भारतीय नयाँ नक्साको विषयमा परामर्श गर्न उपप्रधानमन्त्री पोखरेलले भेटे भैरव रिसाल

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साका विषयमा परामर्श गर्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वरिष्ठ पत्रकार तथा पूर्व प्रशासक भैरव रिसाललाई भेटेका छन् ।

भारतीय नयाँ नक्समा नेपालको लिपुलेक, कालापानी र लिम्पियधुरा समावेश गरेको समयमा पनि सरकार मौन बसेको भन्दै चौतर्फी विरोध भइरहेका बेला शुक्रबार उपप्रधानमन्त्री पोखरेल रिसालाई भेट्न घट्टेकुलोस्थित उनको निवासमै पुगेका हुन् ।

वरिष्ठ पत्रकार रिसालले दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने लिपुलेकको जनगणना आफूले गरेको बताएका थिए । उक्त भूमिलाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै रिसालले आमसञ्‍चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेकोले यस विषयमा उपप्रधानमन्त्री पोखरेलले शुक्रबार साँझ आफूसँग परामर्श गरेको रिसालले बताए ।

रिसालले बार्‍हखरीसँग कुरा गर्दै भने, ” उपप्रधानमन्त्री ईश्वर पोखरेल साढे ५ बजेतिर घरमै आउनुभयो । उहाँले विस २०१८ को त्यहाँ गरिएको जनगणना बारे सोध्नुभयो । र, यो उमेरमा पनि यति सक्रिय भएर मुलुको राष्ट्रियताको विषयमा बोलेको धन्यवाद दिनुभयो ।”

रिसालले शनिबार दिउँसो ४ बजे प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा उपस्थित हुनसमेत उपप्रधानमन्त्री पोखरेलले आफूलाई निम्तो गरेको बताए ।

त्यसैगरी उपप्रधानमन्त्री पोखरेलले रिसालको स्वास्थ स्थिति बुझ्दै अझ सक्रिय र दीर्घजिवनको शुभकामना दिएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले सामाजिक सञ्‍जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

फेसबुकमा थप लेखिएको छ, “उहाँको लेखनबाट आफु प्रभावित भएको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । २०१८ सालको जनगणनाको तथ्य र अनुभव सुन्नुभयो । तत्कालीन डडेल्धुरा जिल्लाअन्तर्गत रहेको हाल दार्चुलाको कालापानी क्षेत्रका सम्बन्धमा उहाँको विश्लेषण र ऐतिहासिक सन्दर्भहरु देशकै लागि लाभदायी रहेको उल्लेख गर्दै विशेष प्रशंसासमेत गर्नुभयो । रिसालले त्यतिबेला आफूले भारतमा नभएर नेपालमा नै जनगणना गराएको प्रष्ट पार्नुभयो ।”१२खरीबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu