समाजवादी-राजपा एकताः हिमाल-पहाड-तराईबाट तीन जना अध्यक्षको प्रस्ताव

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

एकताको अन्तिम कसरतमा रहेका सत्तारुढ समाजवादी पार्टी नेपाल र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) एकीकृत पार्टीको नेतृत्व टुंगो लगाउने गृहकार्यमा जुटेका छन्।

एकीकृत पार्टीको नेतृत्वको मोडालिटीबारे छलफल हुँदा खासगरी तीन वटा प्रस्ताव आएका छन्, जसमा हिमाल, पहाड र तराईबाट एक एक जना रहने गरी तीन जनाको अध्यक्षमण्डल बनाउने प्रस्तावलाई आकर्षक मानिएको छ।

नेतृत्वको मोडालिटी टुंग्याउन दुबै पार्टीका नेताहरु दैनिक आन्तरिक छलफलमा रहेका छन्। यही क्रममा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले शुक्रबार बिहान आफ्नै पार्टीका नेताहरुसँग परामर्श गरेका छन्। बुधबार समाजवादीको पदाधिकारी बैठकमा पनि एकीकृत पार्टीको नेतृत्वबारे छलफल भएको थियो।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चुनावी तालमेल गर्ने सहमति गरेका समाजवादी–राजपाले कात्तिकभित्रै पार्टी एकता गरी नेकपा र काँग्रेसपछिको तेस्रो शक्ति निर्माण गर्ने तयारी गरेका हुन्।

समाजवादी–राजपाबीच भइरहेका पछिल्ला छलफल नेतृत्वको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा केन्द्रित रहेको समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष नवराज सुवेदीले बताए। सुवेदीका अनुसार पार्टी एकता दीर्घकालसम्म जाने गरी नेतृत्व चयन गर्नुपर्ने प्रस्तावमा राजपा सहमत भएको छ।

अहिले राजपाले अध्यक्षमण्डलको अभ्यास गरिएको छ भने समाजवादीले संघीय परिषद् अध्यक्ष र केन्द्रीय अध्यक्ष गरी दुई अध्यक्ष प्रणालीको अभ्यास गरिहेको छ।

‘राजपाका उच्च नेताहरुसँग हामीले धेरैजना रहने गरी अध्यक्ष मण्डल बनाउने कुरा त्यति वैज्ञानिक हुँदैन भन्यौं, त्यसमा उहाँहरु सहमत हुनुहुन्छ’, सुवेदीले भने, ‘संभवतः कार्यविभाजनसहतिको नेतृत्व प्रणालीमा सहमती जुट्ने छ।’

समावेशी प्रणालीलाई आधार मानेर नेतृत्व चयन गर्नेबारे छलफल भएपनि निष्कर्षमा पुगिनसकेको उनले बताए। सुवेदीका अनुसार अहिले नेतृत्वका तीनवटा मोडलका विषयमा छलफल भइरहेको छ।

पहिलो, जेष्ठताका आधारमा संरक्षक बनाउने र त्यसपछि अधिकार वाँडफाँट गरेर नेतृत्व चयन गर्ने। जसमा एकजना संरक्षक रहने छन् भने बढीमा दुई जनाले कार्यकारी अधिकारको महत्वपूर्ण जिम्मेवारी पाउने छन्।

दोस्रो, दुई वटा निकाय– संघीय परिषद् र केन्द्रीय समिति बनाउने। जसमा दुईजना कार्यकारी अध्यक्ष रहने व्यवस्था गर्ने।

र तेस्रो, क्लष्टर झल्कने गरी तीनजना अध्यक्ष रहने व्यवस्थामा जाने। हिमाल, पहाड र तराईलाई आधार मानेर गरिने यस्तो क्लष्टर विभाजनमा तीन जनाको अध्यक्षमण्डल बनाएर जाने विषय प्रस्तावका रुपमा अघि बढाइएको सुवेदीले बताए। यसमा खस–आर्य, आदिवासी–जनजाती र थारु–मधेसबाट प्रतिनिधित्व हुने गरी तीन जनाको अध्यक्षमण्डल रहने प्रस्ताव अघि बढाइएको छ।

राजपाको अध्यक्ष मण्डलका एक जना सदस्यले तेस्रो मोडालिटीका विषयमा सहमती जुट्ने संभावना रहेको बताए। मधेशमा मुख्य राजनीतिक आधार रहेको राजपाले यो प्रस्तावमा बढी रुची देखाएको छ।

समुदायलाई आधार मानेर भौगोलिक एकतामा समाजवादीले बढी जोड दिएको छ। त्यसमा पदाधिकारी, केन्द्रीय समिति र संघीय परिषद्को संख्या कति बनाउने भन्ने विषयमा अहिले गृहकार्य भइरहेको हो।

राजपाका महासचिव केशव झाले नेतृत्वको मोडालिटी टुंग्याएर कात्तिकभित्रै एकताको घोषणा हुने बताए।

संसदमा समाजवादीका १७ र राजपाका १६ जना सांसद रहेका छन्। बैकल्पिक राजनीति गर्ने अवधारणा लिएर अघि बढेका डा.बाबुराम भट्टराईको नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी बनेको थियो। त्यसपछि राजपासँग एकता प्रक्रिया अघि बढेको हो।नेपाल खवर

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu