भारतविरुद्ध विद्यार्थी संगठनको चर्को बिरोध ,लिपुलेक हाम्रो हो (फोटो फिचर)

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन जारी रहेको छ । यसैक्रममा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् ।

संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए ।भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै संयुक्त विद्यार्थी संघले प्रदर्शन गरेको हो ।

शुक्रबार बिहान संयुक्त विद्यार्थीले लैनचौरमा र कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पशुपति क्याम्पसमा प्रदर्शन गरेका हुन् । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित नेपाली भूमि फिर्ता गर’ लेखिएको ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका छन् । यसअघि अनेरास्ववियूले नै भृकुटीमण्डपमा ‘गो ब्याक इण्डिया’को नारासहित प्रदर्शन गरेको थियो ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि नेपालभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ ।

लैनचौरस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन हुन थालेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu