आज सातौं राष्ट्रिय विज्ञान दिवस मनाइँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने ‘१४ विद्यार्थीलाई पुरस्कृत गरिने’

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार

काठमाडौं ।‘विज्ञान, प्रविधि र नवप्रवर्तन: सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। प्रदेश र स्थानीय तहमा समेत यही भदौ २६ गतेदेखि शुरु भएको दिवसको सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ भने असोज १ गते मूल समारोह समितिको कार्यक्रम हुँदैछ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

सप्ताहअन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि भइरहेका छन्। दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक–एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ। यसैगरी विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम छ। सोही दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति नवप्रवर्तन पुरस्कारको घोषणा गर्ने मन्त्रालयका सचिव डा सञ्जय शर्माले बताए।

दिवसका अवसरमा विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एसोसिएशन लगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन्। साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ। नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मङ्सिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो।

नेपाल सरकारले राष्ट्रिय विज्ञान नीति पनि जारी गर्ने तयारी पनि गरेको छ। दिवसले विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने र युवा जनशक्तिलाई स्वदेशमा नै रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली करिब एक महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदैछन्। गत भदौ ५ गते दोस्रो पटक उपचारका लागि सिंगापुरमा उपचार गरेर भदौ २० गते स्वदेश फर्किएका प्रधानमन्त्री लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

सिंगापुरमा सातौँ चरणसम्म मिर्गौलाको प्लाजमा फेरेसिस गरेर स्वस्थ भइ फर्किएका प्रम पछिल्लो समय बालुवटार र सिंहदरबारमा मात्रै सक्रिय थिए। सरकारी निवास बालुवाटारमै आराम गरिरहेका उनी एक साताअघि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका थिए। जहाँ उनको मिर्गौैला उपचारका क्रममा राखिएको पाइप निकालिएको थियो। सिंगापुरबाट फर्किएपछि प्रमले नेकपा सचिवालयको बैठक र मन्त्रिपरिषद् बैठक राख्न भ्याएका छन्।

नेकपा सचिवालय बैठक बालुवाटारमै बस्दै आएको छ भने मन्त्रिपरिषद् सिंहदरबारमा । आराम गरिरहेका ओली बुधबारदेखि पुनः सार्वजनिक कार्यक्रममा सहभागी हुन थाल्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओली बुधबार दुईवटा कार्यक्रममा सहभागी हुँदैछन्। पहिलो कार्यक्रम राष्ट्रिय सभागृहमा हुँदैछ।

बिहान साढे ९ बजे प्रमले सातौँ राष्ट्रिय विज्ञान दिवसको राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने प्रेस संयोजक अधिकारीले बताए। त्यसैगरी प्रमले बुधबारै संघीय संसदको आधुनिक भवनको सिंहदरबारमा शिलान्यास गर्दैछन्। बिहान साढे ११ बजे प्रमले सिंहदरबारको पुतली बगैँचामा उक्त भवनको शिलान्यास गर्ने भएका हुन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu