प्रधानमन्त्री सचिवालयका सदस्यले सामूहिक राजीनामा दिने

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सबैले सामूहिक राजीनामा दिने भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयको कार्यसम्पादनलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका बेला समूहकै एकमुष्ठ राजीनामा आउन लागेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोजेकाले सल्लाहकार समूहमा पनि सोही लय समातोस् भनेर सामूहिक राजीनामा दिन लागेको एक सदस्यले बताए ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायतले आगामी मङ्सिर १ गतेबाट लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन् ।

“प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्ने भएपछि हामी सल्लाहकारहरूले छलफल गर्‍यौं । सचिवालयमा पनि सो स्प्रिट कायम होस् भनेर सामूहिक राजीनामा दिने निष्कर्षमा पुग्यौं,” सचिवालयमा रहेका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार केही सदस्यले राजीनामा दिइसकेका छन् भने केही सदस्य राजीनामा दिने क्रममा छन् । उनीहरूले कात्तिक मसान्तभित्र राजीनामा बुझाइसक्ने छन् ।

उनले बाहिर चर्चामा आएजस्तो प्रधानमन्त्रीले राजीनामा दिन दबाब नदिएको बरु आफैंले प्रधानमन्त्रीको कार्यसम्पादन सहज बनाइदिन लागेको बताए ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरमा सहमति जुटिसकेको छ ।
२०७५ भदौदेखि नै मन्त्रिपरिषद् हेरफेरको चर्चा चले पनि साइत भने जुरेको थिएन । मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँ अनुहारलाई मौका दिन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले निकै जोडबल गर्दै आएका छन् ।

तर प्रधानमन्त्री ओलीले पन्छाउँदै आएका थिए । अहिले दुई अध्यक्षबीच लाग्दो मङ्सिरमै मन्त्रिपरिषद् हेरफेर गर्ने समझदारी जुटिसकेको र केहीको नामसमेत तय भएको स्रोतका दाबी छ ।

मन्त्रिपरिषद् पुनःगठन गरेर सरकारको कामलाई गति दिने भएपछि प्रधानमन्त्रीको सचिवालय पनि हेरफेर होस्, नयाँले अवसर पाउन् र त्यसको प्रभाव प्रधानमन्त्रीको कार्यसम्पादनमा देखियोस् भनेर सामूहिक राजीनामा दिने निचोडमा पुगेको ती सदस्यको दाबी छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu