दसैँ भोजका लागि बनाइएको अचार खाँदा सुर्खेतमा ३१ जना बिरामी

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दसैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् ।

स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए । बिरामीहरुको बुधबार दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ ।

बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

माया नर्सिङ होमका डा कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताए । “अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुन्छ,” उनले भने, “फुड प्वाइजन को अवधि ७२ घण्टासम्म रहने हुँदा चिन्ता गर्नुपर्ने अवस्था हुँदैन ।”

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu