बैतडीमा नेकपा र काङ्ग्रेसले टुङ्ग्याए उम्मेदवार

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो । वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुदैंछ।

नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए।

त्यस्तै काङ्ग्रेसले सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांङ्ग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले बताए।

उम्मेदवार टुङ्गो लागेसँगै नेकपा र काङ्ग्रेस दुवैले प्रचारप्रसारमा तीव्रता दिएका छन् । यसका साथै साना दलहरुले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन् ।

यता, नेपाली काङ्ग्रेस बैतडीको जिल्ला पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकले उपनिर्वाचनका लागि मूल प्रचारप्रसार समिति गठन गरेको छ ।

पार्टी सभापति नरेन्द्र सिंह थापाको नेतृत्वमा ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको काङ्ग्रेस बैतडीका सचिव विष्टले जानकारी दिए।

सुर्नया–१ मा सभापति थापा र सचिव वीरबहादुर विष्टको नेतृत्वमा प्रचारप्रसार गर्ने निर्णय भएको छ ।

दोगडाकेदार ४ मा जिल्ला उपसभापति चतुरबहादुर चन्द र सचिव प्रेम चन्द र पुर्चौडी–४ मा जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय र सहसचिव कर्ण बोहराको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu