरन्जन कार्कीले जानकारी दिए । जिल्लाकै पुरानो यस पुलको पुरानो स्वरुपलाई कायम राख्दै बेनी नगरपालिकाले मर्मत गरेको हो।

अहिले पुलमा विच्छाइएको काठका फलेकहरु फेरिएको छ। पुराना फलेकहरु कुहिएर काम नलाग्ने भएकाले नयाँ फलेकहरु फेरिएको हो। पुलको दायाँ र बायाँतर्फको ग्याविन फेर्ने, मंगलाघाट पट्टिको लठोमा २०६० सालमा भएको म्याग्दी आक्रमणमा गोली लागेकोले सो ठाउँमा हुक फेर्न र काठमा विटुमिन लगाउने काम बाँकी रहेको इन्जिनियर कार्कीले जानकारी दिए। बेनी नगरपालिकाको ३ लाख ४० हजार रुपैयाँको लागतमा पुलको मर्मतको काम भएको हो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu