‘रिचार्ज कार्ड छाप्नेलाई स्टिकरको जिम्मा’ : लेखाको ‘अनुचित’ दबाब

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं : गैरकानुनी रिचार्ज कार्ड छाप्ने स्वदेशी उद्योगलाई अन्तःशुल्क स्टिकर छपाईको जिम्मा दिन सार्वजनिक लेखा समितिका सांसदले दबाब दिएका छन्। समितिको शुक्रबारको बैठकमा बोल्दै सभापति भरतकुमार शाह आफैंले खुलेर यस्तो लबिङ गरेका हुन्।

हालसम्म नेपालमा सुरक्षण मुद्रणसम्बन्धी मापदण्ड छैन। मदिरा तथा सूर्तिजन्य वस्तुमा टाँसिने अन्तः शुल्क स्टिकर विदेशमा छपाई हुँदै आएको छ। त्यसो त दूरसञ्चार कम्पनीका रिचार्ज कार्ड पनि सुरक्षण मुद्रणमै छाप्नुपर्छ।

चार वर्षअघि लेखा समितिले दिएको निर्देशनका आधारमा दूरसञ्चार कम्पनीको मञ्जुरीमा स्वदेशमै रिचार्ज कार्ड छपाई हुँदै आएको छ। समितिले त्यसैलाई आधार बनाएर अन्तःशुल्क स्टिकरसमेत स्वदेशमै छाप्न सरकारलाई दबाब दिइरहेको छ।

कर प्रशासनले भने सुरक्षण मुद्रणसम्बन्धी व्यवस्था नहुँदा अन्तःशुल्क स्टिकर छपाईमा अनियमितता हुनसक्ने चिन्ता व्यक्त गरेको छ। तर, समितिले मुद्रण कम्पनी नै तोकेर स्टिकर छपाई गर्न दिनुपर्ने धारणा राखेको छ।

औद्योगिक व्यवसाय ऐन, २०७३ बमोजिम सुरक्षण मुद्रणका लागि कुनै पनि उद्योगले उद्योग तथा लगानी प्रवद्र्धन बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था छ। यद्यपि नेपालमा केही उद्योगले बिना अनुमति दूरसञ्चार कम्पनीको रिचार्ज कार्ड छपाई गरिरहेको छ।

रिचार्ज कार्ड छपाइमा कानुन उल्लंघन
लेखा समितिका सांसद भने त्यसको निरीक्षण गर्नुको साटो उनीहरूलाई अन्तःशुल्क स्टिकर छपाउने जिम्मेवारी दिन तत्पर देखिएका छन्। सभापति भरतकुमार शाहले औद्योगिक व्यवसाय ऐनको बहाना बनाएर सरकारी निकाय निर्देशन पालनाबाट पन्छिन खोजेको आ रोप लगाए।

‘सुरक्षण मुद्रणसम्बन्धी टेलिकमका रिचार्ज कार्ड, चेकबुकजस्ता छपाई गरिरहेका कम्पनीले अन्तःशुल्क स्टिकर छपाईको काम गर्न पाउनुपर्ने’ सभापति शाहको तर्क छ। उनले भने, ‘युरोपियनले मान्यता दिएकै कम्पनीबाट छाप्नुपर्ने, तीनवटा मुलुकमा काम गरिसकेको जस्तो कठीन व्यवस्था राखेर स्वदेशी कम्पनीलाई बञ्चित पारिएको छ।’

समितिका सदस्य सचिव रोजनाथ पाण्डेले रिचार्ज कार्ड छाप्ने उद्योगले दिने सेवा गुणस्तरीय भएकाले अन्तःशुल्क स्टिकर छाप्न दिनुपर्ने बताए। उनले भने, ‘ऐन पालना भए÷नभएको मन्त्रालयले हेर्नुपर्ने विषय हो। फेरि उनीहरूको गुणस्तरमा शंका गर्ने ठाउँ पनि छैन। अहिलेसम्म रिचार्ज कार्डमाथि कसैको गुनासो सुनिएको छैन।’ परिणाम राम्रो देखाइरहेको कम्पनीलाई कानुनी प्रक्रियामाथि शं का नगर्ने उनको भनाइ छ।

आजको अन्नपूर्ण पोष्टमा यो खबर छापिएको छः

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu