जुम्ला बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार

खलंगा। कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना १ ख ७६६४ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसलाई छक्याउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार घाइते हुनेमा मुगुको छायानाथ, रारा नगरपालिका–८ का ३० वर्षीया जुनमती रावत, सोही ठाउँकी ३२ वर्षीया लालदेवी रावत रहेका छन्।

यस्तै अछामको ढकेरी गाउँपालिकाका ३५ वर्षीय डिल्ली भूल छन् भने जुम्लाको चन्दननाथ नगरपालिका–९ बस्ने छाया उपाध्याय र गर्भकन्या उपाध्याय रहेको प्रहरी नायब उपरीक्षक धामीले बताए।

टेलिफोन सम्पर्क हुन नसक्ने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको छ। घटनास्थलतर्फ प्रजिअ र प्रहरी निरीक्षकको टोली गएको र थप विवरण बुधबार आउने उनले बताए।

घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। मृतकको पहिचान खुल्न सकेको छैन।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu